तामाकोसीको सेयर बाँडफाँट : १ लाख ७२ हजारले पाए ५० कित्ता

काठमाडौं, ११ मंसिर:  माथिल्लो तामाकोसीको सेयर बाँडफाँट गरिएको छ। विक्री प्रबन्धक नागरिक लगानी कोष तथा सनराइज क्यापिटलले बबरमहलमा एक कार्यक्रमको आयोजना गरी सेयर बाँडफाँट गरेका हुन्।
कुल १ लाख ७२ हजार ७ सय ७५ जनाले ५० कित्ता सेयर पाएका छन्। १ लाख ६१ हजार ३ सय जनाले भने ४० कित्ता सेयर पाएका छन्।
सबैलाई ४० कित्ता सेयर दिइसकेपछि पुनः बाँकी रहेको सेयर १० कित्ता सेयर १ लाख ७२ हजार ७७५ जनालाई गोलाप्रथाबाट दिइएको हो।
५ हजार ७ सय आवेदन रद्द भएका थिए। यसअघि स्थानीयको कोटा वा संचयकर्ता, विद्युत प्राधिकरण तथा नागरिक लगानी कोषका कर्मचारीका तर्फबाट सेयर पाएकाले पुनः भरेमा त्यो आवेदन रद्द हुने व्यवस्थाअनुरुप सो संख्याको आवेदन रद्द गरिएको नागरिक लगानी कोषले जनाएको छ।
रद्द आवेदनपछि कुल ३ लाख ३४ हजार ७५ आवेदक छनौट भएका हुन्। कुल १ करोड ५९ लाख ९० हजार ७५० कित्ता सेयर सर्वसाधारणका लागि खुला गरिएको थियो। ४. ३७ गुणा बढी रकमको आवेदन परेको थियो।
४५६ मेगावाटको आयोजनाले ९५ प्रतिशत बढी काम सम्पन्न भइसकेको जनाएको छ। दोलखाको लामाबगरमा निर्माण भइरहेको आयोजनाको लागत बढ्न गएपछि ऋण थपिएको छ।
हाइड्रोपावरमा जारी पुँजीको ४१ प्रतिशत नेपाल विद्युत प्राधिकरण, ६ प्रतिशत टेलिकम, २ प्रतिशत राष्ट्रिय बिमा संस्थान तथा २ प्रतिशत नागरिक लगानी कोषले गरी कुल ५१ प्रतिशत स्वामित्व लिएका छन्।
बाँकी ४९ प्रतिशतमध्ये कर्मचारी संचयकर्ताका लागि १७.२८ प्रतिशत, ऋण दिने संस्थाका कर्मचारीलाई २.८८, विद्युत प्राधिकरण तथा कम्पनीका कर्मचारीलाई ३.८४ प्रतिशत, आयोजना प्रभावितका लागि १० र सर्वसाधारणका लागि १५ प्रतिशत सेयर प्रदान गरिएको हो।
पहिलो चरणको आयोजना सम्पन्न भइसकेपछि दोस्रो चरणमा रोल्वाङ खोलाबाट १६७ मेगावाटको विद्युत उत्पादन गर्ने लक्ष्य लिएको छ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता