यज्ञोपवीत (जनै) तथा रक्षासूत्र (डोरा) धारण विधि र वैज्ञानिक आधार

येन बद्धो बलिराजा दानबेन्द्रो महावल ।
तेन त्वां प्रतिबध्नामि रक्ष मा चल मा चल ।।”
परिचय
सामान्य अर्थमा सनातन धर्म परम्परा अनुसार मनाइने महत्वपूर्ण चाडहरुमा रक्षाबन्धन र जनैपूर्णिमा एक पर्व हो । ऐतिहासिक महत्व बोकेको यो दिन नदि खोलाहरुमा गई सामूहिक रुपमा स्नान गर्ने ,आफैँले निर्माण गरिएको जनै मन्त्रित गरी फेर्ने र पितृहरुको नाममा तर्पण गर्ने गरिन्छ। सोही दिन नेवार जातिहरुले ९ प्रकारका गेडागुडीको संमिश्रणबाट तयार गरिएको क्वाँटी खाने ख्वाउने प्रचलन रहि आएको छ । धार्मिक आस्थाअनुसार आ—आफ्ना जातिहरुमा विभिन्न तौरतरिकाले यो पर्व मनाउने चलन छ । कसैले यसलाई राखी एवं डोराको रुपमा प्रयोग गर्दै आएका छन् । यस दिन दिदीबहिनीले दाजुभाइहरुलाई आशीर्वाद र शुभकामना दिने अनि मिष्ठान्न भोजन गराउने तथा दक्षिणा साथै आभूषण आदानप्रदान गर्ने गर्दछन् ।

रक्षाबन्धन र यज्ञोपवीत विधि : बाल्यकालमा विधि अनुसार ब्रतवन्ध गरी पुरोहितद्वारा अरुले नसुन्ने गरी कानमा गायत्री मन्त्रको उच्चारण गरेपछि धार्मिक सत्यताको बाटो अपनाउने इच्छाशक्ति लिएर देब्रे काँधमाथि पर्ने गरी दाहिने हातको मुन्तिर पारेर पुरोहितले मन्त्रिएर तयार पारेको जनै ग्रहण गरिन्छ । जनैमा रहने २ वटा शिखाका ६ वटा धागो अथवा डोरा मध्ये एउटा शिखामा रहेको ३ डोरालाई ब्रम्हा,विष्णु र महेश्वर तथा अर्को शिखाको ३ डोरालाई कर्म,उपासना र ज्ञानको योग मानिन्छ । त्यस्तै

“येन बद्धो बलिराजा दानबेन्द्रो महावल ।
तेन त्वां प्रतिबध्नामि रक्ष मा चल मा चल ।।”

अर्थात “जुन रक्षा काँचो धागोले दानवहरुको महान् राजा बलीलाई बाँधिएको थियो म तिमिलाई त्यहि धागोले बाँद्धछु,यो रक्षाबन्धनले तिम्रो सदैव रक्षा गर्नेछ ।” भन्दै कतिपयले गुरुहरुकहाँ या मठमन्दिरमा गएर उत्त मन्त्र उच्चारण गर्दै रक्षा सूत्र बाँध्ने गर्दछन् । त्यसपछि बन्धन गरिएको धागो निकालेर गाईतिहारका दिन गाईलाई माला उनेर लगाइदिने वा पुच्छरमा बेरिदिने चलन चलिआएको छ । हिन्दु परंपराअनुसार यसो गरेमा पुण्य तथा सफलता प्राप्त हुने विश्वास रहि आएको छ।

वैज्ञानिक आधार: यसरी बाँधिएको रक्षा सूत्र तथा धारण गरिएको यज्ञोपवीतले सूर्यबाट प्राप्त हुने उर्जालाई शरीरमा प्रशारण गर्ने तथा सक्रियता दिने,तीक्ष्ण बुद्धि,स्वस्थता,आनन्द इत्यादि प्राप्त हुने विश्वास गरिन्छ ।

निष्कर्ष: सनातन वैदिक परम्परा अनुसारको चाड पर्व हामीले सक्रियताका साथ उपयोग गरेमा आफ्नु धर्मसंस्कृतिको रक्षा हुने र आजको वैज्ञानिक युगमा कुमार्गको बाटोमा नलाग्न उपदेश एवं सन्देश प्रवाह गर्दछ ।

साभार
http://astroekraj.com/archives/299?fbclid=IwAR2NTe72XUZGAoLPlqXYcEHgK181cEZ3I7jILqabHqUhCnGY-o8LYXG5uRU
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता