काठमाडौंका चार स्थानका खानेपानीमा दिसा मिसिएको आशंका

 काठमाडौं माघ २३
काठमाडौंका विभिन्न स्थानमा वितरित खानेपानीका पाइपमा ढल मिसिएको आशंकामा अनुगमन गरिने भएको छ।
यसबारे सञ्चारमाध्यममा समाचार सार्वजनिक भएपछि स्वास्थ्य सेवा विभागले ढल मिसिएको आशंका गरिएका स्थानका खानेपानीको परीक्षण गर्न लागेको हो।
स्वास्थ्य सेवा विभागका जन स्वास्थ्य प्रशासक शम्भुप्रसाद ज्ञवालीका अनुसार आज (बुधबार) खानेपानी तथा ढल निकास विभाग र काठमाडौं उपत्यका खानेपानी लिमिटेडसँगको समन्वयमा बानेश्वर, महाराजगन्ज, समाखुसी र मैतीदेवीका विभिन्न स्थानमा रहेका धाराको पानीको नमुना संकलन सुरु गर्न लागिएको हो।
अनुगमनका क्रममा घरका निजी तथा सार्वजनिक धाराका पानीको नमुना संकलन गरिने उनले बताए। शुक्रबारसम्म खानेपानीको नमुना संकलन सकेर त्यसको परीक्षण गरी रिपोर्ट सार्वजनिक गरिने उनले जानकारी दिए।
जनस्वास्थ्य प्रशासक ज्ञवालीले भने, ‘खानेपानीको परीक्षणका लागि हामीले जनस्वास्थ्य कार्यालयलाई पानी परीक्षण मेसिन र तालिम दिएका थियौँ। उनीहरूले आफ्नो काम राम्रोसँग नगर्दा समस्या आयो।’
यसअघि पनि काठमाडौं उपत्यकाका विभिन्न स्थानमा खानेपानीमा दिसामा पाइने किटाणु ‘कोलिफर्म’ भेटिएको थियो। जसले झाडा, पखाला, जन्डिसलगायतका प्रकोप फैलिने गरेको छ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता