सुनसरीको चतरामा हुने अर्ध महाकुम्भ मेलाको तयारी पुरा

चतरा । सुनसरीको चतरा धाममा आयोजना हुन लागेको एक महिने दोस्रो पिण्डेश्वर अर्ध महाकुम्भ मेलाको तयारी पुरा भएको छ । १ नम्वर प्रदेश सरकारको संयोजनमा आयोजना हुन लागेको महाकुम्भ मेलालाई संघीय सरकारकै प्राथमिकता राखिएको छ ।
कुम्भ मेलाको औपचारिक उद्घाटन चैत्र २३ गते प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुहुनेछ । २२ गते धरानको बिजयपुरमा रहेको पिण्डेश्वर मन्दिरबाट कलस यात्रा प्रारम्भ गरिने छ । कलस यात्रामा प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको उपस्थिति रहने बताइएको छ ।
अर्ध महाकुम्भबारे चतराधाममा बुधबार पत्रकार सम्मेलन गरी तयारी बारे जानकारी गराइएको छ । प्रदेश सरकारका तर्फबाट आन्तरिक मामिला तथा कानून मंत्री हिक्मत कार्कीलाई मेला संयोजकको जिम्मेबारी तोकिएको छ । सम्मेलनमा बोल्दै मन्त्री कार्कीले मेलाको शान्ति सुरक्षा देखिका आवश्यक पर्ने सम्पूर्ण तयारी पुरा भएको भन्दै मेला सफल पार्न प्रदेश सरकार पूर्ण रुपमा लागिपरेको बताउनुभयो ।
कार्यक्रममा प्रथम जगतगुरु बालसन्त मोहनशरण देवाचार्यले महाकुम्भ प्रदेश एकको धार्मिक पर्यटन प्रवद्धनमा मात्रै नभएर मुलुककै लागि गौरवको विषय भएको बताउनुभयो । पत्रकार सम्मेलनमा पूर्व क्षेत्रका सुरक्षा प्रमुख, प्रदेश सरकारका सचिव सहित जनप्रतिनिधी लगायतको उपस्थिति रहेको थियो ।
मेलाको मिति नजिकिएसँगै चतरा धाम क्षेत्रलाई मदिरा रहित क्षेत्र घोषणा गरिएको छ । माछा मासु र मदिरा बिक्रि वितरणमा रोक लगाइएको प्रदेश सरकारले जनाएको छ । मेलाको सुरक्षालाई मध्यनजर गर्दै ५० वटा सीसी क्यामेरा जडान गर्ने देखि आवश्यक मात्रामा सुरक्षाकर्मी परिचालनको बन्दोवस्ती मिलाई सकिएको जनाइएको छ । कुम्भ स्थानका लागि समेत उचित बन्दोवस्ती मिलाइएको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।
चैत्र २३ गतेबाट सुरु हुने अर्ध महाकुम्भ मेला बैशाख २४ गते समापन हुने छ । मेलामा दश लागि बढी भक्तजनको सहभागिता रहने अनुमान गरिएको छ । नेपालमा यसअघि २०७०.०७१ मा बाह्रवर्षे महाकुम्भ मेलाको आयोजना गरिएको थियो । नेपालमा पहिलो पटक भने २०५९ सालमा कुम्भ मेलाको आयोजना गरिएको थियो । त्यसयता अर्ध र पूर्ण महाकुम्भ मेला लगाइदै आईएको छ । न्युज २४ बाट साभार
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता