सिंहदेवीको शिहवार्षिक उत्सव सम्पन्न

  • गोविन्द लामिछाने

फाकफोकथुम, ९ पुसः प्रदेश सांसद धीरेन्द्र शर्मा (रमण) ले अबको शिक्षा वैज्ञानिक र प्रविधियुक्त हुनुपर्ने बताउनुभएको छ । इलामको फाकफोकथुम गाउँपालिका–७ स्थित सिंहदेवी मावि एकतप्पाको ६१ औं वार्षिक उत्सवका अवसरमा आयोजित कार्यक्रममा उहाँले प्राविधिक शिक्षा अबको आवश्यकता हो भन्दै परम्परावादी शिक्षा नीतिलाई परिवर्तन गर्दै आधुनिक शिक्षातर्फ लाग्नुपर्नेमा जोड दिनुभयो । धेरै विद्यालय खोल्ने र विद्यालयको स्तरोन्नति गर्नु आजको आवश्यकता नभई शिक्षालाई प्रविधिमैत्री बनाउँदै सीपयुक्त दक्ष विद्यार्थी उत्पादन गर्न सकेमा मात्र देशको विकास हुनुपर्ने उहाँको भनाई थियो । उहाँले प्रदेश सरकार अब विकास र समृद्धितर्फ लागेकाले छिट्टै यस क्षेत्रका सडक कालोपत्रे बनाउन आफूले सङ्घीय सरकारसँग पहल गर्ने प्रतिबद्धता समेत जनाउनुभयो । स्थानीय तहसँग साझेदारी गर्दै प्रदेश सरकारले विकासको अवधारणा प्रस्तुत गर्ने सांसद शर्माको भनाई छ । 
कार्यक्रममा विशेष अतिथि सांसद राम रानाले अबको शिक्षा नीति प्राविधिक शिक्षालय स्थापना गरेर दक्ष जनशक्ति उत्पादन गर्नेतर्फ लाग्नुपर्ने बताउनुभयो । 
गाउँपालिका अध्यक्ष रामकुमार श्रेष्ठले एकतप्पामा बहुमुखी क्याम्पस निर्माण गर्न आफूले धेरै संघर्ष गरेको विचार व्यक्त गर्नुभयो । उहाँले एकतप्पाको विकासका लागि आफूले भौतिक तथा आर्थिक रूपमा धेरै सहयोग गरेको र आगामी दिनमा पनि सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले विद्यालयमा विज्ञान प्रयोगशालाका लागि पहल गरिदिन प्रदेश सांसद शर्मासँग आग्रह समेत गर्नुभयो । गाउँपालिका उपाध्यक्ष सरस्वती राई (सरु) ले शैक्षिक क्षेत्रमा सिंहदेवी गाउँपालिकाकै नमुना विद्यालय बनाउनुपर्नेमा जोड दिनुभयो । 
वार्षिक उत्सवका अवसरमा अन्तर विद्यालयस्तरीय भलिबल प्रतियोगिता र नृत्य प्रतियोगिता सम्पन्न गरिएको छ । भलिबलतर्फ सिंहदेवी मावि एकतप्पा पहिलो र जनकल्याण मावि दोकानडाँडा दोस्रो भएका थिए भने नृत्यतर्फ सिंहदेवी मावि एकतप्पा पहिलो, जनकल्याण मावि दोस्रो र राष्ट्रिय मावि कोल्बोटे तेस्रो भएका थिए । विजयी विद्यालयका विद्यार्थीहरूलाई सांसद गाउँपालिका अध्यक्ष उपाध्यक्षले पुरस्कार तथा प्रमाण पत्र प्रदान गर्नुभयो । 
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टंक खनालको अध्यक्षतामा भएको कार्यक्रममा पूर्वप्रधानाध्यापक खेम राना, खगेन्द्रप्रसाद भट्टराई, जयनारायण भट्टराई, सिंहदेवी मावि आमचोकका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मण घतानीलगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा स्काउट दलका विद्यार्थी र शिक्षकले विभिन्न कला प्रर्दशन गर्नुभएको थियो । 

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता