पर्यटन सूचना केन्द्र स्थापनाले पर्यटकलाई सहज

तेह्रथुम/ तेह्रथुम, सङ्खुवासभा र ताप्लेजुङको सङ्गम स्थल पर्यटकीय क्षेत्र गुफा बजारमा सूचना केन्द्र स्थापना भएको छ । गुराँसको राजधानीका रूपमा परिचित पूर्वी पहाडको प्रमुख पर्यटकीय गन्तव्य तीनजुरे, मिल्के, जलजले (टीएमजे) क्षेत्रका सबै सूचना अब एकै ठाउँमा पाइने भएको छ ।
आन्तरिक तथा बाह्य पर्यटकलाई सूचना प्राप्त गर्न सहज हुने गरी सङ्खुवासभाको चैनपुर–१ स्थित टीएमजे क्षेत्रको मुख्य गन्तव्य गुफा बजारमा पहिलो पर्यटन सूचना केन्द्र स्थापना भएको हो । सूचना केन्द्रमा टीएमजेका पर्यटकीय स्थल, विभिन्न जातजातिको भाषा, संस्कृति, भेषभूषा, कहाँ कसरी पुग्नेलगायतका सम्पूर्ण गतिविधि जान्न सकिने स्थानीयवासी हिमा खनालले बताइन् ।
उनले भनिन्, ‘यहाँ विशेषगरी तामाङ, शेर्पा समुदायको भेषभूषा, उनीहरूले सांस्कृतिक कार्यक्रममा प्रयोग गर्ने डम्फु, मादलदेखि लिएर लिम्बू समुदायको च्याब्रुङसम्म देख्न सकिन्छ । यसैगरी डोको, दाम्लो, नाम्लो, नाङ्लो, थुन्से, हँसिया, खुकुरीलगायतका सामान पनि यस केन्द्रमा राखिएका छन् ।
एउटै वनमा २८ प्रजातिका गुराँस पाइने टीएमजे क्षेत्रमा सूचना केन्द्र स्थापनाले पर्यटन उद्योग तथा व्यवसायको प्रवद्र्धनका साथै यो क्षेत्रका अत्यावश्यक सूचना प्राप्त गर्न सकिनेछ । समुन्द्र सतहदेखि २ हजार ८ सय ९० मिटरको उचाइमा रहेको यो बजारबाट मौसम खुलेको बेला मकालु, कञ्चनजङ्गा, ल्होत्से र सगरमाथा हिमाल समेत अवलोकन गर्न सकिन्छ ।
पर्यटन सूचना केन्द्र स्थापना भएपछि पर्यटकलाई सहज भएको सूचना केन्द्रका सचिव सन्तोष लिम्बूले बताए । केन्द्र स्थापनाको लागि ग्रामीण पुनर्निर्माण संस्थाले सहयोग गरेको सचिव लिम्बूले बताए । ‘पर्यटन सूचना केन्द्रबाट टीएमजे क्षेत्रका सबै सूचना पाउन सकिन्छ ।’ केन्द्रका अध्यक्ष केदारनाथ लिम्बूले भने ।
यो क्षेत्र हुँदै कन्चनजङ्गा, मकालु हिमाल भ्रमण गर्ने र तमोर नदी र्याफिट्ङ गर्न जाने र यस यस क्षेत्रमा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकले सजिलै सूचना प्राप्त गरिरहेका छन् ।  पर्यटन सूचना केन्द्रले आफूहरूलाई यस क्षेत्रका बारेमा जानकारी लिन र घुम्न सजिलो भएको विराटनगरबाट घुम्न आएका अर्जुन पुरीले बताए ।
उनले भने, ‘सूचना केन्द्रबाटै यस क्षेत्रमा ३० प्रकारका स्तनधारी, २७४ प्रकारका चरा, २५ प्रकारका किरा, ८ प्रकारका माछा, ६ प्रकारका घस्रने जीव र ३ प्रकारका भ्यागुता पाइन्छन् भन्ने कुरा थाहा पाएँ ।’
घुम्नकै लागि काठमाडौँको बबरमहलबाट आएका उमेश श्रेष्ठले चौरी, भेडाको घिउ, छुर्पी, दूध, दही, महीलगायत याङ्बेन, तोङ्बा, सुकुटी र बङ्गुरको मासुको परिकारको लागि यो ठाउँ धेरै प्रख्यात रहेको सूचना केन्द्रबाट थाहा पाएको बताए ।
पर्यटन सूचना केन्द्रले आफूलाई यस क्षेत्रको बारेमा धेरै कुरा जानकारी दिएको उनले बताए ।  सूचना केन्द्रलाई अझ बढी व्यवस्थित गर्दै लैजानका लागि सहयोग गरिदिन स्थानीय र प्रदेश सरकारलाई अनुरोध गरिरहेको केन्द्रका अध्यक्ष लिम्बूले बताए ।
सरकारले हालै नयाँ पर्यटकीय गन्तव्य घोषणा गरेको तेह्रथुम, सङ्खुवासभा र ताप्लेजुङको सङ्गमस्थल तीनजुरे, मिल्के, जलजले क्षेत्र भित्र यो गुफा बजार, सुके बजार र पर्यटन केन्द्र पनि पर्दछ । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता