भोलि प्रदेश २ मा नेकपाको जनसभा, आज प्रधानमन्त्री ओली र सीके राउतले एकै मञ्चबाट सम्बोधन गर्ने


काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी  (नेकपा)को दुवै अध्यक्षद्वय एकीकरणपछि पहिलो पटक मधेश झर्दै छन् ।
तल्ला कमिटीहरु एकीकरण प्रक्रिया अन्यौलमा परिरहेका बेला प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ९प्रचण्ड० दुवै शनिबार मधेस झर्ने भएका हुन् ।
पार्टी एकता र मधेस मुद्दामा नेकपाको सन्देश जनतालाई दिनका लागि २ नम्बर प्रदेश कमिटीले रौतहटमा जनसभा गर्न लागेको हो । रौतहटको गरुढामा हुने प्रदेशस्तरीय जनसभालाई नेकपा अध्यक्षद्वय ओली र प्रचण्डले सम्बोधन गर्ने प्रदेश दुईका इञ्चार्ज सत्यनारायण मण्डलले जानकारी दिए।
प्रदेश दुईका इञ्चार्ज मण्डलकाअनुसार एक लाख जनता उतार्ने तयारी भइरहेको छ । संविधान जारी भएदेखि पार्टीले मधेसमा एउटा पनि राजनीतिक वैचारिक सभा प्रदेशस्तरमा गर्न नसकेकाले प्रदेश कमिटीले यसपटक ठूलो जनसहभागितामा पार्टीको सन्देश प्रवाह गर्न खोजेको उनले बताए ।
नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री ओलीले मधेशका मुद्दालाई उपेक्षा गर्ने गरेको भन्दै प्रदेश २ का जनतालाई भ्रम रहेको बेला यो जनसभाले उक्त भ्रम चिर्ने र मधेसमा ओलीले आफ्नो छविलाई बदल्ने सम्भावना रहेको छ ।

सिके राउतसँग एकै मञ्च

छुट्टै मधेस राज्यको माग गर्दै आएका डा सीके राउतले आफ्नो मागबाट पछि हट्ने संकेत गरेका छन् । उनले मुलुकको अखण्डता स्वीकार गर्ने स्रोतले जनाएको छ ।

आज दिउँसो १ बजे राष्ट्रिय सभागृहमा हुने कार्यक्रममा राउतले प्रधानमन्त्री केपी ओलीकै सामु अखण्ड नेपाल स्वीकार गर्ने घोषणा गर्ने बताइएको छ । राउत आज नेकपा अध्यक्ष समेत रहेका प्रम ओली र अर्का अध्यक्ष प्रचण्डसँग एकै मञ्चमा देखा पर्ने भएका छन् । हिजो मात्र उनलाई सर्वोच्च अदालतको आदेशमा रिहा गरिएको थियो ।
प्रधानन्याधीश चालेन्द्र शम्शेर जबरा र न्यायधीश पुरुषोत्तम भण्डारीको इजालसले राउतलाई रिहा गर्न आदेश दिएको थियो । राज्य विरुद्धको मुद्दा खेपिरहेका उनलाई सर्वोच्चले साधारण तारेखमा उनलाई रिहा गर्न आदेश दिएको हो ।
यस अघि उनलाई जिल्ला अदालतले रौतहटले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो ।
यसैबीच, राउतलाई नेकपाले आफ्नो पार्टीमा भित्र्याउनेबारे निर्णय गर्न आकस्मिक सचिवालय बैठक डाकिएको स्रोतले जनाएको छ । नेकपाभित्र यसबारे अहिले छलफल भइरहेको स्रोतको दाबी छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता