- गंगा बराल

भद्रपुर, १९ कार्तिकः झापाको सदरमुकाम भद्रपुुर नगरपालिकाको वडा नं ७ मा स्थापित अस्थायी प्रहरी बिटलाई वडाबासीको आथिृक सहयोगमा वडा कार्यालयले मोटरसाइकल प्रदान गरेको छ ।
७ नं वडालगायत नगरकै सुरक्षामा सहजता प्रदान गर्न वडा कार्यालयले प्रहरीलाई २ लाख २५ हजार मूल्य बराबरको यामाहा एफ–जेड मोटरसाइकल उपलब्ध गराएको हो ।
भद्रपुर नगरक्षेत्रमा पछिल्ला समयमा चोरी–लुटपाटका घटना बढ्दै गएकोले नगरवासीलाई सुरक्षाको प्रत्याभूति गराउने गरी ७ नं वडा कार्यालयनजिक गार्मेन्ट चोकमा झण्डै डेढ महिनाअघि प्रहरी बिट राखिएको थियो ।
आइतबार गार्मेन्टचोकमा आयोजित एक संक्षिप्त कार्यक्रमका बीच भद्रपुर नगरपालिका उपप्रमुख चन्द्रा श्रेष्ठले विशिष्ट अतिथि झापा जिल्ला प्रहरी प्रमुख एसपी भीमप्रसाद ढकाललाई मोटरसाइकलको चाबी हस्तान्तरण गरिन् । कार्यक्रमको प्रमुख अतिथि श्रेष्ठले नगरको प्रहरीलाई साधन–स्रोतसम्पन्न बनाउन सक्दा मात्र अपराध नियन्त्रण र शान्ति–सुरक्षा प्रभावकारी हुनसक्ने बताउँदै मोटरसाइकल उपलब्ध गराउन सहयोग पुर्याउने वडावासीको प्रशंसा पनि गरिन् ।
जिल्ला प्रहरी कार्यालय मातहत रहेको सो प्रहरी बिटमा दुईजना प्रहरी २४ सै घण्टा रहने वडाको शान्ति–सुरक्षा कायम राख्न परिचालन हुने एसपी ढकालले जानकारी दिए । हाललाई मोटरसाइकलका लागि आवश्यक इन्धनको व्यवस्था जिल्ला प्रहरी कार्यालयले गर्ने उनले बताए ।
मोटरसाइकल खरिद गर्ने सबै रकम वडावासीबाट संकलन गरिएको र यस कार्यमा वडावासीले हार्दिकतापूर्वक सहभागिता जनाएको वडाध्यक्ष विनोद पोखरेलले बताए । मोटरसाइकलका लागि झापा उद्योग संघका अध्यक्ष तथा स्थानीयवासी टिकाराज ढकालले ११ हजार र वडाध्यक्ष पोखरेलले १० हजार सहयोग गरेका छन् भने स्थानीय समाजसेवी, व्यवसायीलगायत सर्वसाधारणले पनि एक हजारदेखि ५ हजारसम्म सहयोग गरेका छन् ।
यो कार्य प्रहरी–समुदाय साझेदारी अवधारणाको उत्कृष्ट नमूना भएको एसपी ढकालले प्रतिक्रिया दिएका छन् । उनले भद्रपुरमा समुदाय र प्रहरीबीच सुमधुर सम्बन्ध रहेको भन्दै यो सम्बन्धले अपराध नियन्त्रण र शान्ति–सुरक्षा कायम गर्ने सन्दर्भमा महत्वपूर्ण सहयोग पुग्ने उनले बताए ।
वडा सचिव मुरारी पोखरेलले सञ्चालन र वडा सदस्य पोषराज पौडेलले स्वागत गरेको कार्यक्रममा नेकपाका युवा नेता असारु राजवंशी, झापा उद्योग संघका अध्यक्ष एवम् सहयोगदाता टिकाराज ढकाल, राष्ट्रिय हिन्दू एकता मञ्चका अध्यक्ष इन्द्रप्रसाद ओलीलगायतले नगरमा शान्ति–सुरक्षा कायम राख्न समुदाय र प्रहरीबीच सहकार्य हुनुपर्ने र प्रहरीलाई प्रदान गरिएको मोटरसाइकल एउटा प्रतिक भएको प्रतिक्रिया दिए ।
वडा प्रहरी कार्यालय भद्रपुरको सक्रियता र वडा कार्यालय तथा वडावासीहरुको सहयोगमा नगरका व्यस्त र सुरक्षाको दृष्टिकोणले संवेदनशील चोकहरुमा अस्थायी प्रहरी बिट स्थापना गरिँदै आएको छ । भद्रपुर वडा नं ४ को झापाचोक, मन्त्रीचोकलगायत केही चोकमा प्रहरी बिट राख्न पहल पनि भइरहेको प्रहरी निरीक्षक प्रकाश जवेगुले बताएका छन् ।