सहिद स्मारक सी डिभिजन लिगमा छनोट खेलाडीलाई सम्मान

बिर्तामोड, २२ असारः सहिद स्मारक सी डिभिजन लिगमा छनोट भएको झापा फुटबल क्लबका खेलाडीलाई शुक्रबार सम्मान गरिएको छ । एन्फाको दुई साताअघि भएको छनोट प्रतियोगितामा झापा फुटबल क्लब सी डिभिजन लिगमा छनोट भएको थियो । क्लबले बिर्तामोडमा सम्मान कार्यक्रमको आयोजना गरेर  खेलाडीलाई मेडल,सम्मान पत्र र नगदसहित सम्मान गरेको हो  । 
झापा फुटबल क्लबका अध्यक्ष गजेन्द्र्र पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै झापा ११ एफसीका अध्यक्ष जलकुमार गुरुङले फुटबल खेलको विकासमा लागेका नेताको छाती ठूलो हुनुपर्ने र सबैलाई अटाउन सक्नुपर्नेमा जोड दिए । सधैँभन्दा फरकरुपमा प्रस्तुत भएका झापा गोल्डकपका संरक्षकसमेत रहेका गुरुङले खेलप्रेमी सबैलाई मनभित्र अटाउने ठुलो छाती भएको नेता आजको आवश्यकता रहेको बताए । पहिलोपटक काठमाडौँको शहीद स्मारक लिग फुटबल छनौट प्रतियोगितामा सहभागी भएर सी डिभिजनमा उक्लन सफल झापा फुटबल क्लबका खेलाडीलाई शुभकामना दिँदै उनले बाल्यकालमा सुनेको भनाइ यसरी सम्झिए, ‘बाघ भनेको बाघ नै हो, स्याल कहिले बाघ बन्न सक्दैन ।’
झापाका नयाँ खेलाडीले सी डिभिजनमा परेर इतिहास रचेको बताएका उनले काठमाडौँका खेलाडी र क्लबले मात्र डिभिजन लिग खेल्छन् भन्ने दम्भ हटेको उल्लेख गरे । सी डिभिजनमा छनौट हुनु भनेको खेलाडीका लागि पनि अवसर भएको बताउँदै उनले अब झापाली फुटबललाई पनि सिस्टममा लैजाने प्रयास गरिएको पनि उल्लेख गरे ।

सोही कार्यक्रममा उनले झापा गोल्डकपमा सहयोग पुराउने राजकुमार श्रेष्ठ, देवीमाया श्रेष्ठ, चेतप्रसाद सुवेदी, टिकामाया अधिकारी र मुना भट्टराईलाई झापा ११ एफसीको तर्फबाट जनही ५ हजारसहित विशेष सम्मान प्रदान गरे ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता