मदन भण्डारी गोल्डकप : ए डिभिजन क्लबका लागि पाहुना टोली मुख्य चुनौती

  • नमीन ढकाल  

इटहरीः माघ १२ गतेबाट देशकै दोस्रो सर्वाधिक राशीको मदन भण्डारी स्मृति अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप प्रतियोगिताको दोश्रो संस्करण इटहरीमा शुरु हुँदैछ । ११ वर्षसम्म स्वर्गीय दानबहादुर फुयाँल स्मृति इटहरी गोल्डकपको नाममा सञ्चालित प्रतियोगिताको गरिमालाई कायम राख्न मदन भण्डारी स्पोर्टस् एकेडेमीको संरक्षकत्वमा राष्ट्रिय जागृति क्लबले गत वर्षबाट मदन भण्डारी स्मृति अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकपको नाममा प्रतियोगिता सञ्चालनमा ल्याएको थियो । स्पोर्टस सिटीको रूपमा अघि बढिरहेको इटहरीको शाख कायम राख्न आयोजकले निरन्तर रूपमा प्रतियोगितालाई थप परिस्कृत बनाउँदै लगिरहेका छन् ।

पहिलो संस्करणमा १२ लाख रुपैयाँ पुरस्कार राखेर तत्कालीन समयको सर्वाधिक राशीको प्रतियोगिताको रूपमा सञ्चालन गरिएको मदन भण्डारी गोल्डकपको राशी दोस्रो संस्करणमा १६ लाख हुन पुग्यो । मदन भण्डारी गोल्डकपको २०७४ को संस्करण जितेर थ्रीस्टारले लामो समयपछि नेपाली फुटबलमा कमब्याक गरेको थियो ।एएफसी प्रेसिडेन्ट कपमा एन्फाको लापरवाहीले दोस्रो चरण खेल्न नपाएपछि फुटबलबाट टाढिएको थ्रीस्टारले दोस्रो अन्तर्राष्ट्रिय आमन्त्रण सुदूरपश्चिम खप्तड गोल्डकपबाट कमब्याक गरे पनि उपाधीका लागि भने इटहरीको मदन भण्डारी गोल्डकप नै कुर्नुप¥यो ।

खप्तड गोल्डकपमा पहिलो खेलमा आर्मीसँगै २–१ ले पराजित हुन पुगेको थ्रीस्टार मदन भण्डारी गोल्डकपमा भने आर्मीमाथि टाइब्रेकरमा जीत निकाल्दै फाइनल पुगेको थियो । फाइनलमा बुद्ध चेम्जोङ प्रेरित थ्रीस्टारले नेपाली फुटबलको पावर हाउस मनाङ मस्र्याङदीलाई १–० ले हराउँदै उपाधी आफ्नो पोल्टामा पार्न सफल भएको थियो । ‘इटहरीको गरिमा बचाउनलाई पनि प्रतियोगिता जरुरी थियो । हामीले राष्ट्रिय खेलकुद परिषद्को मदन भण्डारी स्पोर्टस एकेडेमीको संरक्षकत्वमा नाम परिर्वतन गरेर प्रतियोगिता सञ्चालन गरिरहेका छौँ,’ जिल्ला खेलकुद विकास समितिका अध्यक्ष एवम् आयोजक समितिका प्रचारपसार संयोजक अनुरोध थापाले भने ।

युवा खेलाडी उत्पादन गर्न र उत्पादित खेलाडीको खेलकौशल प्रदर्शनका लागि पनि प्रतियोगिता आवश्यक रहेको उनको भनाइ छ । राष्ट्रिय टिमका पूर्व स्ट्राइकर सुरेन्द्र तामाङ, श्याम मानन्धर, गोलरक्षक रितेष थापाजस्ता हस्ती जन्माएको राष्ट्रिय जागृतिले यस पटक प्रतियोगिताका अधिकांश खेलाडी आफ्नै क्लबका उत्पादन रहेको जनाएको छ । केही खेलाडी सुनसरी जिल्लाबाट लिएर प्रतियोगितामा सहभागिता जनाउने भएको छ । २०७२ सालदेखि आफ्नै लगानीमा ग्रासरुट फुटबल सञ्चालन गरिरहेको क्लबले ए डिभिजनका क्लबहरूमा खेलाडी दिने उद्देश्यले प्रतियोगिता आयोजना गरिरहेको जनाएको छ । ‘अहिले पनि १०÷१२ जना हाम्रै उत्पादन छन् । ए डिभिजनका क्लबहरुमा अझ अरु उत्पादन दिने लक्ष्य हो,’ थापाले भने । इटहरी रङ्गशालामा सञ्चालन हुने प्रतियोगिताले इटहरीलाई स्पोटर््स सिटीको रूपमा चिनाउन मद्दत पुग्ने आयोजकको अपेक्षा रहेको छ ।

विशाल मेमोरियल गोल्डकप विजेता विभागीय टिम त्रिभुवन आर्मीसहित लिग विजेता सिग्नेचर मनाङ मस्र्याङदी, खप्तड गोल्डकप विजेता नेपाल पुलिस क्लब उपाधीको लागि भिड्ने भएका छन् । मदन भण्डारी गोल्डकपको डिफेन्डिङ च्याम्पियन रुस्लान थ्रीस्टार, आयोजक राष्ट्रिय जागृति क्लब, मोफसलको क्लब मेची नेत्रालय काकडभिट्टा ट्रेनिङ सेन्टरसहित क्यामनरुनको डाउफिन्स फुटबल टिम र भुटानको सिएफसी प्रतियोगिताको मुख्य आर्कषणको रूपमा रहेका छन् । प्रतियोगिताको मिति नजिकिएसँगै सम्भावित विजेताका आँकलन शुरु गरिएको छ ।

पाहुना टोली डाउफिन्स मुख्य चुनौती
नेपाली फुटबलमा तहल्का मचाइरहेका ५ प्रतिष्ठित क्लबसँगै आयोजकको लागि पाहुना टिम चुनौती बन्न सक्छन् । नेपाली फुटबल खेलाडीलाई अनुबन्ध गरेर विभिन्न गोल्डकपमा सहभागिता जनाइरहेको सिएफसी भुटानले खासै सशक्त प्रदर्शन गर्न नसके पनि ए डिभिजनका क्लबहरूको लागी चुनौती बन्ने गरेको छ । बुढासुब्बा गोल्डकप, वीर गणेशमान सिंह गोल्डकप, विराट गोल्डकपलगायतका प्रतियोगितामा सशक्त खेल देखाउँदै आए पनि उसले उपाधी जित्न भने सकेको छैन ।

बार्सिलोनाका पूर्व स्टार स्यामुएल इटोको देश क्यामरुन अफ्रिकी फुटबलको पावर हाउस नै मानिन्छ । पावर हाउस देशको टिम नेपाली खेलाडीको लागि चुनौती हुन सक्छ । यसै वर्षदेखि डाउफिन्सले नेपालको घरेलु फुटबलमा सहभागिताको अवसर पाएको हो । यसअघि नेपालकै सर्वाधिक राशीको तेस्रो अन्तराष्ट्रिय आमन्त्रण सुदूरपश्चिम नेपाल आइस खप्तड गोल्डकपमा पहिलो पटक सहभागिता जनाएको क्यामरुनी टोली दोस्रो सहभागिताको पहिलो खेलमै जीत निकाल्दै आफूलाई अब्बल प्रमाणित गर्न चाहन्छ । झापाको मेची नेत्रालय काँडभिट्टालाई हराउँदै डाउफिन्सको लक्ष्य सेमीफाइनल हुँदै उपाधी जित्नु हो । पहिलो सहभागिता खासै सम्झनालायक नरहेको डाउफिन्स टिम खप्तड गोल्डकपमा सङ्कटासँग १–० ले पराजित बनेको थियो ।

नाइजेरियन एलोन म्याक्सवेलको गोल नै निर्णायक बनेको थियो सङ्कटाका लागि । खप्तडमा सहभागी हुन डाउफिन्स टिमका ११ जना सदस्य काठमाडौ हुँदै धनगढी पुगेका थिए । ५ जना खेलाडी कलकत्ताबाट लखनउ हुँदै खेलस्थल पुगेका थिए । खप्तड गोल्डकप आयोजक समितिका अध्यक्ष सुरेश हमाल क्यामरुनी टोली बलियो रहेको दाबी गर्छन् । ‘धनगढी आइपुगेको १ घण्टा नबित्दै खेलमैदानमा उत्रिनुपरेकाले थकित खेलाडीले हारेका थिए । टिम त बलियो नै हो,’ उनले भने नेपाली खेलाडीसँगको प्रतिष्पर्धाको अनुभव नरहेको डाउफिन्स टोली सम्भवतः पहिलो जीतको खोजीमा रहनेछ । नेपालमा अफ्रिकी टिमले सहभागिता जनाएको मदन भण्डारी गोल्डकप पहिलो प्रतियोगिता भने होइन । सन् २०१४ अघि देशका विभिन्न स्थानमा हुने प्रतियोगितामा अफ्रिकन खेलाडी अफ्रिकन युनाइटेड क्लबका नामबाट प्रतियोगितामा सहभागिता जनाउदै आएका थिए । ८ औँ र १६ औँ बुढासुब्बा, सन् २०१४ को उदयपुर गोल्डकप लगायत जितेका अफ्रिकी खेलाडी अहिले नेपालका विभिन्न क्लबका मुख्य सदस्य छन् । तर डाउफिन्समा त्यो टिमका खेलाडी छैनन् ।

उपाधी जित्ने नेपाली क्लबको आ–आफ्नो दाबी
१० औँ सिमरा गोल्डकपको फाइनलमा पुगेको नेपाली सेना भरत खवासको नेतृत्वमा मदन भण्डारी गोल्डकपमा सहभागी हुँदैछ । ‘१२ गते फाइनल हुने सिमरा गोल्डकप हारे पनि जिते पनि हामी सोझै आर्मीको पहिलो रोजाइको खेलाडीसहित इटहरी पुग्छौँ,’ खवासले भने । सवै खेलाडी लयमा रहेकाले इटहरीको उपाधीसमेत जित्ने उनले दाबी गरे । खप्तड गोल्डकपको सेमीफाइनलमा थ्रीस्टारसँग पराजित बनेको मेची नेत्रालय काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर पाहुना टोली डाफिन्सविरुद्ध जीत निकाल्नेमा विश्वस्त रहेको छ ।

खमिर गिल्सन कन्दङवाको नेतृत्वमा मैदान उत्रने टोलीमा निराजन खड्का, विशाल राई ए, एन्जल गुरुङ, विकास थुलुङ लगायतका खेलाडी हुनेछन् । ‘खप्तड गोल्डकपमा सहभागी टिमका २÷३ जना खेलाडी परिर्वतन गरेर सहभागी हुँदैछौ,’ प्रशिक्षक मीन बस्नेतले भने, ‘डाउफिन्स टिममा बलिया र अग्ला कदका खेलाडी भएकाले केही समस्या पक्कै हुन्छ । तर खप्तड गोल्डकपमा उनीहरूको कमजोरी समेत आँकलन गरिसकेका छौँ । त्यसकै फाइदा उठाउँछौ ।’ काँकडभिट्टा यसअघि खप्तड गोल्डकपको पहिलो सेमीफाइनलमा थ्रीस्टारसँग पराजित भएको थियो । सिमरा गोल्डकपमा हिमालयन शेर्पासँग २–० ले पराजित बन्दै लगातार उपाधी जित्ने अधुरो चाहना बोकेको विक्रम धिमाल नेतृत्वको पुलिस टिम मदन भण्डारी गोल्डकपको शुरु खेलमै भुटानमाथि स्पष्ट जीत निकाल्न चाहन्छ । त्यसपछि मनाङ र आयोजकबीचको विजेतासँग खेल्दै फाइनल पुग्ने लक्ष्य बनाएको छ ।
सबैभन्दा बढी राष्ट्रिय खेलाडीले भरिएको टिम मनाङ मस्र्याङ्दी यस वर्षको लिगको विजेतासमेत हो । गत साता सम्पन्न खप्तड गोल्डकपमा डिफेन्डिङ च्याम्पियन मनाङ नेपाल पुलिस क्लबसँग २–० ले पराजित बनेको थियो । मदन भण्डारी गोल्डकपको माघ १३ गते हुने खेलमा मनाङले घरेलु खेलाडी सम्मिलित आयोजक टिमलाई चुनौतीको रूपमा पाएको छ ।
खेलाडीलाई कुनै असुविधा हुँदैनः आयोजक
प्रतियोगितामा खेलाडीको सेवा सुविधालाई विशेष ध्यानमा राखिएको गोल्डकप आयोजक समितिका संयोजक एवम् जिल्ला फुटबल सङ्घका कोषाध्यक्ष कोबिदजंग कार्कीले बताए । आयोजकले खेलाडीलाई दैनिक १ हजार २ सय रुपैयाँको दरले भत्ता उपलब्ध गराउने भएको छ भने टिम र खेलाडी हेरेर थप टिम भत्ताको व्यवस्था गरिने कार्कीले जानकारी दिए । उनले विदेशबाट आउने र नेपाली टिमलाई सुविधा समान दिने बताए ।
१ हजार दर्शकको लागि बाँसकै प्यारापिट
इटहरी रङ्गशालामा दर्शकको लागि पर्याप्त प्यारापिटको व्यवस्था नभएपछि अहिले आयोजकले पूर्वमा आयोजना हुने अन्य गोल्डकपमा झैँ बाँसको प्यारापिटको प्रबन्ध गरेको छ । ५ सय दर्शकका लागि सिमेन्टेड प्यारापिट रहेको मैदानमा १ हजार दर्शकका लागि बाँसको प्यारापिट बनाइएको कार्कीले बताए । प्रतियोगिता सम्पन्न गर्न आयोजकले दर्शकबाट क्वाटरफाइनल खेलमा ५० र १००, सेमीफाइनलमा १०० र १५० तथा फाइनल खेलका लागि ३ सय रुपैयाँ दरको टिकटको व्यवस्था गरेको छ । बाँसको प्यारापिटमा बस्न चाहने दर्शकले बढी शुल्क तिर्नुपर्ने भएको छ । अग्लो र खेल मज्जाले नियाल्न सक्ने भएकाले बाँसको प्यारापिटमा बढी टिकट शुल्क राखिएको संयोजक कार्कीले बताए । ५० हजार दर्शकले अवलोकन गर्ने अनुमान गरिएको प्रतियोगिता सम्पन्न गर्न ६५ लाख रुपैयाँ लाग्ने आयोजकको अनुमान छ ।
लोकल सन्देशबाट

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता