- दीपक भट्ट

रामेछाप । मन्थली नगरपालिका वडा नं ७ भटौलीमा गएराती दुई समुहबिच झडप हुँदा ८ जना घाइते भएका छन् । झडपमा परी घाइते हुनेहरुमा सन्तोष माझी, सोममाया माझी, पूर्णवहादुर माझी, समिर माझी, चन्द्रमाया माझी, मिलन माझी, सन्तोष माझी र खेमवहादुर माझी रहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।
घाइतेहरु सवैजनाको उपचारको लागि काठमाण्डौं पठाइएको छ । घटना परी घाइते मध्ये पूर्णवहादुर माझी सोममाया माझीको अवस्था चिन्ताजनक रहेको छ । उनीहरु दुवैको हाल काठमाण्डौं स्थित नर्भीक अस्पतालमा आइसियुमा उपचार भइरहेको र उपचारको लागि खर्च जुटाउन समस्या भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरिक्षक राजेन्द्रकुमार थापाले जानकारी दिए । उनले भने घाइते दुवैको टाउँकोमा गम्भिर चोट लागेको छ । उनीहरुको उपचारको लागि तत्काल ५ लाख रुपैयाँ जम्मा गर्नुपर्ने भएकाले पैसा जम्मा गर्ने काममा आफु लागि परेको बताए ।
घटना पछि फरार रहेका सोही गाउँका वलवहादुर माझी, चित्रे माझी, दिलीप माझी, भक्तवहादुर माझी, वमवहादुर माझी, जय माझी, सोमवहादुर माझी र विष्णु माझीलाई प्रहरीले शनिवार दिउँसो पक्राउ गरेको छ । उनीहरु मध्ये ४ जनालाई सिन्धुली जिल्लाको खाल्टेमा पक्राउ गरेको हो भने अन्य ४ जनालाई आफ्नै गाउँमा लुकीछिपी वसेको अवस्थामा पक्राउ गरि हाल जिल्ला प्रहरी कार्यालय रामेछापको हिरासतमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।
सदरमुकाम मन्थलीवाट करिव १ घण्टाको दुरीमा रहेको भटौलीमा गएको वर्ष तिहारमा पनि यस वर्षको जस्तै विवाद भएको थियो । सोही विषयलाई लिएर यसवर्ष पनि घटना घटेको स्थानियहरुले वताएका छन् । भाइटीका लगाएर देउसी खेल्न गएका उनीहरुलाई वलवहादुर माझीको नेतृत्वमा गएको टोलीले अकस्मात आक्रमर्ण गरेको स्थानियले वताएका छन् । गतवर्षको घटनामा पनि केही व्यक्ति घाइते भएका थिए । घटना पुरानो रिसिइवीका कारण घटेको निष्कर्ष प्रहरीले निकालेको छ ।