आर्मीसँग आयोजक फिदिम पराजित

फिदिम । फिदिममा जारी १० औँ रुस्लान फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताबाट आयोजक फिदिम स्पोर्टिङ क्लब बाहिरिएको छ । मंगलबार पाँचथर सदरमुकाम स्थित फिदिम माविको मैदानमा भएको क्वाटर फाइनलको खेलमा काठमाण्डौको त्रिभुवन आर्मी क्लबसँग ४–१ गोलले पराजित भएर फिदिम प्रतियोगिताबाट बाहिरिएको हो । आयोजक फिदिमलाई पराजित गरेसँगै आर्मिले सेमीफाइनलको स्थान पक्का गरेको छ ।
निर्धारित समयमा समान दुइ गोल गरेपछि खेल ट्राइबेकरमा धकेलिएको थियो । ट्राइबेकरमा आर्मीका गोल किपर बिवस चौधरी, एरीक विष्ठ, राजिब गुरुङ र राजेश पौडेलले गोल गरे । ट्राइबेकरमा फिदिमका प्रवेश जवेगुले गोल गरे । ओम विक्रम घले र सरन बस्नेतले गोल गर्न नसक्दा फिदिम प्रतियोगिताबाटै बाहिरिएको हो । 
निर्धारित समयमा खेल निकै रोमान्चक बनेको थियो । खेलको निर्धारित समयमा आर्मीका लागि राजिब गुरुङ एक्लैले दुई गोल गरे ।  खेलको ३१ औँ मिनेटमा आर्मीका राजिबले   सुरुवाति गोल गरे । फिदिमका विक्रम घलेले बल क्लियर गर्न नसक्दा राजिवलाई गोल गर्ने मौका जुरेको थियो ।  पहिलो हाफमा जवाफि गोल गर्न नसकेको फिदिमले दोस्रो हाफको दुई मिनेटको अन्तरालमा दुई गोल गरेको थियो ।  
खेलको ६९ औँ मिनेटमा फिदिमका प्रविन जवेगुले गोल गरेर खेललाई बराबरीमा ल्याए । खेलको ७० औँ मिनेटमा फिदिमका स्टेफनले गोल गरेर टिमलाई २–१ को अग्रता दिलाए । अन्तिम समयमा निकै आक्रमक खेलेको आर्मिले खेललाई बराबरीमा रोक्न सफल बन्यो । खेलको ७३ औँ मिनेटमा आर्मिका राजिबले पुन ः गोल गरेर खेललाई बराबरीमा रोके । निर्धारित समयमा बराबरी खेलेको आर्मिले ट्राईबेकरमा आयोजक फिदिमलाई हराएर सेमिफाइनल प्रवेश गरेको हो । 
मंगलबार भएको खेलमा आर्मीका गोल किपर बिवस चौधरी म्यान अफ दी म्याच भए । उनले १० हजार नगद पुरस्कार प्राप्त गरे । विदेशी खेलाडी मैदानमा उतारेकाले खेलाडीको तालमेल मिल्न नसक्दा घरेलु मैदानमा आफ्नो टिम पराजित हुनु परेको फिदिमका खेल प्रशिक्षक भीष्म आङ्देम्बेले बताए । फिदिमले विदेशि खेलाडीहरु मैदान उतारेको थियो ।
मैदानको अनुभव नभएपनि खेलाडीको राम्रो तालमेल मिलेकाले जित निकाल्न सकिएको आर्मीका प्रशिक्षक गंगाराम देउजाले बताए । ‘जितका लागि ट्राइबेकरमा पुग्नु नपर्ने हो,’ देउजाले भने ‘मैदानकै कारण जित्नका लागि ट्राइबेकरसम्म पुग्नु परेको हो ।’ सेमी फाइनलको खेलमा आर्मिले सिनियर खेलाडी मैदान उर्ताने तयारी रहेको देउजाले बताए ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता