बस र ट्रक ठोक्किँदा २५ जना घाइते


दाङ, माघ : दाङमा मंगलबार बेलुकी भएको सवारी दुर्घटनामा परी २५ जना घाइते भएका छन्। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ।

पूर्व पश्चिम राजमार्ग अन्तरगत दाङको लमही नगरपालिका वडा नम्बर ९ रिहारमा  नेपालगञ्जबाट घोराहीतर्फ जाँदै गरेको ना ५ ख २७९९ नम्बर बस र पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ७ ख १२८२ नम्बरको मालबाहक ट्रक एक आपसमा ठोक्किँदा उक्त दुर्घटना भएको हो ।

दुर्घटनामा बस चालक बाँके राप्ती सोनारी गाउँपालिका वडा नम्बर १ निवासी २८ वर्षीय सन्तोष विक र ट्रक चालक बैतडी पाटन नगरपालिका वडा नम्बर ३ निवासी २८ वर्षीय रामसिंह पन्त गम्भीर घाइते भएको रिहार प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक मनबहादुर नेपालीले सेतोपाटीलाई जानकारी दिए ।

घाइतेमध्ये अन्य सबै बसमा सवार अन्य यात्रु हुन् भने  एकजना ट्रकका सहचालक सामान्य घाइते भएको प्रहरीले बताएको छ।  घाइतेहरूको नेपालगञ्ज, कोहलपुर र लमही अस्पतालमा उपचार भइरहेको छ।

 तीव्र गति र घुमाउरो मोडका कारण दुर्घटना भएको प्रहरीले अनुमान गरेको छ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता