
इलाम, ११ फागुनः समाजसेवीको रुपमा ख्याती कमाएका र लाप्चा जातिका अग्रज ब्यक्तित्व स्वर्गीय जगतबहादुर लाप्चाको स्मृतिमा प्रकाशन गरिएको आथिङ काजी जगतबहादुर लाप्चा स्मृतिग्रन्थ आज सूर्योदय नगरपालिका ४ को श्रीअन्तुस्थित जनक माविमा आयोजित एक कार्यक्रममा लोकार्पण गरिएको छ । स्मृतिग्रन्थ प्रकाशन समितिद्वारा आयोजित लोकार्पण कार्यक्रममा नगर प्रमुख रनबहादुर राई, रोङ गाउँपालिकाका प्रमुख शम्शेर राई, प्राज्ञ कोमल निरौला, महेन्द्र रत्न बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख युद्धप्रसाद बैद्धसमेतले स्मृतिग्रन्थको लोकार्पण गरेका हुन् ।
उक्त कार्यक्रम अहिले साढे दुई बजेसम्म पनि जनक माविमा जारी रहेको छ । अहिले साँस्कृतिक कार्यक्रम भइरहेको विजयशेखर भट्टराईले जानकारी दिएका छन् । कार्यक्रममा धर्म गौतमलगायतले शुभकामना मन्तब्य राखिसकेका छन् । स्व. जगतबहादुर लाप्चाका छोराहरु बुद्धकाजी लाप्चालगायतको सक्रियतामा स्मृतिग्रन्थ प्रकाशन गरिएको हो । सो स्मृति ग्रन्थमा स्व। जगतबहादुरले गरेका सामाजिक सेवामूलक कार्यहरु, उनको जीवनी लगायतका कुराहरुलाई समेटिएको छ ।
स्मरणीय त के छ भने नेपालमै लोपोन्मुख जातीको रुपमा रहेको लाप्चा जातिको देशमै एउटामात्र सङ्ग्रहालय इलामको श्रीअन्तुमा रहेको छ । उक्त सङ्ग्रहालयको स्थापना स्व. जगतबहादुरले नै गरेका हुन् । पहिले आप्mनै घरमा सङ्ग्रहालयमा राखिने सामान राखेर सजाएका जगतबहादुरको स्वर्गारोहणपछि हाल श्रीअन्तुकै उत्तरेमा सरकारी सङ्ग्रहालयका लागि भवन बनिएको छ । विविध कारणले लामो समयसम्म पनि सङ्ग्रहालय भवन निर्माण कार्य सम्पन्न भएको छैन । स्व। जगतबहादुरले सङ्ग्रहालयको रुपमा घरमै सजाएका ती लाप्चा जातिले प्रयोग गर्ने परम्परागत सामाग्रीहरु अहिले पनि सुरक्षित रहेको र इच्छुकले हेर्न सक्ने उनका छोरा रमेशकाजी लाप्चाले जानकारी दिएका छन् । सन्दकपुर अनलाईनबाट साभार