कर्मचारीको तलब : कुन तहका कर्मचारीको कति बढ्यो ?

काठमाडौं : सरकारले कर्मचारीहरुको तलब बढाएको छ। आगामी आर्थिक वर्षको बजेटमा सरकारले अधिकृतमाथिको १८ र अधिकृतमुनिको २० प्रतिशतले तलब बढाएको हो ।

कर्मचारी, सुरक्षाकर्मी, शिक्षक, प्राध्यापकको तलब वृद्धि भएको हो । सरकारले तीन वर्षपछि कर्मचारीको तलब वृद्धि गरेको हो । यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्व सरकारको तर्फबाट तत्कालीन अर्थमन्त्री विष्णुप्रसाद पौडेले २०७३ मा कर्मचारीको तलब बढाएका थिए।

सरकारले महङ्गीभत्ता, पोशाक सुविधा र जीवन बीमालाई भने यथावत राखेको छ । यसबाट कर्मचारीको मनोबल उच्च भई पेशागत निष्ठा बलियो हुँदै सार्वजनिक सेवा प्रवाह थप प्रभावकारी हुने अपेक्षा गरिएको मन्त्री खतिवडाले जानकारी गराए।

कर्मचारीको सरुवा पुरस्कार सजाय र वृत्तिविकास र क्षमता अभिवृद्धिलाई कार्यसम्पादनमा आधारित बनाइने बजेटमा उल्लेख गरिएको छ । योगदानमा आधारित निवृत्तिभरण कोष सञ्चालन गर्नका लागि संस्थागत व्यवस्था मिलाइने बताइएको छ । 

कसको कति बढ्यो?

अर्थमन्त्री डा. युवराज खतिवडाले प्रस्तुत गरेको बजेट अनुसार खरिदारको हालको २२ हजार एक सय ७० रुपैयाँमा २० प्रतिशत अर्थात ४४३४ रुपैयाँ थपिएर २६६०४ पुग्ने छ। 

त्यसैगरी खरिदार (अतिरिक्त मान) को हालको २२९७० रुपैयाँमा २० प्रतिशत अर्थात ४५९४ रुपैयाँ थपिएर २७५६४ पुग्ने छ। 

नायव सुब्बाको हालको २३५०० रुपैयाँमा २० प्रतिशत अर्थात ४७०० रुपैयाँ थपिएर २८२०० पुग्ने छ। नायव सुब्बा (अतिरिक्त मान) को हालको २५६८० रुपैयाँमा २० प्रतिशत अर्थात ५१३६ रुपैयाँ थपिएर ३०८१६पुग्ने छ। 

शाखा अधिकृतको हालको ३०५०० रुपैयाँमा १८ प्रतिशत अर्थात ५४९० रुपैयाँ थपिएर ३५९९९ पुग्ने छ। उपसचिवको हालको ३४२२० रुपैयाँमा १८ प्रतिशत अर्थात ६१६० रुपैयाँ थपिएर ४०३८० पुग्ने छ। 

सहसचिवको हालको ४०१५० रुपैयाँमा १८ प्रतिशत अर्थात ७२२७ रुपैयाँ थपिएर ४७३७७ पुग्ने छ। सचिवको हालको ५१४२० रुपैयाँमा १८ प्रतिशत अर्थात ९२५६ रुपैयाँ थपिएर ६०६७६ पुग्ने छ। त्यसैगरी मुख्यसचिवको हालको ५५२०० तलबमा १८ प्रतिशत अर्थात् ९९३६ रुपैयाँ थपिएर ६५१३६ पुग्नेछ। 

कसको कति बढ्यो ? पूरा सूची :

थाहाखबरबाट साभार गरिएको
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता