तोडिएला मनाङविरुद्ध आर्मीको हारको शृङ्खला

  • नमीन ढकाल

इटहरीः सिजनको दोस्रो उपाधी जित्ने लक्ष्यका साथ विभागीय टिम त्रिभुवन आर्मी आज इटहरीको मैदानमा उत्रँदैछ ।
भरत खवास नेतृत्वको आर्मी सुजल श्रेष्ठ नेतृत्वको मनाङविरुद्ध सिजनको पहिलो जीतको खोजीमा रहनेछ । २०७५ सालको सिजनमा ३ पटक आमनेसामने भएका यी २ टोलीको जीतको शृङ्खलालाई मनाङ कायम राख्न चाहन्छ ।
सिजनको पहिलो प्रतियोगिता चौथो माइभ्याली गोल्डकपको उपाधी होडमा प्रवेशका लागि अञ्जन बिष्टप्रेरित खेलमा १–० को जीत निकाल्दै मनाङ फाइनलमा पुगेको थियो । त्यसलगत्तै दमकमा भएको प्रतियोगिताको फाइनल प्रवेशका लागिसमेत मनाङले आर्मीलाई नै हराएको थियो ।
निर्धारित समयमा १–१ गोल भएको खेलमा टाइब्रेकरमा ५–४ ले मनाङ विजयी बनेको थियो । दुर्भाग्यवश दुवै प्रतियोगिताको उपाधी जित्न भने मनाङ असफल बन्यो ।
लामो समयसम्म हुन नसकेको शहीद स्मारक लिगमा भने २ खेल अगावै ३० अङ्कका साथ मनाङले उपाधी जित्दा आर्मी भने १३ खेलबाट २५ अङ्कका साथ चौथो स्थानमा रहन सफल भयो । मनाङले लिगसँगै ३८ औँ गभर्नर्स गोल्डकप जित्दा आर्मी विशाल मेमोरियलको विजेता र सिमरा गोल्डकपको उपविजेता बन्न सफल भयो

उपाधी जित्नेमा फाइनलिष्ट टिमको आ–आफ्नै दाबी
प्रस्तावित रङ्गशालामा हुने खेलबाट उपाधी जित्ने क्लबहरूको आ–आफ्नो दाबी छ । प्रि–म्याच कन्फरेन्समा बोल्दै मनाङका कप्तान सुजल श्रेष्ठले विपक्षी टिम निकै बलियो रहेकाले जीतको सम्भावना बराबर रहेको बताए । उनले भने, ‘फाइनल हो जीतहारको सम्भावना बराबर छ । आर्मीले पनि दाबेदार टोलीलाई हराएर फाइनल पुगेको हो । ५०/५० को अवस्था छ ।’
तयारी राम्रो भएको उनले बताए । यसअघिका खेलहरूमा अधिकांश ‘मिसपास’ भएकाले फाइनलमा त्यसलाई कम गर्ने रणनीति रहने उनले बताए ।
यता, प्रशिक्षक फुजा टोपेले आर्मीसँग पटकपटक भिडेकाले उनीहरूको बारेमा जानकारी रहेको बताए । ‘आर्मीसँग भिड्न लागेको पहिलो पटक होइन,’ उनले भने, ‘उनीहरू कसरी खेल्छन् भन्ने हामीलाई जानकारी छ ।’ मनाङ आप्mनो पुरानो आक्रामक रणनीतिमा मैदान उत्रने टोपेले बताए ।
आर्मीका कप्तान भरत खवासले नियमित टिमका खेलाडीहरूको इन्जुरीका कारण मदन भण्डारी गोल्डकपमा अपेक्षाअनुरूप प्रदर्शन नभए पनि युवा खेलाडीहरूको भरमा फाइनल पुगेको बताए । विपक्षी टिमको बारेमा जानकार नै रहेकाले नयाँ रणनीति केही नरहेको उनले बताए ।
फाइनल पुग्नु नै सफलता भएकाले उपाधी जित्नेमा विश्वास रहेको खवासको धारणा थियो । विभागीय टिमलाई दर्शकको सर्मथन किन आउँदैन भन्ने प्रश्नमा खवासले भने, ‘सर्मथन आइदिँदा चाहिँ राम्रो हो । तर हामी समर्थनभन्दा पनि खेलमा केन्द्रित हुनेछौँ । कसरी उपाधी जित्ने भन्ने नै हाम्रो फोकस हुनेछ ।’
प्रशिक्षक चुनबहादुर थापाले इटहरी रंगशालाको खेलमैदान तुलनात्मक रूपमा सहज नै रहेकाले जीत निकाल्ने सम्भवना रहेको बताए । उनले भने, ‘मैदान अप्ठ्यारो हुँदा हामीलाई मात्र होइन विपक्षीलाई पनि अप्ठ्यारो हुन्छ । त्यसैले खेलमैदानले दुवै टिमको खेललाई बराबर निर्धारण गर्छ ।’
मनाङ मस्र्याङ्दी क्लब सम्भवतः नियमित कप्तान विराज महर्जन बिना मैदान उत्रनेछ । विराज काठमाडौं प्रस्थान गरिसकेका छन् । उनी खेल्ने वा नखेल्ने भन्ने निक्र्योल भइनसकेको प्रशिक्षक टोपेले प्रि–म्याच कन्फरेन्समा बताए ।
प्रदेशप्रोटलबाट

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता