आज तमुल्होसार : राष्ट्रपतिद्वारा शुभकामना, गण्डकी प्रदेशमा सार्वजनिक बिदा

काठमाडाैँ, १५ पुष । गुरुङ समुदायले नयाँ वर्षलाई स्वागत गर्दै आज (मंगलबार) तमुल्होसार पर्व मनाउँदैछन् ।
‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘ल्होसार’ भनिएको हो । अर्थात् याे उनीहरूकाे नयाँ वर्षका रूपमा मनाइने माैलिक पर्व हाे ।
यो पर्व सूर्यको किरणसँग पनि सम्बन्धित छ । गुरुङ बाहुल्य रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायत जिल्लामा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ गते यो पर्व मनाउने गरिएको विश्वास गरिन्छ । यसपछि क्रमशः तामाङ र शेर्पा जातिको बसोबास भएको क्षेत्रमा सूर्यको ताप आउने भएकाले माघ र फागुनमा तामाङ र शेर्पा समुदायले यो पर्व मनाउने गरेका छन् ।
यसैबीच, तमु ल्होसारको अवसरमा गण्डकी प्रदेशले मंगलबार सार्वजनिक बिदा दिएको छ ।

राष्ट्रपतिद्वारा शुभकामना

गुरुङ समुदायको महान पर्व ‘तमूल्होसार’का अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुभकामना दिनुभएकाे छ । उहाँद्वारा जारी शुभकामना सन्देशमा भनिएकाे छ, ‘स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली गुरुङ दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि तथा उत्तरोत्तर प्रगतिका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।’
नेपालमा मनाइने विभिन्‍न चाडपर्वहरूले स्वदेश तथा विदेशमा समेत विशिष्ट सांस्कृतिक पहिचान स्थापित गरेकाे बताउँदै राष्ट्रपति भण्डारीले मुलुकको सांस्कृतिक सम्पदा संरक्षण तथा संवर्द्धन गर्दै सांस्कृतिक पर्यटन प्रवर्द्धन गर्नसमेत गुरुङ समुदायले निर्वाह गरेको भूमिका प्रशंसनीय रहेकाे बताउनुभएकाे छ ।
‘गुरुङ संस्कृति बहु‐भाषिक, बहु‐धार्मिक र बहु‐सांस्कृतिक राष्ट्रको रूपमा रहेको हाम्रो मुलुकको राष्ट्रिय सांस्कृतिको एक महत्वपूर्ण अङ्गको रुपमा रहेको छ,’ शुभकामना सन्देशमा भनिएकाे छ, ‘तमूल्होसार जस्ता राष्ट्रिय पर्वहरूले सबै नेपालीबीच वन्धुत्व, आपसी प्रेम र एकताको भावना बढाउन मद्दत गरेका छन् ।’
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता