२९ औं एड्स दिवस विशेषः एड्स के हो ? एड्सबाट कसरी बच्ने

आज डिसेम्बर १ तारिख सन् १९८८ देखी यसै दिन विभिन्न नाराका साथ विश्व भरि एचआईभी एड्सको सचेतताका लागी एड्स दिवस मनाइने गरिन्छ, यो वर्षपनि "Communities makes the difference" भन्ने नाराका साथ २९ औं एड्स दिवस मनाइँदै छ। 
 सन् २००८ मा पुराना संग्रहमा राखिएका रगतको नमुना परिक्षणगर्ने क्रममा सन् १९५९ मा कंगोको किनसासा (तत्कालीन बेल्जिअन कंगो) बाट परिक्षणका लागी लिएको बटु भन्ने जनजातीका एक व्यक्तिको रगतको नमुनामा यो रोग पहिलो पटक देखिएको भनेर भएको पत्ता लागेको हो। उक्त व्यक्तिको रोग तथ्यांकमा आउनु अघि नै पनि सन् १९२० मा कंगोको किंशासाबाट यो रोग सुरु भैसकेको थियो भन्ने तथ्य वैज्ञानिकहरुले पेश गरेका छन् ।
सन् १९८०-८१ को आसपासमा डाक्टरहरुले यस रोगका  नैदानिक लक्षणहरुको (clinical symptoms) का बारेमा थाहा पाए। अमेरिकी समलिङ्गी पुरुषमा देखिएको यो रोग १९८२ अघि  सम्म समलिङ्गीलाई मात्र लाग्ने भन्ने थियो तर १९८२ मा लागुऔषध हिरोईन प्रयोग गर्ने र रगतको रोग (Hemophiliacs) लाई पनि यो रोगका लक्षण भएको पाइयो। त्यसै वर्षको सेप्टेम्बर महिनामा रोगलाई एड्स नामाकरण गरियो ।
लगत्तै सन् १९८३ मा वैज्ञानिकहरुले एड्स लगाउने भाइरस पत्ता लगाए जसलाई तत्काल Human T-cell lymphotropic virus type III HTLV-III भनिएतापनि पछि गएर यसलाई HIV (एचआईभी) भन्न थालियो । 

कहाँबाट आयो एचआईभी (HIV) भाइरस? 
एचआईभी एक प्रकारको Lenti Virus हो र यसले मानिसको रोग प्रतिरोधात्मक क्षमता (Immune System) मा क्षति गर्छ र उस्तै रूपमा केहि प्रजातीका बाँदर र चिम्पाञ्जीहरुमा पाइने Simian Immuno Deficiency Virus (SIV) ले पनि तिनको रोग प्रतिरोधात्मक क्षमतामा आक्रमण गर्ने गर्छ। यी दुई एचआईभी (HIV) र एसआईभी (SIV) भाइरसको मिल्दो जुल्दो प्रकृतिका कारण वैज्ञानिकहरुले एचआईभी (HIV) चिम्पाञ्जीबाटै आएको भनेका छन् । 
यसो हो भने कसरी आयो होला त चिम्पाञ्जीबाट मानिसमा?  चिम्पाञ्जी र बाँदरको  शिकारलाई  अहिलेसम्म सबैभन्दा जायज सिद्धान्त मानिएको छ। चिम्पाञ्जीको मासुखाँदा र मार्दा त्यसको रगत मानिसको शरीरमा भएका चोट र घाउमा सम्पर्कमा आउन गइ यो रोग सुरु भएको भनिन्छ। अध्ययन अनुसार सन् १९२० को आसपासमा एड्स पहिलो पटक एसआईभी (SIV) बाट एचआईभी (HIV) भएको भनिन्छ।
अफ्रिकाका विभिन्न देशहरूबाट सुरु भएको रोग पर्यटक र अन्य माध्यमबाट अमेरिकी देश सँग सँगै अन्य देशमा फैलिएर गयो। नेपालमा भने सन् १९८१ मा अमेरिकाको क्यालिफोर्नियामा केही समलिङ्गी पुरुषहरुको एड्सले मृत्यु भएको ७ वर्ष पछि अर्थात् १९८८ मा भेटिएको हो। 

के हो एचआईभी (HIV) र एड्सको शाब्दिक अर्थ? 
एचआईभीको अर्थ हुन्छ अङ्ग्रेजीमा Human Immuno Deficiency Virus अर्थात् मानव रोग प्रतिरोधात्मक क्षमताको कमि गराउने जिवाणु। त्यस्तै एड्स (AIDS= Acquired Immuno Deficiency Syndrome) मा Acquired भन्नाले स्वास्थ्य  व्यक्तिले अरु जुनसुकै बिमार भएका ब्यक्तिसँग बिमारी प्राप्त गर्ने Immunodeficiency भन्नाले कमजोर रोग प्रतिरोधात्मक क्षमता वा कमजोर प्रतिरक्षा प्रणाली र syndrome भन्नले रोगका असर र लक्षण देखिने अवस्था भन्ने बुझिन्छ ।
एच आई भी (Human Immunodeficiency Virus/ HIV) ले  रोग प्रतिरक्षा प्रणाली अन्तर्गतको टी’ लिम्फोसाइट सीडी–४ (T-Lymphocyte) सेतो रक्तकोषको संरचनामा आक्रमण गर्दछ,  सीडि फोर (CD 4) कोषिकाहरु मार्दै बिस्तारै उक्त भाइरस अन्य कोषहरूमा सर्दछन् । यो अवस्थालाई एचआईभी भएको अवस्था भनिन्छ।

यसरी शरीरको रोग प्रतिरक्षा प्रणाली ध्वस्त हुँदै जाँदा सीडि फोर (CD4)  कोषहरुको संख्या २०० भन्दा कम हुन्छ र व्यक्तिमा विभिन्न खालका संक्रमणहरुको लक्षण देखा पर्न थाल्छन् त्यस अवस्थालाई एड्स (Acquired Immunodeficiency Syndrome/ AIDS) भनिन्छ। 
सहि औषधीको प्रयोग र नियमित जाँचबाट एचआईभी संक्रमण भएको व्यक्ति पनि वर्षौं एड्स नभई बाँच्न सक्छन्।  एचआइभी संक्रमण भएपछि एड्सको अवस्थामा पुग्न शरीरको प्रतिरक्षा प्रणाली अनुसार २ देखि १५ वर्षसम्म लाग्ने गर्दछ। संक्रमित व्यक्तिहरुले स्वस्थ जीवनशैली अपनाएको खण्डमा कुनै ठुलो औषधि उपचार बिना पनि करिव १०-१५ वर्षसम्म बाँच्न सक्दछन् । 
जब एड्स हुन्छ तब तलका लक्षणहरु देखिन्छन् :-
-ज्वरो आउनुपखाला लाग्नु,
-रुघाखोकी लाग्नु,
-वजन घट्नु,
-कुपोषणका लक्षणहरू देखिनु,
-छालामा विभिन्न समस्या आउनु,
-मुख तथा घाँटीमा काई (सेतो) आउनु,
-दाँत वा गिजाका समस्याहरू,
-खोकी वा स्वास फेर्न गाह्रो हुनु,
-चाँडै थकाइ लाग्नु वा कमजोरी हुनु,
रुघाखोकी, झाडापखाला सामान्य रूपमा औषधि सेवनका बाबजुदपनि निको नहुनु।
कसरी संक्रमण हुन्छ त ? 
-एचआईभी संक्रमितसँगको असुरक्षित यौन सम्पर्कबाट 
-एचआइभी संक्रमित रगत वा रगतबाट बनेका पदार्थ तथा अंगहरु लिँदा 
-सुई तथा सिरिन्जको साझा प्रयोगबाट 
-संक्रमित आमाबाट जन्मेको बच्चामा 
एड्सको रोगथाम के त? 
आजको दिनसम्म एड्सलाई पूर्णरुपमा निको पार्ने कुनै औषधीको विकास भएको छैन। अहिले भएका औषधीहरु(Anti Retroviral Therapy/ ART) ले शरीरमा एचआईभीको भाइरसको संख्यालाई नियन्त्रणमा राखी शरीरको रोग प्रतिरोधात्मक क्षमतालाई सामान्य राख्न र एड्सको अवस्थामा पुग्नबाट बचाउने काम गर्छन्। आफ्नो चिकित्सकसँग सल्लाह गरी रगतको जाँच गरी कुन अवस्थामा औषधी शुरु गर्न सकिन्छ, आफ्नो शरीरमा भाइरसको मात्रा कति छ (Viral Load), रोग प्रतिरोधात्मक कोषहरुको संख्या कति छ (CD4 count) भनेर थाहा पाउन सकिन्छ।
एड्सबाट कसरी बच्ने?
-एकमात्र यौन साथी बनाउने, श्रीमान् र श्रीमती बीच मात्र यौन सम्पर्क राख्ने,
-सुरक्षित यौन व्यवहार अपनाउने सधैँ सही तरिकाले कन्डमको प्रयोग गरी यौनसम्पर्क राख्ने,
-सुई तथा छाला छेड्ने औजार नयाँ मात्र प्रयोग गर्ने वा निर्मलीकरण गरेर प्रयोग गर्ने,
-एचआइभी संक्रमित महिला गर्भवती नहुने वा 
भएको थाहा पाउन साथ तुरुन्त डाक्टरसँग सल्लाह लिने (स्मरण रहोस् गर्भमा रहेको बच्चालाई एड्सबाट बचाउन सक्ने अवस्था पनि रहन्छ),
-यौनरोगको लक्षण देखापरेमा तुरुन्त उपचार गर्ने, आफ्नो यौन साथीलाई पनि उपचार गराउने
-अंग प्रत्यारोपण गर्नुपरेमा सम्बन्धित व्यक्तिलाई संक्रमण भए/नभएको कुरामा विशेष ध्यान पुर्‍याउने
-रगत दिँदा सो रगत संक्रमण भए/नभएको पक्का गर्ने

(साधारणतया रगत लिँदादिँदा पनि यो रोग सर्दैन किनकी त्यस्तो बेला एचआईभी लगायत हेपाटाइटिस बी जस्ता सर्नसक्ने रोगहरुको परिक्षण गरिएको हुन्छ। तर असुरक्षित यौनसम्पर्क, एउटै सई प्रयोग गरेमा, राम्ररी सफा नगरिएको सामानले टाटु गरेमा यो रोग सर्न सक्छ।)

एड्स यसरी सर्दैन?
-साधारण सम्पर्क जस्तै अँगालो मार्ने गर्दा,
-एउटै भाँडामा खाना खाँदा वा जुठो खाने गर्नाले,
-हाछ्यूँ गर्दा, खोक्दा,
-एउटै चर्पी प्रयोग गर्दा,
-एउटै लुगाफाटो प्रयोग गर्दा(एउटै रुमालको प्रयोग गर्दा),
-चुम्बन गर्दा,
-सँगै पौडी खेल्दा,
-बिरामीको स्याहार-सुसार गर्दा,
-परिवारमा सँगै बस्दा,
-लामखुट्टेले टोकेर यो रोग सर्दैन।
सहि औषधीको प्रयोग र नियमित जाँचबाट एचआईभी संक्रमण भएको व्यक्ति पनि वर्षौं एड्स नभई बाँच्न सक्छन्। सहि औषधिको प्रयोग गर्नेहरु ७० वर्ष सम्म बाँचेको अध्ययनले देखाउँछ। रोगको पहिचान र उपचारमा सतर्क होउँ। एउटै लक्षण हुने सयौं रोग हुन्छन् त्यसको पहिचान गर्न नै मेडिकल साइन्सको विकास भएको हो र चिकित्सक त्यस विज्ञान कै हिमायती हुन् ।
डा. रामकृष्ण आचार्य, सूर्योदय, इलाम
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता