फुच्चे स्याटेलाइटको अर्को हल्ला ! डुंगालाई पानीजहाज भनेजस्तै ! ग्राउण्ड स्टेसन छैन, अन्तरीक्ष युगमा प्रवेशको गफ !

५ वैशाख, काठमाडौं । नेपाल सरकारले करिब २० अर्बको महंगो लगानीमा लगानीमा फ्रान्ससँग पहिलो स्याटेलाइट किन्ने गृहकार्य गरिरहेकै बेला विहीबार एकाएक खबर आयो- नेपालले अन्तरीक्षमा पहिलो स्याटेलाइट पठायो । र, प्रधानमन्त्री केपी शर्मा ओलीले आजदेखि नेपाल अन्तरीक्ष युगमा प्रवेश गरेको सगर्व घोषणासमेत गरे ।
अमेरिकाको हारवर्ड विश्वविद्यालयबाट वातावरण विज्ञानमा पीएचडी गरेका उत्तमबाबु श्रेष्ठले नानो स्याटेलाइटलाई परम्परागत स्याटेलाइटकै रुपमा प्रचार गरिनु ‘डुंगालाई पानीजहाज भनेजस्तै’ भएको बताएका छन् ।
नानो स्याटेलाइट अन्तरीक्षमा पठाउने काम विश्वविद्यालयले पनि गर्ने भन्दै श्रेष्ठले यसमा धेरै हल्ला नगर्न सुझावसमेत दिएका छन् ।

श्रेष्ठले टि्वट गर्दै भनेका छन्- ‘नानो स्याटेलाइटलाई परम्परागत रुपमा बुझिने स्याटेलाइट भनेर प्रचार गर्नु डुंगा चलाएको कुरालाई पानीजहाज भनेर प्रचार गर्नुजस्तै हो । यस्ता नानो स्याटेलाइट अहिले विश्वविद्यालयको पनि हुन्छ है ! अल्लि हल्ला कम गर्ने कि ?’ खुशीकाे कुरा नेपालकाे ‘नानाे’ स्याटेलाइट अन्तरिक्षमा लग्न लागिएकाे छ । तर यसलाइ परम्परागत रूपमा बुझिने ‘स्याटेलाइट’ भनेर प्रचार गर्नु ‘डुंगा’ चलाएकाे कुरालाइ ‘पानी जहाज’ भनेर प्रचार गर्नु जस्तै हाे। यस्ता नानाे स्याटेलाइट अहिले विश्वविद्यालयकाे पनि हुन्छ है।अलि हल्ला कम गर्ने कि?
— Uttam Babu Shrestha (@uttambabu) April 17, 2019

एकातिर नेपाल सरकारले स्याटेलाइटमा २० अर्ब रुपैयाँ खर्च गर्ने तयारी गरिरहेको र अर्कोतर्फ नास्टको करिब डेढ करोड लगानीमा पहिलो स्याटेलाइट नेपालले अन्तरीक्षमा पठाएको समाचारले केही भ्रमहरु उत्पन्न गराएको छ ।

आखिर डेढ करोडको लगानीमै नेपाल अन्तरीक्ष युगमा प्रवेश गर्न सक्छ भने फेरि ऋण गरेर २० अर्बको स्याटेलाइट फ्रान्सबाट किन किन्नु पर्‍यो ? आम जनमानसमा यो प्रश्न पनि उब्जाइदिएको छ नानो स्याटेलाइटको प्रक्षेपणले ।

भएको चाहिँ के हो ?

बुधबार राति २ बजेर ३१ मिनेट जाँदा अमेरिकाको भर्जिनियाँबाट नेपाली विद्यार्थीले तयार पारेको स्याटेलाइट नासाको सहयोगमा अन्तरीक्षमा पठाइएको हो । नेपालका साथै श्रीलंका र जापानको पनि दुईवटा नानो स्याटेलाइटहरु अन्तरीक्षमा पठाइएको छ ।
यो नानो स्याटेलाइटले अन्तरीक्षबाट नेपालमा डाटा पठाउने भनिए पनि दुर्भाग्यचाहिँ के छ भने त्यसले पठाउने तथ्यांक रिसिभ गर्नका लागि नेपालमा अहिलेसम्म ग्राउन्ड स्टेसन नै बनेको छैन
नेपालले अन्तरीक्षमा पठाएको यो स्याटेलाइट संयुक्त राष्ट्र संघको फेलोसिपमा जापानको क्युटेक यनिभर्सिटीमा भू-उपग्रह प्रविधि अध्ययन गरिरहेका विद्यार्थीले तयार पारेका हुन् । यसमा पीएचडीका विद्यार्थी आभाष मास्के र स्नातकोत्तरका विद्यार्थी हरिराम श्रेष्ठको योगदान छ । यसका लागि नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानको १ करोड ४२ लाख रुपैयाँ खर्च भएको छ । नेपाल सरकारले यो रकम जापान पठाइसकेको छ ।
यो नानो स्याटेलाइटलाई अमेरिकाको भर्जिनियाबाट यानमार्फत अन्तरीक्षमा पठाइएको हो, जसमा श्रीलंकाको नानो स्याटेलाइट रावण-१ र जापानको युगुईसुसमेत छन् ।

के छ विशेषता ?

नेपालले अन्तरीक्षमा पठाएको नेपालीस्याट-१ नामको यो नानो स्टाटेलाइटको तौल १ किलो ३३ ग्राम मात्र छ । यस्ता नानो स्याटेलाइटहरु बढीमा १० केजी तौलसम्मका हुन्छन् ।
अनलाईन खबरबाट साभार गरिएको
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता