अब पाथीभरा क्षेत्रमा चल्ने गाडीले पाथीभरासम्बन्धी गीत र भजन अनिवार्य बजाउनु पर्ने

ताप्लेजुङ, ५ चैत्रः ताप्लेजुङको तीर्थस्थल पाथीभरा क्षेत्रमा आउँदो चैत्र १ गतेदेखि मदिरा बिक्री वितरण निषेध गरिने भएको छ । साथै पाथीभरा जाने गाडीमा पाथीभरासम्बन्धी गीत र भजन बजाउनु पर्ने अनिवार्य गरिएको छ । सर्वपक्षीय भेलाले चैत्र १ गते देखि भालुगौंडे, काफ्लेपाटी, माथिल्लो फेदी लगायतका क्षेत्रमा मदिरा बिक्री वितरण बन्द गर्ने निर्णय गरेको छ । निर्णयको अटेर गरी लुकिछिपी मदिरा बिक्री वितरण गरेको पाइएमा प्रशासनले नियान्त्रणमा दिने र आवश्यक कारबाही गरिने प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले बताए ।
तीर्थयात्रीको मागलाई सम्बोधन गर्दै मदिरालाई नियन्त्रण गर्ने निर्णय गरिएको बताउँदै प्रजिअ भण्डारीले भने ‘धार्मिकस्थलमा मदिरा बिक्री वितरण राम्रो होइन, त्यसैले मदिरा निषेध गर्न लागेका हौँ’।
मदिरा बिक्रीवितरणमा रोक लगाएपछि भक्तजनहरूको उपस्थिति पनि बाक्लिने प्रशासनको बुझाइ रहेको छ । यसैबीच पाथीभरा क्षेत्रमा चल्ने सवारी साधनमा पाथीभराको भजन, मूर्ति र स्टिकर अनिवार्य गरिने भएको छ ।
फागुन ३० गतेदेखि प्रदेश नं. १ का सवारी चालक तथा सह–चालकलाई पोसाक अनिवार्य गर्ने अभियानको उद्घाटनकै अवसरमा भजन, मूर्ति र स्टिकर अनिवार्य गर्न लागिएको ताप्लेजुङका प्रहरी प्रमुख डीएसपी सञ्जयसिंह थापाले बताए ।
चैत्र १ गतेपछि सवारी चालकहरूले अनिवार्य पाथीभराको भजन गाडीमा बजाउनु पर्ने छ । साथै पाथीभराको सानो मूर्ति र स्टिकर पनि सवारी साधनमा राख्नुपर्ने गरी यातायात व्यवसायीहरू सँग पनि सहमति भएको डिएसपी थापाले जानकारी दिए ।
‘प्रदेश नं. १ मा फागुन ३० गतेदेखि सवारी चालक तथा सह–चालकलाई अनिवार्य पोसाक लगाउने अभियानको सुरुवात गरिन लागिएको बताइएको छ । सोही अवसरमा ताप्लेजुङको पाथीभरा क्षेत्रमा चल्ने सवारी साधनमा देवीको भजन तथा मूर्ति र स्टिकर टाँस्ने कार्यक्रमको पनि उद्घाटन गर्न लागिएको हो’ डीएसपी थापाले भन्नुभयो, ‘यसले पाथीभरा दर्शनका लागि आउने दर्शनार्थीलाई पनि राम्रो हुन र सवारी चालकहरू पनि जिम्मेवार बन्न सघाउनेछ ।’
सवारी साधनमा बजाउने भजनसहितको पेनड्राइभ भने पाथीभरा क्षेत्र विकास समितिले प्रदान गर्ने बताइएको छ । जसका लागि सवारी चालकहरूले सवारी साधनको ब्लु–बुकको प्रतिलिपिका साथ पाथीभरा क्षेत्र विकास समितिमा सम्पर्क राख्नुपर्ने क्षेत्र विकासका कार्यकारी निर्देशक उदय भट्टराईले बताए ।
‘पहिलो चरणमा हामी निःशुल्क भजनसहितको पेनड्राइभ उपलब्ध गराउँछौँ’, कार्यकारी निर्देशक भट्टराईले भन्नुभयो ‘जसका लागि सवारीसाधनको ब्लु–बुकसहित उपस्थित हुनुपर्छ ।’
यसका साथै ताप्लेजुङमा सञ्चालित होटलहरूमा पनि पाथीभराको भजन र मूर्ति अनिवार्य गरिएको बताइएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता