पानीटारमा भएको थुम्का थुम्कामा चिया बगानमा रमाउँन थाले पर्यटक

  • बिनय तिम्सीना

इलाम, ९ असोज,  थुम्का थुम्का डाँडामा गँलैचा विछ्याझै मौलाएको चियाबगानले भरिएको पानीटार पछिल्लो समय नयाँ पर्यटकीय गन्तव्यका रूपमा विकसित भएको छ । इलामको पर्याय बनेको चियाले कन्याम, अन्तु, इलाम बजार मात्र हैन पानीटारले पनि चियाकै आकर्षणले पर्यटक तान्न थालेको हो ।
देउमाई नगरपालिका–३ मा रहेको रमणीय चियाबारीले जो कोहिको मन छुने गर्दछ । प्राकृतिक सौन्दर्यताले भरिएको यो क्षेत्र प्रसार प्रचारको अभावमा भने अझै पनि पछि परेको छ । इलाम सदरमुकामबाट २५ किलोमिटर पश्चिममा अवस्थित पानीटार चियाबगान साढे चार सय रोपनीमा फैलिएको छ ।
‘अझै पनि पानीटारको विषेशता बारे धेरैलाई थाहा छैन,’ देउमाई–३ का वडाध्यक्ष दावा तामाङले भने, ‘तर पनि आगन्तुक थपिदै गएका छन् ।’ चियाबारीको रमणीयतासँगै दृश्यावलोकन, मन्दिर र खेलमैदानले पनि धेरैको रोजाइमा पानीटार पर्न थालेको हो । झट्ट हेर्दा कन्यामको झल्को दिने पानीटार क्षेत्र वनभोज स्थलका लागि पनि सम्भावना बोकेको स्थान हो ।
हेर्नुहाेस भिडियाे
पर्यटक तान्न सम्भावना बोकेको पानीटारलाई प्रचारमा ल्याउँदै पूर्वाधार विकासमा पनि स्थानीयले मेहनत गर्न थालेका छन् । देउमाई नगरपाालिकाको मंगलबारे भन्दा ३ किलोमिटर टाढाको पानीटार आसपास होमस्टे व्यवस्थापन पनि शुरु भएको छ ।
पानीटारसहित त्यस क्षेत्रका धार्मिक र पर्यटकीय स्थलमा आउने आगन्तुकलाई लक्षित गर्दै मंगलबारेमा व्यवस्थित होटलसमेत खुल्न थालेका छन । ‘सडकको अवस्था सुधार हुँदै गएकाले पनि यस क्षेत्रमा आउनेहरू थपिँदै गएका छन,’ ‘पानीटार, गुफाथुम्की, जटेश्वरधामलगायत क्षेत्रमा आउने आगन्तुकका लागि  ठूलै लगानीमा होटलहरु पनि खुलेका छन् ।
पानीटारका डाँडाकाँडाबाट जिल्लाका विभिन्न स्थानसँगै तराईका फाँटसमेत देख्न सकिन्छ । यस क्षेत्रमा छरिएर रहेका विभिन्न जातजातिको संस्कृतिले पनि यो क्षेत्र महत्त्वपूर्ण छ ।
शान्त वातावरणमा रहेको चियाबगानले मनै प्रफुल्ल भएको र यहाँका मानिसहरुको सहयोगी भावनाले आफुलाई तानेको काठमाण्डौबाट पानीटार घुम्न आएकी अनिता शाह वताउँछीन । उनले भनिन्न इलाम आईपुग्दा र यहाँको मौसमहेर्दा नछोड्नु जस्तो लाग्यो घुमिरहन मन लाग्यो ।
जिल्लामा पर्यटन विकासको लहर चलेसँगै यहाँका बासिन्दा पनि पर्यटक तान्न कस्सिएका छन । पानीटार आसपासका क्षेत्र पनि रमणीय प्राकृतिक सौन्दर्यले सजिएका छन । दक्षिणतर्फ रहेका सिद्धिथुम्काडाँडा, अजम्बरेडाँडा, जितपुरको झ्याउपोखरी, खान्द्रुङ गुफा लगायतका पर्यटकीय क्षेत्र छन् । यस क्षेत्रका सबै पर्यटन केन्द्रलाई एकीकृत रूपमा विकास गर्ने हो भने राम्रो गन्तव्य बन्न सक्छ । पानीटार क्षेत्रमा खानेपानी र शौचालयको व्यवस्थालाई थप गर्नुपर्ने देखिएको छ ।
चियाबारीभित्र ठाउँठाउँमा बस्न र रमाइलोका लागि गोलघरहरू निर्माण गरिएको छ । सदरमुकामबाट नेपालटार हुँदै गाग्रेभञ्ज्याङबाट ओरालो झरेपछि पानीटार पुग्न सकिन्छ । झापाबाट सिद्धिथुम्का, सोयाक, जितपुर हुँदै मंगलबारे पुग्ने सडकले पनि पानीटारको चाम बढ्दै गएको छ ।
मेचीराजमार्गको लामो फेरोको विकल्पमा करिब ५६ किलोमिटरमा झापाको बिर्तामोडबाट सिधै पानीटार पुग्न सकिन्छ । यो सडक पक्की भए पानीटारसँगै यस क्षेत्रका समग्र पर्यटन स्थलमा पर्यटक बढ्नेमा स्थानीय आशावादी देखिन्छन ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता