नेपालमा पनि देखियो कोरोना भाइरस, चीनबाट फर्किएका एकजना संक्रमित

चीनबाट फर्किएका एक नेपालीमा कोरोना भाइरस देखिएको छ । स्वास्थ्य मन्त्रालयले शुक्रबार पत्रकार सम्मेलन गरी एक नेपालीमा पनि कोरोना भाइरस फेला परेको जानकारी दिएको हो । चीनको उहान सहरबाट हालसालै नेपाल फर्किएका एक विद्यार्थीमा यो भाइरस देखिएको हो । उनको उपचारसमेत भइसकेको छ। बिहीबार उनको रिपोर्ट सार्वजिन भएको मन्त्रालयले जनाएको छ ।  उनी १३ जनवरीमा उपचारका लागि आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 
जनवरी ९ मा नेपाल आएका ती विद्यार्थीमा रुघाखोकीको समस्या देखिएको थियो  । स्वास्थ्य मन्त्रालयका अनुसार उनी जनवरी १३ मा उपचार गर्न अस्पताल पुगेका थिए ।
उनको रिपोर्ट यहाँ चेक गर्दा राम्रै देखिएको भए पनि थप शंका लागेर हङकङ पठाइएको थियो ।बिहीबार हङकङबाट आएको रिपोर्टमा कोरोना भाइरस देखिएको पुष्टि भएको थियो ।  
स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले दिएको जानकारीअनुसार उनी अहिले ठीक भइसकेका छन् ।पहिलो पटक चीनको वुहान प्रान्तमा फेला परेको कोरोना भाइरसबाट २६ जनाको मृत्यु भइसकेको छ । यसबाट वुहान प्रान्तमा करिब एकहजार संक्रमित रहेको चिनियाँ सञ्‍चारमाध्यमहरुले जनाएका छन् । 
यो भाइरस दक्षिण कोरिया, थाइल्याण्ड, जापान, अमेरिका र ताइवानमा पनि कोरोना भाइरसका संक्रमित फेला परेका हुन् । 
त्यहाँ वुहान प्रान्तमा आवातजावतमा पनि प्रतिबन्ध लगाइएको छ । चीन सरकारले कोरोना भाइरस संक्रमितको उपचारका लागि छुट्टै अस्पताल बनाइरहेको छ । चीनसँग सिमाना जोडिएको नेपालमा पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चीनबाट आएका नागरिकको स्वास्थ्य परीक्षण गर्ने हेल्प डेस्क राखिएको स्वास्थ्यमन्त्रालयले जनाएको छ । 

प्रतिकृया दिनुहोस्

About sanjita

माइपोखरी न्यूज डटकम सम्बाददाता