चुरे दोहनको असर खेप्दै झापाका स्थानीय तहहरु, बस्ती जोगाउनै मुश्किल

झापा, ५ मंसिर । झापाको उत्तरी क्षेत्र भौगोलिक अवस्थितिका कारण समय समयमा बिभिन्न किसिमका प्राकृतिक प्रकोपको सामना गर्दै आउनुपर्ने स्थिति छ ।
विशेष गरी चुरेभावर क्षेत्र पर्ने भएकाले बाढी, पहिरो, भूक्षयजस्ता प्राकृतिक प्रकोपहरुले यहाँ बर्षेनी धनजनको क्षति गर्दै आएको छ । जसका कारण स्थानीय तहहरुको ठूलो लगानी चुरेक्षेत्रको समस्या समाधान र प्रवद्र्धनमा हुँदै आएको छ ।
चुरे दोहनकै कारण बस्ती नै पहिरो र भू–क्षयको जोखिममा परेपछि स्थानीय तहले जोखिमयुक्त मानव बस्ती स्थानान्तरण गर्नुपर्ने सम्मको स्थिति सिर्जना भएको छ ।

खेती योग्य जमिन तथा मानव बस्तीहरु समस्यामा पर्दै
झापाको अर्जुनधारा नगरपालिकाको वडा नम्बर १,२,३ र ४ प्राकृतिक रुपमा अत्यन्तै संबेदनशील रहेको चुरे तथा भावर क्षेत्रमा अवस्थित छ ।
जसका कारण यस क्षेत्रमा बर्षै पिच्छे बाढी, पहिरो, भूक्षय जस्ता प्राकृतिक बिपत्तिले पिरोल्दै आएको छ । इलामको दक्षिणी चुरे क्षेत्र हुँदै उत्तरबाट दक्षिण यस नगरको भावर क्षेत्रमा बग्ने गरेका केहि ठूला खोला तथा दर्जनौँ खहरेका कारण नगरभित्रका खेती योग्य जमिन तथा मानव बस्तीहरु समस्यामा पर्दै आएका छन् ।
टाङटिङ, बिरिङ, ठूला नेते, सानो नेते, सुखानी लगायतका सानाठूला गरी दर्जनको हराहारीमा खोला र सोल्सा उत्तरबाट दक्षिण बगेका छन् । स्थानीय बिरिङ, टाङटिङ, ठूलो नेते खोलाको कटानका कारण आसपासका बस्ती र खेतीयोग्य जमिन नै जोखिममा पर्ने गरेको छ ।
‘बिन्धुली बाँध फुट्दा पनि घरै छोड्नु प¥यो’ अर्जुनधारा–१, मदनपुरकी सुन्दरमाया तामाङले भनिन्, ‘अहिले पनि खोलो कतिबेला पस्छ भन्ने चिन्ता लागिरहन्छ ।’

मानव वस्ती नै भासिन थालेपछि वस्ती नै स्थानान्तरण
बढ्दो चुरे दोहनको असर अर्जुनधारा नगरपालिको बिभिन्न मानव बस्तीमा देखिने गरेको छ । कुनैबेला खेतीबारी सहित करिब १० घर भएको अर्जुनधारा वडानम्बर १ को विरान अहिले पहिरोबाट प्रभावित छ जसलाई पेरुङ्गे पहिरो भन्ने गरिएको छ ।
२०७१ सालबाट निरन्तर मानव बस्ती नै भासिन थालेपछि बस्ती स्थानान्तरण गरिएको हो । करिव १० घरधुरी रहेको यो गाउँका सबै घरहरु चर्किने, भासिने र लड्ने भएपछि बस्न नसकिएको स्थानीयले बताएका छन् । पुस्तौदेखि बस्दै आएको घर जोगाउन स्थानीयले बाँध समेत बाँधेपनि जमिन भासिन क्रम भने नरोकिएको स्थानीय बिर्खबहादुर कार्कीले बताए ।
बस्ती जोखिममा परेपछि हालै नगरपालिकाले १० लाख रुपैयाँ लगानी गरेर नौ कठ्ठा जग्गा खरिद गरी बस्ती स्थानान्तरण गरेको छ । नगरपालिकाको चुरे क्षेत्रमा रहेको जोखिमयुक्त बस्तीलाई एकीकृत गर्ने लक्ष्य समेत लिएको छ ।
झापाकै दुःख : बिरिङ्ग खोला

इलामबाट अर्जुनधारा वडा नम्बर १ हुँदै बग्ने बिरिङ्ग खोलालाई झापाकै दुःखको रुपमा हेर्ने गरिएको छ । माटे, साधुटार, टप्पु, सिस्ने, मदनपुर, शनिश्चरे, भाङबारी, रातेखाल लगायत क्षेत्रका बासिन्दा हरेक बर्षाको समयमा सास्ती व्यर्होन बाध्य छन् ।
बिरिङ खोला र यसका शाखा खहरेहरुका कारण हरेक बर्खायाममा नदीको दुई तर्फको किनारा कटान गर्दै आएको छ । यसका कारण नदी वारिपारि रहेका स्थानमा ठूला साना दर्जनौ पहिरो जाने गर्दछ । ठुलो नेते र सानो नेतेको कटान र बाढीको बिझाई पनि १ नम्बर वडावासीको लागि कम छैन ।
ठूलो नेतेमा मिसिने काभे, माटे, पुछारे, ठूलो, बरफल्याङ, पेरुङ्गे, कुशुमे, बाघे खोल्सीका फर्सीवारी, बिरान, खैरेनी, लट्टे खर्क क्षेत्रका बासिन्दाको चैन खोसेको छ । वडा नम्बर २ हँुदै बग्ने टाङटिङ खोलाले हरेक वर्षजसो खेतीयोग्य जमिन कटान गर्दै आएको छ ।
उक्त कटानका कारण झापाको बिभिन्न ग्रामीण बस्तीहरु तथा खेतीयोग्य जमिन बाढीको चपेटामा पर्दै आएको अर्जुनधारा–१ का वडासदस्य माधवप्रसाद आचार्यले बताउनु भयो ।
टाङटिङ नदीले राते गाउँ, गाँजाबारी, दुधे, लाप्चेटार, सहकाले, बारमुरे, खुदुनावारी, सातकटेरीलगायत अन्य बस्ती जोखिममा पार्दै आएको छ । गोयाङ, राते र काली खोलाको सास्ती पनि २ नम्बर वडावासीको लागि कम भने छैन ।
त्यस्तै, वडा नम्बर ३ को सुखानी र पगला खोलाले डाकवाला गाउँ, कुम्भीटार जुकेखाडी, बुढी सुखानी क्षेत्रमा प्राकृतिक बितण्डा मच्चाउँदै आएको छ । यसैगरी अर्जुनधारा नगरपालिकाको वडानम्बर ४ हुँदै बग्ने दहीझोडा र विरिङ खोलाका कारण दहीझोडा र राते खाल क्षेत्र जोखिममा पर्ने गरेको दहीझोडाका सोमनाथ कुईकेलले बताउनुभयो ।

राष्ट्रपति चुरे संरक्षण कार्यक्रमप्रति सबै आशावादी

नगरपालिकाले राष्ट्रपति चुरे संरक्षण कार्यक्रम अन्र्तगत बस्ती जोगाउन नेते खोला किनारमा बाँध निर्माण कार्य समेत गरीरहेको छ । यस नगरपालिका भएर बग्ने बिरिङ्ग र टाङटिङ खोला राष्ट्रपति चुरे संरक्षण कार्यक्रम अन्तरगत बिरिङ नदी प्रणालीमा आएको बजेटले प्रकोपित क्षेत्र संरक्षणका काम भईरहेको छ ।
आर्थिक वर्ष २०७५/०७६ मा बिरिङ्ग नदी प्रणालीलाई ५ करोड रुपैयाँ रकम बिनियोजन भई टाङटिङ्ग, पगला, सुखानी र बिरिङ्ग खोलामा तटबन्धनको काम सम्पन्न भई सकेको छ । आर्थिक बर्ष २०७६/०७७ मा पनि बिरिङ नदी प्रणलीलाई ५ करोड रुपैयाँ बजेट बिनियोजन भई नगरपालिकाद्वारा कामलाई निरन्तरता दिइरहेको छ ।
नगरपालिकाले नगरक्षेत्रमा पर्ने नदीनालाबाट निस्कने नदीजन्य पदार्थ निकासी ठेक्काबाट उठेको रकमको १४ प्रतिशत रकम स्थानीय क्षेत्रको संरक्षण, सम्बद्र्धनमा लगानी गर्दै आएको अर्जुनधारा नगरपालिकाका प्रमुख हरिकुमार रानाले बताउनुभयो ।
चुरेक्षेत्रमा देखिएको समस्या समाधान गर्न र चुरे क्षेत्र जोगाउनका लागि सरकारले समेत राष्ट्रपति चुरे संरक्षण कार्यक्रम तर्जुमा गरी लागु गर्दै आएको छ । यो कार्यक्रमले अर्जुनधारा नगरका प्रभावित स्थान र बासिन्दालाई थोरै भएपनि राहत मिलेपनि पर्याप्त भने छैन ।
मानववस्तीसँग सँगै वन, खोलानाला, खनिज, प्राकृतिक, स्रोतसाधन, पानीको मुल र जंगली जनावरले भरिपूर्ण अर्जुनधारा नगरपालिका प्रभावित चुरेभावर क्षेत्र बचाउन खोलामा बाँधबाध्ने कार्यलाई निरन्तरता दिनुका साथ समस्याको उत्गमस्थलमै चुरे संरक्षण कार्यक्रम अन्तरगतका कार्यक्रम संचालनमा ल्याउन सके झापाको अर्जुनधारा नगरपालिका मात्रै नभएर सिमावर्ती इलामको रोङ गाउँपालिका र झापाका विभिन्न स्थानमा बर्षेनी आउने प्राकृतिक बिपत्तिको रोकथाम हुने देखिन्छ । जसले गर्दा सरकारको राष्ट्रपति चुरे संरक्षण कार्यक्रमलाई समेत सार्थक तुल्याउने देखिन्छ ।
न्युज२४ बाट साभार गरीएकाे
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता