दूषित खानेपानीका कारण गाउँभरी झाडापखालको प्रकोप, स्वास्थ्य चौकीमा विरामीलाई भुईमै सुताएर उपचार

बुटवल, 13 बैशाख : गुल्मीको एउटै गाउँका ८५ घरपरिवारमा झाडापखालको प्रकोप फैलिएको छ। जिल्लाको मुसीकोट नगरपालिका वडा नं. ४ बडागाउँस्थित दजाकोट गाउँभरी नै झाडापखाला फैलिएको हो।
स्थानीय नुरखोलाको खानेपानी प्रयोग गर्ने गाउँका ८५ घरपरिवारमा झाडापखाला फैलिएको हो। मुसिकोट नगरपालिकाका सामाजिक विकास समिति संयोजकसमेत रहेका स्थानीय हरि छन्तेलले दूषित पानीका कारण गाउँमा झाडापखाला फैलिएको हुन सक्ने बताए।
नुरखोलाको खानेपानी प्रयोग गर्ने स्थानीय ९६ जना वुधबार साझँदेखि एकैपटक विरामी भएको उनले बताए। गाउँमा एकाएक सबै व्यक्तिहरु विरामी हुन थालेको र अहिलेसम्म ९६ जनाको विभिन्न अस्पतालमा उपचार भईरहेको उनले बताए ।
अधिकांश बिरामीमा टाउको दुख्ने, रिंगटा लाग्ने, ज्वरोसँगै झाडापखाला लाग्ने समस्या देखिएको छ। गाउँभरीका व्यक्तिमा एकै प्रकृत्तिको समस्या देखिएकोले उपचारलाई तिव्र पारिएको नगरपालिकाले जनाएको छ ।
मुसिकोट नगरपालिकाका प्रमुख सोमनाथ सापकोटाले जिल्ला अस्पतालबाट समेत स्वास्थ्यकर्मीहरु गाउँमै लगेर विरामीहरुको उपचार भैरहेको बताए । विरामी धेरैजसोलाई गाउँमै प्राथमिक उपचार गराइएको छ भने तीन जनाको जिल्ला अस्पताल तम्घासमा उपचार भइरहेको छ।
स्थानीय फूलकुमारी सिंजालीको अवस्था गम्भीर भएकाले थप उपचारका लागि पाल्पा रिफर गरिएको जिल्ला अस्पतालले जनाएको छ। एकैपटक धेरैजना बिरामी भएपछि स्वास्थ्य चौकीमा विरामीलाई भुईमै सुताएर उपचार गरिएको छ ।
गाउँमा एकाएक झाडापखाला फैलिएपछि नगरपालिका प्रमुख सापकोटा प्रभावित क्षेत्रमा बिहीबार बिहानै औषधि र स्वास्थ्यकर्मी लिएर पुगेका थिए। उनले विरामीहरुको अवस्थाका वारेमा जानकारी लिनुका साथै उपचारमा कुनै कमि नहुने समेत बताएका छन्।
सापकोटाले पनि नुरखोलाको खानेपानी प्रयोग गर्ने सबै घरपरिवार विरामी परेको बताए । वडा नं. ४ का अध्यक्ष ओमबहादुर केसीले पनि दूषित खानेपानीकै कारण पुरै गाउँ नै प्रभावित भएको बताए । केसीका अनुसार स्थानीय बिरामी परेपछि उक्त मुहानको पानी प्रयोग गर्नमा रोक लगाइएको छ ।
खानेपानी तथा सरसफाई डिभिजन कार्यालय गुल्मीले नुरखोलाको खानेपानी परिक्षणको लागि पाल्पा पठाएको जनाएको छ । शुक्रवारसम्म पानीको चेकजांच रिपोर्ट आउने निमित्त डिभिजन प्रमुख कमल पन्तले जानकारी दिए ।
सेताेपाटीबाट साभार
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता