मन्टेश्वरीको "मेरो समाजलाई एक दिन" कार्यक्रम सम्पन्न

इलाम, १३ मंसिर ः इलाम सदरमुकामस्थित मन्टेश्वरी माध्यमिक विद्यालयमन विद्यार्थीहरुद्धारा चलाईएको 'मेरो समाजलाई एक दिन' नामक अभियान अन्र्तगत शुक्रबार विभिन्न कार्यक्रमहरु गरि सम्पन्न गरिएको छ । समाजमा रहेका विभिन्न क्षेत्रहरुलाई सहयोग गर्ने यस अभियानमा इलाम नगरपालिका–१० मा रहेको माई भगवती बृद्धाश्रम, त्यस्तै वडा नं. ९ मा रहेको राहसल बाल गृह र पोखरी आधारभूत विद्यालयका दृष्टिविहिन विद्यार्थीलाई सहयोग उपलब्ध गराएको विद्यालयले जनाएको छ । 

सो विद्यालयमा कक्षा ८, ९ र १० मा अध्ययनरत विद्यार्थीहरुले माई भगवती बृद्धाश्रममा आश्रित जेष्ठ नागरिकहरुलाई नगद दश हजार रुपैंयाँ सहित दुइृ बोरा चामल, ८ केजी फलफुल तथा बिस्कुटहरु उपलब्ध गराएका थिए । यता राहसल बाल गृहमा रहेका विद्यार्थीहरुलाई दुई बोरा चामल, ७ केजी फलफुल, बिस्कुट र शैक्षिक सामाग्रीहरु उपलब्ध गराईएको थियो । त्यस्तै पोखरी आधारभूत विद्यालयका दृष्टिविहिन बालबालिकाहरुका लागि सात–सात थान ज्याकेट, उनीका टोपी, मोजा, पञ्जा तथा खाद्य सामाग्रीहरु प्रदान गरिएको थियो । 
विद्यार्थीहरुद्धारा सामाग्री वितरणसँगै बृद्धाश्रमका जेष्ठ नागरिक तथा बाल गृहका बालबालिकाहरुसँग साँस्कृतिक कार्यक्रम तथा विभिन्न खेलहरु समेत खेलाईएको थियो । यता दृष्टिविहिन बालबालिकाहरुसँग अन्तरक्रिया तथा सांगितिक कार्यक्रम गरिएको थियो । विजेताहरुलाई सो विद्यालयकी प्रिन्सिपल नुनुमा राईले पुरस्कार समेत वितरण गरेकी थिईन । मन्टेश्वरीका विद्यार्थीहरूले आफ्नो १० दिनको खाजा खर्च कटाएर संकलित रकममा विद्यालयको तर्फबाट केही रकम थप सहयोग गरेर विविध समाग्री एवम नगद प्रदान गरिएको विद्यालयका कोअर्डिनेटर संजिव राईले जानकारी दिएका छन् । कार्यक्रममा विद्यालयका विनु क्षेत्री, सुविन परियार, जुली राई, छवि भट्टराई, अभिषेक राई लगायतको सहभागिता रहेको थियो ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता