धरानको सैनिक स्कुल १३ औं वर्षमा प्रवेशको अवसरमा विविध कार्यक्रम

धरान, २६ पुसः  धरान–१३ स्थित सैनिक आवासीय महाविद्यालयको १३ औं वार्षिकोत्सव सम्पन्न भएको छ।कार्यक्रममा विज्ञान प्रदर्शनी पनि आयोजना गरिएको थियो । पूर्वी पृतनालय इटहरीका पृतनापति समिर शाहीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सैनिक श्रीमती सङ्घकी सङ्गीता शाही विशेष अतिथि थिइन् । प्रमुख अतिथि पृतनापति शाहीले रुद्राक्षको विरूवामा पानी हालेर कार्यक्रमको उद्घाटन गरेका थिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि शाहीले सेनाले राष्ट्रसेवाका साथै शिक्षा क्षेत्रमा पनि योगदान दिएको बताए । ‘दक्ष जनशक्ति उत्पादन गर्दै इमान्दार नागरिक तयार गर्न साथै व्यवहारिक, गुणस्तरीय, अनुशासन, नैतिकवान बनाउन हाम्रो जोड जारी छ’, उनले भने, ‘त्यही भएर शिक्षा क्षेत्रमा पनि हाम्रो लगानी र योगदान रहेको छ ।’ उनले यतिमा मात्रै सीमित नरही समयानुसार अघि बढ्न सुझाए । विद्यालयले गरेको उन्नति, प्रगतिले सेनाले लगाएको लगानीको सही सदुपयोग भएको उनको कथन थियो । उनले संस्कार, संस्कृति, सुशासन र सामाजिक परम्परा साथै दायित्वका लागि अभिभावकको पनि दायित्व भएको बताए ।कार्यक्रममा धन्यवाद व्यक्त गर्दै जनसम्पर्क अधिकृत सम्झना खड्काले २०६२ सालमा कक्षा–४ देखि शुरू भएको विद्यालयमा हाल ६ देखि १२ सम्म अध्ययन अध्यापन भइरहेको बताइन् । 
हाल कक्षा–११ र १२ मा विज्ञान सङ्कायमा अध्ययन अध्यापन भइरहेको उनले बताइन् । कार्यक्रममा बोल्दै उनले विद्यालयले पढाइका साथै अतिरिक्त क्रियाकलापको माध्यमबाट अमिट छाप राख्न सफल भएको बताइन् । ‘विद्यालयले शैक्षिक वा अन्य अतिरिक्त क्रियाकलापमा छुट्टै पहिचान बनाउन सफल भएको छ’, उनले थपिन्, ‘विद्यालयले विद्यार्थीको चौतर्फी विकासका लागि खेलकुद, नृत्य, गीत–सङ्गीतजस्ता विभिन्न अतिरिक्त क्रियाकलापमा सक्दो जोड दिँदै आएको छ ।’ उनले सैनिक र गैर सैनिकका छोराछोरीले अध्ययन गर्न पाउने विद्यालय अहिले पनि शिक्षासँगै संस्कार, नैतिकवान, चरित्रवान, योग्य नागरिक बनाउन कटिबद्ध रहेको बताइन् ।कार्यक्रममा स्वागत मन्तव्य राख्दै विद्यालयका प्रिन्सिपल निलमकुमार श्रेष्ठले विद्यालयका अधिकांश विद्यार्थीले जुनसुकै क्रियाकलाप, एसइई, कक्षा–१२ मा उत्कृष्त नतिजा ल्याउँदै आएको बताए ।
 ‘परिश्रमी शिक्षक, विद्यार्थी, सहयोगी भावनाका अभिभावकका कारणले यस्तो नतिजा र विद्यालयले उपलब्धि हासिल गरेको हो’ उनले भने । उनले स्थानीय, जिल्ला साथै राष्ट्रियअन्तर्राष्ट्रियस्तरमा पनि विद्यार्थीले सहभागिता जनाएर अब्बलता कायमगरेकोबताए।कार्यक्रममा प्रमुख अतिथि पृतनापति शाहीले विद्यालय र विद्यार्थीको गतिविधि समेटिएको पुस्तक ‘ज्ञानकुञ्ज’ को पनि विमोचन गरेका थिए । कार्यक्रममा विभिन्न विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिएको थियो । सौरता मल्ला, तालिना मगर, सदीक्षा थापालाई सर्वोत्कृष्ट पुरस्कारबाट पुरस्कृत गरिएको थियो । उनीहरूलाई प्रतिव्यक्ति ६ हजार रूपैयाँ प्रदान गरिएका थियो । 
यस्तै, अङ्ग्रेजी निबन्ध लेखन प्रतियोगितामा विजयी मनिषा राईलाई पनि पुरस्कृत गरिएको थियो । कार्यक्रममा खेलकुद सप्ताहमा जित्ने टिमलाई पनि मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो ।कार्यक्रममा विभिन्न विधामा विजेता बन्ने ब्लु कलर, यल्लो कलर, रेड कलर लगायतलाई पनि पुरस्कृत गरिएको थियो । शैक्षिक सत्र २०७४÷०७५ मा उत्कृष्ट बन्ने स्काउटकी अस्मिता घिमिरे, युवा रेडक्रस सर्कलका प्रवेश बस्नेत, नृत्यमा अब्बल मनिषा कट्वाल, गायनमा सरोज राई, राष्ट्रिय, स्थानीयलगायत अन्य प्रतियोगितामा विजेता बनिसकेका चित्रकार असलराज तिम्सिना, फुटबलका वेष्ट अफ द प्लेयर अमृत राई, उत्कृष्ट साहित्य प्रतिभा कर्ण राउतलाई पनि पुरस्कृत गरियो भने अनुशासित विद्यार्थीमा मनिष राउतलाई पुरस्कृत गरियो । 
कार्यक्रममा उत्कृष्ट विद्यार्थी टेकराज भण्डारी र संरचना पौडेल बनेर पुरस्कार थापे ।यस्तै, शैक्षिक विधातर्फ कक्षा–८ को वार्षिक परीक्षामा उत्कृष्ट हुने कृष्ण ढुंगेल, एसईईमा पहिलो हुने प्रशान्त ढकाल, कक्षा–१२ मा प्रथम हुने निशान ठाकुरलाई पुरस्कृत गरिएको थियो भने खेलकुद सप्ताहमा सहयोग गर्ने शिक्षकहरू मुकुन्दप्रसाद दाहाल, पार्वती राई, सुरेन्द्र पराजुली, लालुमाया ढोली, गणेशकुमार तुम्बा, नवराज बस्नेत, मुकेश यादवलगायतलाई पनि पुरस्कृत गरियो । कार्यक्रममा विद्यार्थीले गीत, नृत्यले अभिभावक तथा उपस्थित अतिथिहरूलाई भरपुर मनोरञ्जन प्रदान गरे । 
उनीहरूले मगर नृत्य, फूलको आँखामा फुलै संसार, रातो र चन्द्रसूर्य लगायतको गीतको बोलमा नृत्य साथै गीत पस्के । कार्यक्रममा विद्यार्थीले तेक्वान्दो र काताको शो पनि गरेका थिए । कार्यक्रमको सञ्चालन अध्यापक सुरेन्द्र पराजुली, विद्यार्थी संरचना पौडेल, दामोदर दाहाल, करन राउत, दिया श्रेष्ठलगायतले गरेका थिए ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता