फाल्गुनन्द गोल्डकपः उपाधिका लागि झापा र आर्मी भिड्ने

फिदिम, २८ पुसः फिदिममा जारी १० औँ फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि झापा ११ सँग त्रिभुवन आर्मी क्लब काठमाण्डौ भिड्ने भएको छ । 
फिदिम माविको मैदानमा शनिबार भएको सेमिफाइनलको अन्तिम खेलमा दार्जिलिङको रोयल फुटबल क्लबलाई २–१ गोलले पराजित गर्दै आर्मीले झापासँग उपाधि भिडन्तका लागि स्थान पक्का गरेको हो । सोमबारा फिदिम माविको मैदानमा उपाधीका लागि फाइनल खेलको तयारी गरिएको छ ।आर्मीको कठिन जितका लागि राजेश पौडेल र एरिक विष्ठले गोल गरे । दार्जिलिङका सिद्धान्त क्षेत्रीले सान्तवना गोल गरे । 
खेलको १३ औँ मिनेटमा आर्मीका राजेश पौडेलले सुरुवाती गोल गरेका थिए । खेलको २१ औँ मिनेटमा दार्जिलिङका सिद्धान्त क्षेत्रीले जवाफी गोल गर्दै खेललाई बराबरीमा ल्याए । पहिलो हाफमा बराबरीमा खेलेका दुवै टिमले दोस्रो हाफमा निकै आक्रमक ढंगमा खेलेका थिए । प्रतिस्पर्धात्मक खेलमा जित निकाल्न  आर्मीलाई निकै कठिन परेको थियो । खेलको ८९ औँ मिनेटमा एरिक विष्ठले गरेको गोल नै आर्मीको जितका लागि निर्णायक बन्यो । थ्रोइङ बललाई दार्जिलिङका डिफेन्सले क्लियर गर्न नसक्दा एरिक विष्ठले निर्णायक गोल गरेका थिए । 
खेलको अन्तिम एक मिनेट सम्हालिन नसक्दा दार्जिलिङ प्रतियोगिताबाट बाहिरिएको हो । शनिबार भएको सेमिफाइनको अन्तिम खेलमा आर्मीका एरिक बिष्ठ म्यान अफ दि म्याच चुनिए । उनले १० हजार नगद प्राप्त गरे । 
राम्रो खेलेर पनि आफ्नो टिमले हार खानुपरेको दार्जिलिङका खेल प्रशिक्षक सचिन्द्र धिमालले प्रतिक्रिया दिए । ‘अन्तिममा सम्हालिन नसक्दा टिमले हार खायो,’ धिमालले भने । उच्च मनोबलका साथ खेलेकाले जित निकाल्न सकिएको आर्मीका प्रशिक्षक गंगाराम देउजाले बताए । ‘फाइनल खेलमा अझ शसक्त टिम मैदानमा उतार्नेछौँ,’ देउजाले भने ।
प्रतियोगिताको विजेता टिमले उपाधिसहित चार लाख र उपविजेता टिमले दुई लाख नगद पुरस्कार सहित ट्रफि प्राप्त गर्ने आयोजक फिदिम स्पोर्टिङ क्लबका अध्यक्ष बिमल श्रेष्ठले जानकरी दिए । प्रतियोगितामा जम्मा १० टिमले सहभागिता जनाएका थिए ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता