- कोषवल्लभ रेग्मी
आमा बिरामी पर्नुभयो।कति औषधि,धामीझाँक्री,पाठ-पारायण गर्दा पनि ठाँगेले छोएन।डाक्टरका अनुसार 'फोक्सोमा घाऊ भएकाले उपचार कठिनछ'भन्ने जानकारी भएको थियोे।
हामी सबै आमाकै नजिक बसेका थियौं।सबैका आँखामा आँसु तप्किएका देखिन्थे।
"....बाबू....!!!बाबू......!!!!!बाबू....!!!!!!!!"आमा अलिअलि हात हल्लाउँदै केहीभन्न खोजेजस्तो गर्दै हुनुहुन्थ्यो।
"ए लौ!!!आमालाई सारो भए जस्तो छ।खोइ गंगाजल...?"-गीता पाठ गर्दैगरेका बाजेले सबैलाई अत्याए।साबित्रीले हतार हतार यौटा बोतलमा सुरक्षितसाथ राखिएको गंगाजल ल्याएर आमाको मुखमा पिलाई दिईन्।आमाले निल्नुभयो या भएन पत्तो भएन।
आज माता तीर्थ औंशी परेकोले पनि होला दिदीबहिनी सहित सबै परिवार जम्मा भएका थिए।सबैले आमाको लागि भनेर खाने कुरा,लुगा आदि उपहार लिएरै आएका थिए।तर आमाको ती सबै कुरा ग्रहण गर्नसक्ने अवस्था थिएन।
मैले पनि यसो सोचें-"केही त उपहार आमालाई दिनैपर्ला.....!!!"म कसैले थाहै नपाई बाहिर बस्नगए जस्तो गर्दै नजिकैको कपडा पसल तिर दौडिएँ।
"भाइ!यौटा राम्रो रामनामे दोसल्ला पाउँन!"
"यही हो सबैभन्दा राम्रो।"-दुकानदारले दोसल्ला देखाउँदै भने।मैले आवस्यक मुल्य तिरेर हतार हतार घर तर्फ दौडिएँ।
"...दाइ खोइ?ए!दाई दाइ!!!"-म घरमा आईपुग्ना साथ कसैको आवाज सुने।
"के भयो,किन ?"-म अताल्लिएँ।
"आमा सकिनुभयो भन्या!लौ न अब के गर्ने?!"
मलाई भनन्न रिंगटा चल्यो।मेरो मुटु पश्चातापले पोले जस्तो भयो।
सबै गाउँले,आफन्त भेलाभै सकेका थिए।आमालाई आजै सागर लैजाने विधि तय भयो।आखिर आमाको लागि मैले किनेर ल्याएको पहेँलो रामनामे दोसल्ला उपहार ओढाएर आमालाई घरबाट बाहिर टाढा कतै लगियो,धेरै टाढा......॥