इलामको रमणिय स्वर्ग झै लाग्ने पर्यटकिय सन्दकपुर कसरी पुग्ने ?

  • सुदिप श्रेष्ठ


हवाईजहाजबाट चन्द्रगढी वा विराटनगर ओर्लिएपछि सोझै गाडीबाट बिर्तामोड पुग्नुहोस् । विर्तामोडको नयाँ बसपार्कमा इलामका लागि गाडी पाइन्छन् भने रिजर्भ गर्नु परेमा मुक्ति चोक आसपास गाडीका ताँती भेटिन्छन् । सार्वजनिक गाडिमा प्रतिव्यक्ति इलामसम्मको लागि रु २५० तिरे पुग्छ भने रिजर्भका लागि अधिकतम ५ हजार । बिर्तामोडबाट ८३ किलोमिटर टाढाको इलाम पु¥याउन गाडीले सरदर तीन घण्टा लगाउँछ । पहिलो दिन इलाम बजारमै बास बस्न सकिन्छ । इलाम बजारमा रु.१७० देखी ४०० सम्ममा मासुभात पाइन्छ भने भेज खाना सय रुपैयाँदेखि २०० सम्म । लजमा प्रतिव्यक्ति रु.२५० देखि ३५०० सम्म पर्छ । इलाममा बास बस्नुपुर्व इलाममा रहेको होटल एसोसिएसनका पदाधिकारीलाई सम्पर्क गर्न सके सहयोग पाउन सकिन्छ । इलाम बजारबाट बिब्ल्याँटे, माइपोखरी हुँदै दोस्रो दिनको यात्रा शुरु हुन्छ । यहाँबाट ल्याण्डरोभरले दुई घण्टामा माइमझुवाको माईखोलासम्म पु¥याउँछ । अथवा माइपोखरीसम्म गाडीमा गएर पैदल हिड्नुको मज्जा छुट्टै हुन्छ । यदि तपाई पैदल हिँड्नुभयो भने माइपोखरी र माइमझुवा बीचमा रहेको टोड्के झरना हेर्न नभुल्नुहोला । बाटोबाट सय मिटर मुन्तिर इलामको सबैभन्दा लामो (८५ मि.) टोड्के झरना भेटिन्छ ।

माइमझुवाबाट सन्दकपुर जाने २ वटा बाटोहरु छन् । एउटा गोरुवालेको बाटो, अर्को कालपोखरी हुदै जाने बाटो । माइमझुवाको ढाँडबारी रातेखोलाबाट सिधै हिडेर उकालिए वा अलि अघि रहेको स्थान खोर्सानेटारबाट उकालिए पनि गोरुवाले पुग्न सकिन्छ । उकालोमा कुनै घर वस्ती नभएकाले खानेकुरा साथै लैजानु उपर्युक्त हुन्छ । गोरुवालेको बाटो जाने हो भने त्यो अलि कष्टपूर्ण हुन्छ तर एडभेण्चरफुल । गोरुवाले पुगेर लामपोखरी हुदै सन्दकपुर पुग्दा बाटोमा पाईने जङ्गली घोडाहरु, चरनमा छाडिएका चौरीहरु दख्ने अवसर प्राप्त हुन्छ ।

बाटोमा घर भेटिँदैनन्, सुस्ताउनका लागि गोठ र बाटोमा भेटिने मनमोहक पोखरीहरु भने प्रशस्त छन् । चौरी र भेडाको लस्कर यात्राका साथी बन्न आइपुग्छन् । एकै सासमा सात घण्टाको उकालो चढ्न सकिँदैन भने, कालपोखरीको बाटो समात्नु उपयुक्त हुन्छ । त्यो बाटो प्रयोग गर्दा बाटोमा घरहरु भने पक्कै भेटिनेछन् । कालपोखरीमा होटल, लज पाइन्छन् । एक रात कालपोखरीमा बास बसेर पनि बाँकी उकालो उक्लिन पनि सकिन्छ या सोझै सन्दकपुरमा बास बस्ने गरि पुग्न सकिन्छ । कालपोखरीबाट डेढ घण्टाको उकालोमा सन्दकपुर पुगिन्छ । बाटो छेउको जङ्गलमा आक्कल झुक्कल दुर्लभ रेडपाण्डा, बँदेल, भालु पनि देख्न पाइन्छ । इलामबाट नै माइमझुवाको साटो माबुको बाटो पनि प्रयोग गर्न सकिन्छ । ल्याण्डरोभर गाडी लिने हो भने कालपोखरी सम्मनै गाडीले तपाईलाई पु¥याउछ । हिड्न सक्नुहुन्न भने कालपोखरी देखि भारतीय बाटो प्रयोग गरेर सन्दकपुर जानुपर्ने हुन्छ । हाल कालपोखरी देखि सन्दकपुरसम्मको नेपालबाट जाने बाटो विग्रिएकोले भारतीय बाटो प्रयोग गर्नुपरेको हो । माबुको बाटो प्रयोग गर्दा बाटोमा ऐतिहासिक गुम्बा, रेडपाण्डा पाइने स्थल दोवाटे लगायतका स्थलहरु देख्न पाइन्छ ।
सन्दकपुरमा नेपालतर्फ दुई वटा होटल छन् । भारतपट्टि भने अलि धेरै छन् तर रेट दुवैतिर बराबर जस्तै छ । त्यहाँको बस्ने खाने दररेट चाही अत्यधिक महँगो छ । यहाँको असली आनन्द भने चौरमा पाल टाँगेर बस्नुमा मानिन्छ । अथवा यहाँ एउटा यात्री भवन पनि छ, जहाँ रु.५ देखि १० मा एक रात सुत्न पाइन्छ । अझ सन्दकपुरदेखि १० मिनेटको यात्रामा आहालगैरी भन्ने ठाउँ छ । त्यहाँ उपलब्ध होटलमा सस्तो मुल्यमा बस्न र खाने सुविधा छ । सन्दकपुर पुगिसकेपछि तपाई गएको बाटो छाडेर अर्कै बाटो घुम्दै फर्किन पनि सक्नुहुन्छ । भारतीय बाटो लिएर फर्किने हो भने इलामकै जोगमाईमा रहेको पर्यटकीय स्थल टङ्लुमा थकाई मार्न सकिन्छ । सिमावर्ती क्षेत्रमा पर्ने जौबारी, तुम्लिङ, मेघ्मा, मानेभञ्ज्याङ लगायतका थुप्रै डाँडाको शिर र भञ्ज्याङ हुँदै अघि बढ्ने यो बाटो पशुपतिनगर निस्किन्छ । सन्दकपुरबाट इलाम बजार फर्कने अर्को बाटो छ छिन्टापुको । २,९४६ मिटर उचाइमा रहेको छिन्तापुबाट पूर्वाञ्चलका सबै १६ जिल्ला देखिन्छन् । छिन्तापु इलामको अर्को चर्चित पर्यटकीय स्थल हो । यहाँबाट माइझुवा हुदै माइपोखरी निस्किएर इलाम बजार झर्न पनि सकिन्छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता