इलाममा सत्याग्रहमा रहेका डा. केसी भन्छन् : सरकार सम्पर्कमा छैन

इलाम,२६ पुसः  चिकित्सा शिक्षा सुधारका विभिन्न माग राखेर इलाममा १६ औं चरणको अनशन शुरु गरेका डा. गोविन्द केसीले सरकार जवाफदेही नरहैकै कारण आफू पटक–पटक आमरण अनशनमा बस्न बाध्य हुनुपरेको बताएका छन् । विहीबार बिहान  कुरा गर्दै डा. केसीले भने, “हिजो बेलुका ५ बजेबाट अनशनमा बसेकोले स्वास्थ्यमा अहिले नै कुनै अप्ठेरो छैन ।’’ उनले सरकारी तहबाट आफूसँग कुनै सम्पर्क नरहेको बताउँदै सरकारले चासो दिएर माग पूरा गरेको भए आफू यसरी अनशन बसिरहनु जरुरी नै नभएको समेत बताए । केसी इलामको सहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालयमा अनशन बसेका छन् । 
१५ औं अनशनका क्रममा भएको सहमतिअनुसार संसदको शिक्षा तथा स्वास्थ्य समितिले चिकित्सा शिक्षा विधेयक पारित नगरेको भन्दै केसी अनशन बसेका हुन् । डा. केसीले १५ औँ अनशन जुम्लामा गरेका थिए । माग पूरा नभएसम्म जुम्लामै अनशन बस्ने अडानविपरीत सरकारले बल प्रयोग गरेर २० औं दिनमा केसीलाई काठमाडौं ल्याएको थियो । डा. केसीलाई काठमाडौं ल्याउन स्थानीयले अवरोध गरेपछि प्रहरीले अस्पतालभित्रै लाठी चार्ज र अश्रुग्यास प्रहारसमेत गरेको थियो । 
अस्पताल र स्थानीय जनताको क्षति हुने देखेपछि केसी काठमाडौं आउन तयार भएका थिए । आशयपत्र दिइसकेका मेडिकल कलेजहरुलाई काठमाडौँ उपत्यकाबाट बाहिर जान प्रोत्साहित गर्ने र जान नचाहे आपसी सहमतिमा सरकारले किन्न सक्ने डा। केसीसँग सरकारले सहमति गरेपछि गत साउन १० गते २७ दिने लामो अनशन उनले तोडेका थिए ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता