नेपालले आज कुवेतसँग प्रतिस्पर्धा गर्दै, बलियाे टिम कुवेतलाई हराउने लक्ष्य

काठमाडौँ । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा आज नेपाली राष्ट्रिय फुटबल टोलीले कुवेतसँग खेल्दै छ । जारी मैत्रीपूर्ण खेलमा नेपाली टोलीले पहिलाेपटक आफूभन्दा बलियाे मानिएकाे टिम कुवेतसँग खेल्न लागेकाे हाे ।
नेपाल-कुवेतबीचकाे प्रतिस्पर्धा आजै बेलुका स्थानीय समय अनुसार साँझ ६.३० (नेपाली समय ९.३० बजे) बाट सुरु हुने कार्यतालिका छ । कुवेतको अमादीस्थित अलसबाब मैदानमा हुने उक्त खेलमा नेपालले कुवेतलाई उसकै घरेलु मैदानमा हराउने तयारी साथ खेल्न लागेकाे हाे ।
युरोपियन प्रशिक्षक योहान कालिनले नेपाली टाेलीलाई प्रशिक्षणकाे जिम्मा सम्हालेयता याे नै पहिलाे खेल हाे । खेलअघि आयोजित पत्रकार सम्मेलनमा मुख्य प्रशिक्षक कालिनले आफ्ना लागि यो खेल निकै महत्वपूर्ण रहेको प्रतिक्रिया दिँदै नेपाललाई जिताउने दाबी गरे । यद्यपि कुवेतका मुख्य प्रशिक्षक रोमियो जोजाकले छोटो तयारी भए पनि नेपाललाई हराउने विश्वास रहेको बताएका छन् ।
दुई खेलका लागि कुवेत पुगेकाे नेपाली टाेलीले अर्काे खेल भने यही मार्च २५ मा खेल्ने कार्यतालिका छ । मलेसियासँगको मैत्रीपूर्ण खेल स्थगित भएसँगै नेपालले कुवेतसँग दुई मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।
नेपाल र कुवेतबीच १९ वर्षपछि प्रतिस्पर्धा हुन लागेको हो । यसअघि नेपालले कुवेतसँग सन् २००० मा एएफसी एसिया कपमा प्रतिस्पर्धा गरेको थियो । उक्त खेलमा नेपाल ५–० ले पराजित भएको थियो ।
कुवेत १९८२ को विश्वकपमा छानिसकेको बलियाे टिम मानिन्छ । साथै एसियाकप उपाधि विजेताको छवि बनाए पनि कुवेती फुटबल पछिल्लो समय निरन्तर अस्थिरताका कारण धरासायी बन्दै गएको बताइन्छ । तापनि नेपाली टाेलीभन्दा कुवेत बलियाे मानिएकाे छ । फिफा बरियतामा भने नेपाल भन्दा ४ स्थानमात्र माथि रहेको छ ।
नेपाली टोलीमा गोलकिपर किरण चेम्जोङ, विकेट कुथु र विशाल श्रेष्ठ, डिफेन्डरमा रोहित चन्द, अजित भण्डारी, रवि सिलवाल, सुरज विश्वकर्मा, रञ्जित धिमाल, विराज महर्जन, सरोज दाहाल, देवेन्द्र तामाङ, मिडफिल्डरमा रवि पासवान, टङ्क बस्नेत, सन्तोष तामाङ, विक्रम लामा, विशाल राई, हेमन गुरुङ, सुजल श्रेष्ठ र फरवार्डमा रञ्जन विष्ट, सुमन लामा, भरत खवास, विमल राना, नवयुग श्रेष्ठ तथा आशिष लामा रहेका छन् ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता