महराविरूद्ध शाहीले दिइन् लिखित उजुरी, अनुसन्धान अघि बढाउन प्रहरीलाई बाटो खुल्यो

काठमाडौँ, १८ असोज । संसद सचिवालयकी कर्मचारीमाथि यौन दुर्व्यवहार गरेको गम्भीर आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महराविरुद्ध प्रहरीमा लिखित उजुरी दर्ता भएको छ ।
पीडित महिला रोशनी शाहीले नै महराविरुद्ध नयाँ बानेश्वर प्रहरी वृत्तमा जबरजस्ती करणीको प्रयास (उद्योग) गरेको अभियोगमा किटानी जाहेरी/उजुरी दिएकी हुन् । उनी शनिबार श्रीमान चित्रजंगसँगै प्रहरीमा पुगेकी थिइन् ।
यसअघि रोशनी र उनका श्रीमानले अगल–अलग बस्ने भन्दै २८ वर्षे लामाे वैवाहिक सम्बन्ध विच्छेद गर्न सहमत भएकाे सार्वजनिक गरेका थिए । बिहीबार त्रिवि शिक्षण अस्पताल पुगेर राेशनीकाे मेडिकल परीक्षण समेत गरिएको बताइएकाे छ ।
घटना भएको छैटौं दिन शनिबार बानेश्वर प्रहरी वृत्तमा भएको लामो छलफलपछि पीडित महिला शाहीले नै उजुरी दर्ता गराएको स्राेतले बतायाे । गत आइतबार तिनकुने स्थित राेशनीकाे डेरामै गएर मादक पदार्थकाे नशामा महराले जबरजस्ती करणीकाे प्रयासका साथै कुटपिट गरेका थिए । घटना बाहिरएलगत्तै महराले सभामुख पदबाट राजीनामा समेत दिएका थिए ।
प्रहरीले गरेको प्राविधिक अनुसन्धानमा महरा आइतबार रोशनीको कोठामा देखिएको पुष्टि भएको थियो । तर महरा पक्ष र स्वयं पीडित महिलाकै श्रीमानकाे दबावका कारण शाहीले बयान फेरेर मिडियाबाजी गरिन् । उनले महराकाे गल्ती नभएकाे भनेर समेत प्रहरीमा निवेदन दिएकी थिइन्, फेरि आज उनी कसरी महराविरूद्ध जाहेरी दिने मुडमा पुगिन् भन्ने कुराे पनि रहस्यमय छ ।
स्राेतका अनुसार अभियाेग लागेका महरामाथि अनुसन्धान गर्न चौतर्फी दबाव बढेपछि जाहेरीका लागि शाहीलाइ तयार बनाइएकाे हाे । यसअघि शुक्रबार मात्रै गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालसहितलाइ बैठकमा बोलाएर महरामाथि अनुसन्धान गर्न निर्देशन दिएका थिए ।
बैठकमा गृहमन्त्री थापाले प्रहरी अधिकारीहरुसँग महरा प्रकरणबारेको रिपोर्टिङ मागेका थिए । तत्पश्चात कुनै प्रेसर वा डर नमानीकन अनुसन्धान प्रक्रिया अघि बढाउन गृहमन्त्रीले निर्देशन दिएकाे स्राेतकाे भनाइ । अब याे सँगै महरालाइ पक्राउ गरेर अनुसन्धान अघि बढाउने बाटाे खुला भएकाे छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता