इलामका पाँच सडकमा पाँच करोड र खानेपानी योजनालाई दुई करोड सात लाख

इलाम, २४ फागुनः इलाम नगरपालिका भित्रका पाँचवटा सडकहरु स्तरोन्नति गर्नका लागि एक एक करोड रुपैयाँका दरले खर्च गर्नेगरि इलाम नगरपालिकाको नगर कार्यपालिकाले रकम बिनियोजन गरेको छ । नगरपालिकाको फागुन २३ गते बसेको बैठकले सो रकम बिनियोजन गरेको हो । सोही बैठकले पुवाखोला चिन्तेसाँघु खानेपानी आयोजनाका लागि दुई करोड सात लाख २८ हजार रुपैयाँ बिनियोजन गरेको छ । 
नगरप्रमुख महेश बस्नेतको अध्यक्षतामा बसेको नगर कार्यपालिकाको बैठकले वडा नम्बर ८ मा पर्ने तिल्केनीदेखि माईखोलाको बज्रदेवीसम्मको सडकलाई एक करोड रुपैयाँ, वडा नम्बर ९ को भञ्जाङदेखि भाङ्गटार हुँदै वडा नम्बर ११ सोयाक बेलासे पुग्ने फाष्ट ट्¥याक सडकको सोयाक खण्डलाई एक करोड रुपैयाँ, वडा नम्बर २ को रिब्स स्कुलदेखि र ५ को सुम्बेकसम्मको सडकलाई एक करोड रुपैयाँ बिनियोजन गरेको हो । त्यस्तै वडा नम्बर १ साँखेजुङको मिलगोलाइदेखि वडा नम्बर ३ पुवामझुवाको विणापानी स्कुलसम्म सडकको पुवामझुवा खण्डलाई एक करोड रुपैयाँ तथा वडा नम्बर ७ को रत्नचोकदेखि वडा नम्बर ९ इन्टेक हुँदै वडा नम्बर १२ को साङ्गरुम्वा सडकको वडा नं। ९ र १२ का लागि एक करोड बिनियोजन गर्ने निर्णय गरेको हो ।
सोही बैठकले तीनवटा विद्यालयमा खानेपानी तथा स्वास्थ्य र सरसफाई सुविधायुक्त शौचालय निर्माण का लागि सात सात लाख रुपैयाँको दरले खर्च गर्ने निर्णय पनि गरेको छ । वडा नम्बर १० गोदकको पूर्णस्मारक मावि, वडा नं। १२ को साङ्गरुम्वा मावि, र वडा नम्बर ४ माईपोखरी जस्वीरेको बालमण्डल माविमा शौचालय बनाइने भएको हो । 
त्यसैगरी इलाम नगरपालिकाको आर्थिक वर्ष २०७५/०७६ को सौर्य ऊर्जा प्रविधि जडान कार्यक्रम अन्तर्गत वार्ड नम्बर ११ सोयाकको निर्फोकमा सौर्य ऊर्जाबाट पानी तानेर सिञ्चाई सुविधा उपलब्ध गराउने गरी छ लाख ४८ हजार रुपैयाँ खर्च गर्ने निर्णय पनि कार्यपालिका बैठकले गरेको नगरपालिकाका प्रवक्ता तथा वडा नम्बर ५ का वडाध्यक्ष ठाकुर श्रेष्ठले जानकारी दिएका छन् ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता