गौशालाका गाई भोकभोकै, ६ महिनामा १३ सय मरे

कैलाली, माघ १६ — हरेक दिन एउटा न एउटा गाईगोरु मरेकै हुन्छन् । रतिलाल चौधरीको कामै भएको छ, तिनको व्यवस्थापना गर्नु । आफैंले चारो खुवाएका गाईको सिनो तान्नुपर्दा उनी कम्ती विरक्तिँदैनन् । बेलाबेला रोइहाल्छन् । मासिक १२ हजार रुपैयाँमा गौशालाका गाई हेरचाह गर्ने जिम्मेवारी हो चौधरीको ।

घोडाघोडी नगरपालिका–७ चुरे फेदीको सिस्नेघारी । अग्ला रूख अनि चारैतिर काँडेतारले घेरेर राखिएका छन् गाईबस्तु, खुला आकाशमुनि । ६ महिनायता निरन्तर मरिरहेका छन् । ‘हरेक दिन गाई मरेको देख्दा मन रुन्छ, कामै छाडिदिऔं जस्तो पनि लाग्छ,’ चौधरीले भने, ‘दिनका दिन गाई मरेपछि गन्न छाडेको छु ।’

गौशालामा उनीसहित ५ जना हेरालु छन् । उनीहरू हरेक बिहान सिनो तानेर भीरबाट मिल्काउँछन् । हालैको वर्षा र चिसोले दुई दिनमा १० गाई मरे । सिनोले जंगल क्षेत्र पूरै दुर्गन्धित छ । त्यो ठाउँ गाउँबाट करिब दुई किलोमिटर टाढा पर्छ । कतिपय बाच्छा जंगली जनावरको आक्रमणमा पर्ने गरेका छन् । ‘बाघले राति काँडेतारभित्रै पसी गाईबाच्छा मारेर खान थालेको छ,’ रतिलाल भन्छन, ‘बाघ जहिलेदेखि पल्क्यो, उहिलेदेखि हामी गोठालाले पनि राति बस्न छोडेका छौं ।’ घाम ढल्किएपछि घरतिर लाग्ने उनीहरू बिहान १०/११ बजेतिर आइपुग्छन् । सिनो मिल्काउँछन् अनि बचेका गाई चराउन निस्कन्छन् । चौधरीले हेर्दै गरेको गौशालामा ७ सय ५० गाईगोरु रहेकामा अहिले १ सय २० वटा मात्र छन् ।

घोडाघोडी नगरपालिकाले छाडा चौपाया व्यवस्थापनका लागि पूर्व–पश्चिम राजमार्गको सुखड बजारदेखि १५ किलोमिटर उत्तर चुरेको फेदीमा तीनवटा गौशाला स्थापना गरेको छ । सिस्नेरी तिनैमध्ये एक हो । अरू गौशाला चुरेफेदकै कालीभावर र कुन्टीगथाईमा छन् । तिनको अवस्था पनि सिस्नेघारीभन्दा फरक छैन ।

नगरपालिकाले गाई जोगाउने उपाय खोजेको छैन । ‘जंगलमा चरन क्षेत्र सकिएको छ, गाईगोरुका लागि पर्याप्त आहार छैन । कठ्यांग्रिँदो चिसोमा खुला आकाशमा हुलेर राखिएको छ,’ स्थानीय कुशप्रसाद तिवारीले भने, ‘रोग र भोकले चौपायाले दर्दनाक मृत्युवरण गरिरहेका छन् ।’ नगर कार्यपालिकाले गत भदौमा छाडा चौपाया व्यवस्थापन गर्ने निर्णय गरेको थियो । त्यसका लागि ७ नम्बर वडाध्यक्ष धनबहादुर बमको संयोजकत्वमा ४ सदस्यीय समिति बनाइयो । नगरपालिकाले ३० लाख रकम विनियोजन पनि गर्‍यो । अहिलेसम्म १५ लाख रुपैयाँ खर्च भइसकेको छ । बजेट सकिँदै छ, गाई पनि सकिँदै छन् ।

‘तीन ठाउँका गौशाला व्यवस्थापन तथा गाईको आहारामा १५ लाख खर्च भइसकेको छ,’ गौशाला व्यवस्थापन समिति संयोजक बमले भने । नगरपालिकाले सुरुमा १८ जना हेरालु राखेको थियो । अहिले १० जना छन् । सुरुमा २ हजार २ सय छाडा चौपाया राखिएको समिति सदस्य एवं ८ नम्बर वडाध्यक्ष भीमबहादुर बोगटीले बताए । उनका अनुसार अहिले तीन गौशालामा गरी करिब ९ सय चौपाया छन् । १ हजार ३ सयवटा मरिसके । सबै गाई मरेका नभई २० प्रतिशतजति भागेको बोगटीले दाबी गरे ।

स्थानीय भने बजेट दुरुपयोग भएकाले चौपाया आहार नपाएरै मरेको बताउँछन् । ‘छाडा चौपायाले निकै समस्या थियो, व्यवस्थापन गर्नु सराहनीय कार्य हो,’ घोडोघोडी संस्कृत महाविद्यालयका शिक्षक शंकर सञ्ज्यालले भने, ‘तर व्यवस्थापनका नाममा गाईगोरु थुनेर मारेजस्तै भइरहेको छ ।’ व्यवस्थापन गर्न नसके चरन क्षेत्रमा छाडिदिनु राम्रो हुने उनको भनाइ छ ।

अर्का स्थानीय लालमणि रानाले प्रत्येक वडामा गौशाला निर्माण गरी व्यवस्थापनको जिम्मेवारी दिनु उत्तम हुने बताए । ‘एउटा वडा, एउटा टोल बस्तीमा एक सामुदायिक गौशाला भए थोरै गाई हुन्थ्यो,’ उनले भने, ‘राम्रो स्याहार गर्न सकिन्थ्यो ।’ नगरपालिकाले बिरामी गाई पनि बगालमा मिसाउने गरेको रानाले आरोप लगाए । ‘छाडा चौपायाका नाममा मासिक साढे दुई लाख खर्च भइरहेको देखिन्छ,’ उनले भने, ‘तर चौपायाले आहारा नपाएर मर्न थालेका छन् ।’
खोरेत संक्रमण
८ नम्बर वडाध्यक्ष भीमबहादुर बोगटीले तीनै गौशालाका चौपायामा खोरेत लागेको बताए । ‘नगरपालिकाले उपचार गरे पनि सबैलाई निको भएन, अरूलाई सर्‍यो,’ उनले भने । नगरपालिकाकी पशु–प्राविधिक छत्रा न्युरेले गौशालामा आहाराको कमी भएको बताइन् । ‘उचित आहारा नपाएर गाईगोरु कमजोर भए । थला परे । अनि मर्न थालेका हुन्,’ उनले भनिन्, ‘केही चौपायालाई रोग पनि देखिएको छ ।’

मेयर ममताप्रसाद चौधरीले छाडा चौपाया व्यवस्थापन चुनौतीपूर्ण रहेको बताए । राजमार्गमा गाडी छाडा चौपायासँग ठोकिएर दुर्घटना हुने, स्थानीयलाई बाली जोगाउन मुस्किल हुन थालेपछि व्यवस्थापन प्रयास गरिएको उनको भनाइ छ । ‘जनताले छाडा चौपायाको व्यवस्थापन गर भनेकाले नगरपालिकाले नै गौशाला बनाउने निर्णय गरेको हो,’ उनले भने, ‘तर चरिचरन भएको ठाउँ खोज्दा पाउन मुस्किल भयो, सामुदायिक वनले चरिचरन क्षेत्र बन्द गरेको छ । राष्ट्रिय वनमा चरिचरन सकिएको छ । जंगलमा अग्ला बुढा रूख मात्रै छन्, भुइँ नांगो छ ।’

स्थानीय कांग्रेस नेता भीमबहादुर बडुवालले नगरपालिकाले हचुवामा गौशालाको स्थापना गरेको बताए । ‘आवश्यक पूर्वाधार, आहारा र पशु उपचारलगायत प्रबन्ध गर्नुपथ्र्यो,’ उनले भने, ‘त्यसो केही नगरी नगरबाट पैसा निकालेर खुला आकाशमा पशु राख्ने काम भएको छ । केहीलाई गोठालाका नाममा जागिर दियो । कसैलाई व्यवस्थापन खर्च गर्ने नाममा रकम बाँडियो ।’ उनले गौशालाका नाममा छुट्टयाइएको रकम खेर गएको तर्क गरे ।

राष्ट्रव्यापी कोटी होम गर्ने सिलसिलामा योगी नरहरिनाथले घोडाघोडीमा महायज्ञ गरेका थिए । त्यहाँ दान गरिएका गाई व्यवस्थापन गर्न उनले कैलालीमा गौशाला स्थापना गरेका थिए । अहिले उक्त स्थानमा संस्कृत महाविद्यालय छ । शिक्षक सन्ज्यालका अनुसार गौशाला बन्द भइसकेको छ । ‘पहिले स्थानीयहरू आआफ्नो घरबाट गाईका लागि पराल, घाँसलगायत आहारा ल्याउँथे,’ उनले भने, ‘गाई दान गर्नेहरू त्यहीं आउँथे, गाईको मूल्य तिरेर त्यहीका बाह्मणलाई दान गरी फर्कन्थे । कोही दूध दिने गाई किनेर पनि लैजान्थे । तर यहाँ केहीले गाईको आहारको खर्च दिन्थे । यहाँ गौशाला रहन सकेन ।’

छाडा चौपाया घोडाघोडी नगरको मात्र होइन, जिल्लाका १३ वटै स्थानीय तहको समस्या बन्दै छ । स्थानीय तह निर्वाचनमा अधिकांश उम्मेदवारले चुनावी मुद्दा नै छाडा चौपाया नियन्त्रणलाई बनाएका थिए ।

घोडाघोडी नगरप्रमुख चौधरीले छाडा पशुबारे जिल्ला समन्वय समिति बैठकमा छलफल भएको बताए । सबै स्थानीय तहमा दिगो योजना ल्याउने कुरा भएको उनले जानकारी दिए । ‘तर जिल्ला समन्वयस्तरबाट काम ढिलो भइरहेकाले गौशाला व्यवस्थित गर्न सकेका छैनौं,’ उनले भने ।  इकान्तिपुरबाट साभार गरिएको
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता