मृत्यूसँग सँर्घर्षगर्दै इलाम कन्यामका मित्रप्रसाद, सहयोगको अपिल

इलाम, ११ जेठः दुवै मृगौला फेल भएर पीडित सूर्योदय नगरपालिका–६, कन्यामका मित्रप्रसाद चापागाईंले सहयोगको आग्रह गरेका छन् । डेढ महिनायता काठमाडौंको शिक्षण अस्पतालमा उपचाररत ५१ वर्षे चापागाईंले अहिलेसम्म उपचार गर्दा भएभरको जेथो सकिएपछि आफ्नो जीवन बचाइदिन सबैसँग याचना गरेका हुन् । 
पीडितका परिवारजन र आफन्तले आइतबार सदरमुकाममा पत्रकार सम्मेलन आयोजना गरी उपचारमा सहयोग जुटाउने पहल गरिदिन सञ्चारकर्मीसँग आग्रह गरे । पीडितका भतिजा हेमचन्द्रले दुवै मृगौला प्रत्यारोपण गर्न २२ लाख रुपैयाँ खर्च हुने बताए । ‘आर्थिक अवस्था कमजोर भएकाले परिवारले यतिको रकम जुटाउन असम्भव भएर सहयोग गुहार्नुपरेको छ,’ उनले भने, ‘सम्पत्तिका नाममा भएको डेढ रोपनी जमिनसमेत उपचारमै खर्च भइसकेको छ ।’ उनले काका मित्रप्रसादको उपचार गर्दा अहिलेसम्म १० लाख रुपैयाँ खर्च भइसकेको बताए । 
मित्रप्रसादको मृगौला डाइलाइसिस गर्दा सातामा १० हजार रुपैयाँ खर्च भइरहेको छ । ‘सातामा २ पटक डाइलाइसिस गराउनुपर्छ,’ उनले भने, ‘सधैं डाइलाइसिस गरिरहन पनि भएन, भएभरको रकम अहिलेसम्मकै उपचारमा सकिइसक्यो ।’ जतिसक्दो चाँडो मृगौला प्रत्यारोपण गर्न चिकित्सकले सल्लाह दिएको उनले जनाए । मित्रप्रसादको उपचार सहयोगका लागि कन्याम टोल विकास संस्थासमेत जुटेको छ । 
‘हामी टोलबासी नै लागेर उहाँको उपचारमा सहयोग पहल गर्दैछौं,’ संस्था अध्यक्ष लेखनाथ दाहालले पत्रकार सम्मेलनमा भने, ‘मित्रप्रसादको उपचार सहयोग रकम संकलन गर्न ग्लोबल बैंकको फिक्कल शाखामा लेखनाथ दाहाल र हेमचन्द्र चापागाईंको नाममा २७०७०१०००९४५४ नम्बरको खातासमेत खोलिसकेका छौं ।’ अध्यक्ष दाहालले पीडितको आर्थिक अवस्था दयनीय भएकाले उनको जीवन बचाइदिन देश–विदेशका आफन्तजन, इष्टमित्र र सहयोगी दाताले उपचारमा सहयोग जुटाइदिने अपेक्षा गरेको पनि बताए । 
मित्रप्रसाद केही वर्षयत काठमाडौंको एक होटलमा रोजगारी गरिरहेका छन् । आफ्नो रोजगारीले परिवार चलाउन नसकेपछि उनी करिब अढाई वर्ष भारतको दार्जिलिङ गएर त्यहाँ पनि होटलमै काम गरेर बसेका थिए । आफ्नो शरीरमा लामो समयदेखि रक्तचापको समस्या रहेकाले काठमाडौं नै फर्केर शिक्षण अस्पतालमा जाँच गराउँदा दुवै मृगौलाले काम गर्न छाडेको पत्ता लागेको थियो ।


सन्दकपुर अनलाईनबाट 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता