जमुनाको इङ्लामा गुडिया बनाउने तालिम

इलाम, १२ जेठः सन्दकपुर गाउँपालिका ५ इङ्लामा आधारभूत गुडियासम्बन्धी सीप विकास तालिम सञ्चालन भइरहेको छ । एक महिने तालिममा स्थानीय नौ जना महिलाको सहभागिता रहेको छ । गत बैशाख २३ गते शुरु भएको तालिम अनुगमनका क्रममा इलाम जिल्ला समन्वय अधिकारी समेतको टोलीले बिहीबार सहभागीसँग साक्षात्कार गरे । 
सहभागीहरुले अवसर पाएमा व्यवसायिक बन्ने प्रतिवद्धता जनाए । जिल्ला समन्वय अधिकारी हरिबहादुर दाहाल, जिल्ला समन्वय समिति इलामकी महिला सदस्य हिमकला बस्नेत, नेपाल घरेलु तथा साना उद्योग महासंघ इलामका अध्यक्ष दिनेश श्रेष्ठ, जिल्ला लघु उद्यमी संघका अध्यक्ष चेतप्रसाद आचार्य, उद्योग बाणीय संघ इलामका उद्योग उपाध्यक्ष मदन श्रेष्ठ, सन्दकपुर गाउँपालिका वडा पाँचका वडा सदस्य केवल राई लगायतले उद्यमशील महिलाहरूको क्षमता विकासमा दिगोपना दिन तालिम फलदायी हुने विश्वास ब्यक्त गरे । 
घरेलु तथा साना उद्योग विकास समितिका प्रमुख उद्योग अधिकृत सत्यनारायण राईले गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रममार्फत प्याकेजमा तालिम सञ्चालन भइरहेको जानकारी दिए । उनले पहिलो चरणमा घरधुरी सर्भेक्षण, पी आर ए र लक्षित वर्ग अनुसार अभिमुखीकरण गरेर सहभागी छनौट भएको बताए । शुरुमा उद्यमशीलता सम्बन्धी आठ दिने तालिम दिने र स्थानीय क्षेत्रको मागका आधारमा गुडिया सीप विकास सँगै च्याउ खेती र मौरी पालन तालिम पनि सञ्चालन गरिएको जानकारी दिए । 
तालिममा सहभागीहरुले रेडपाण्डा, कुकुर, खरायो जस्ता खेलौना र सोफामा राख्ने म्याटहरु बनाएका छन् ।  घरेलु तथा साना उद्योग विकास समिति इलाम र राष्ट्रिय सामुदायिक विकास समितिको आयोजनामा तलिम सञ्चालन भएको हो ।

  सन्दकपुर अनलाईनबाट साभार गरिएको
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता