पर्यटकीय गन्तव्यमा सुविधा थपिँदै

इलाम:  हालैमात्र पर्यटकीय नगरी घोषणा भएको सूर्योदय नगरपालिका चाँडै यहाँका पर्यटकीय गन्तव्यलाई थप सुविधा सम्पन्न बनाउने योजनामा छ। इलाम आउने पर्यटकका लागि पहिलो बिसौनीका रूपमा रहेको सूर्योदयमै लामो समय भुल्याउने योजनासहित नगरपालिकाले काम गरिरहेको नगरप्रमुख रणबहादुर राई बताउँछन्।
अहिले सूर्योदय नगरपालिकाको श्रीअन्तु र कन्याममा सौन्दर्यीकरणका काम भइरहेको राईले बताए। श्रीअन्तुको चुचुरोमा पार्कसहितको संरचनाका लागि गुरुयोजना बनाएको नगरले घाम छेल्ने सल्लाका रुखको हाँगा काट्ने र कतिपयको टुप्पा काट्ने काम सम्पन्न गरेको छ। यो प्रयासमा डिभिजन वन कार्यालय र स्थानीयले सहयोग गरेका छन्। अन्तुमा सूर्योदयको दृष्य हेर्न आउने पर्यटकको सुविधाका लागि उज्यालो र पानीको आवश्यकता रहेको स्थानीय धनकुमार आले बताउँछन्। राईले बिजुली, पानीसहितका सम्पूर्ण काम दुई वर्षमा सम्पन्न गर्ने योजना रहेको जानकारी दिए। नगरले अन्तु पोखरीको वरिपरि व्यवस्थित बाटो, रेलिङ लगायतका कामका लागि ठेक्का प्रक्रिया अघि बढाएको छ।
गतवर्ष सडक बिस्तार गरेको कन्याम क्षेत्रमा नगरपालिकाले सौन्दर्यीकरण योजना अनुसारको कामलाई तीब्रता दिएको प्रमुख राईले बताए। वर्षौदेखि पिकनिक स्पटका रूपमा सञ्चालनमा रहेको कन्याममा नगरपालिकाले रात्री पर्यटन स्थल, सबै मौसमका लागि सुरक्षित पदमार्ग निर्माण, साइक्लिङ मार्गसमेत निर्माण गर्ने योजना बनाएको छ। योजनाअनुसार, एक हजार मानिस अटाउने सामुदायिक भवन निर्माणदेखि सडक बत्ती निर्माण गर्ने योजना रहेको सूर्योदय १० का अध्यक्ष पेमा उर्गोन लामाले बताए। नगरपालिकाले गतवर्ष पहिलो चरणमा हर्कटे बजारदेखि पाल्टागेसम्मको क्षेत्रमा सडक बिस्तार गरेको थियो।
बिस्तार गरिएको सडकमा पर्यटकका लागि पदमार्ग र साइकल लेन निर्माण गरिने लामाले बताए। सौन्दर्यीकरण योजनाअनुसार, फुड स्टेसन, व्यवस्थित पार्किङ स्थल, आकर्षक अर्किड बगैंचा निर्माण गर्ने योजना छ। पर्यटकका लागि आराम स्थल, सार्वजनिक शौचालय, वाइनाकुलर सहितको दूरदृश्य हेर्ने स्थानसमेत निर्माण गर्ने योजना रहेको छ।

पर्यटन प्रवर्द्धनमा स्थानीय

अन्तर्राष्ट्रिय महत्वको पर्वतीय सिमसार माइपोखरी रामसार क्षेत्रको संरक्षणमा भने स्थानीयको सक्रियता बढ्दो छ। दुई वर्षअघि इलामको सन्दकपुर गाउँपालिका–३ देउरालीका नौजना स्थानीय मिलेर सुरु गरेको होमस्टे र त्यस क्षेत्रको दिगो विकासमा क्रियाशील कञ्चनजंघा भू–परिधि संरक्षण तथा विकास पहल कार्यक्रमको सक्रियतामा माइपोखरीमा पर्यटक तान्ने प्रयास जारी छ।
माइपोखरी नजिकैको देउराली गाउँका होम स्टेको सुरु भएपछि सहज बासका लागि आउने पर्यटक बढ्दै गएको होमस्टे सञ्चालक समितिकी सचिव लीला भट्टराईले बताइन्। जैविक विविधताले भरिएको माइपोखरी समुद्र सतहदेखि २,१०० मिटरको उचाइमा छ। माइपोखरी सिमसार क्षेत्रमा अन्यत्र नपाइएको रैथाने गलैंचे झ्याउ र दुर्लभ ठकठके जस्ता वनस्पति र उभयचरलगायत पाइने र बासस्थान स्थलसमेत रहेको छ। २०६५ कात्तिक १२ मा दक्षिण कोरियामा भएको रामसार महासन्धी पक्ष राष्ट्रहरूको सम्मेलनद्वारा माइपोखरी सिमसारको ९० हेक्टर क्षेत्रफललार्ई माइपोखरी रामसार क्षेत्रका रूपमा विश्वको १,८५०औं स्थानमा घोषणा गरेपछि विश्वका धेरै जिज्ञासुले माइपोखरीको भ्रमण गर्ने गरेका छन्।
माइपोखरीमा नेपाल सरकारले पनि संरक्षण सूचीमा राखेका लोठसल्ला, चाँप, गुराँस, सुनाखरी, पितमुहार चिचिल्कोटे, सानो सियिबा, ढाडे गिद्द, काकाकुल, ओत, मालिङ्गे पाहा, ट्याङ्गट्याङ्ग पाहा, हरियो छेपारो आदि पाइने राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ। कञ्चनजंघा भू–परिधि संरक्षण तथा विकास पहल कार्यक्रमका संयोजक डा। यादव उप्रेती जैविक विविधताको खानीका रूपमा रहेको कञ्चनजंघा भू–परिधिको व्यवस्थापनमा स्थानीयको चासो जगाउने कामममा कार्यक्रमले सहयोग गरेको बताउँछन्।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता