प्रदेश- ३ को नाम बागमती र राजधानी हेटौंडा नै हुने, नेकपाका सांसदलाई 'ह्वीप'

हेटाैँडा, २५ पुष । प्रदेश ३ को नाम ‘बागमती प्रदेश’ र राजधानी हेटौंडा नै राख्ने नेकपा संसदीय दलको बैठकले निर्णय गरेकाे छ ।
हेटौंडामा बसेको नेकपा प्रदेश ३ संसदीय दलको बैठकले प्रदेश सभामा प्रदेश नामांकन र राजधानीबारे साेही प्रस्ताव मात्र लैजाने निर्णय गरेकाे हाे । बैठकले आफ्ना सबै सांसदहरुलाई राजधानी हेटौँडा र नाम बागमतीको पक्षमा उभिन बहुमतले ह्वीप नै जारी गरेको छ ।
यसअघि राजधानी हेटौँडा नै राख्नुपर्ने पक्षमा भन्दा विपक्षमा नेकपाकै धेरै सांसदहरु उभिएपछि संसदीय दलकाे बैठकले संसदमा साे प्रस्ताव लैजाने र मतदानका क्रममा अनिवार्य रूपमा प्रस्तावकाे पक्षमा उभिन निर्देशन दिएको हाे ।
संविधानको धारा- २ सय ८८ अनुसार राजधानी र नामाकरणमा प्रदेश सभाका जम्मा सदस्यमध्ये २ तिहाईले गरे अनुसार हुने व्यवस्था छ । प्रदेश ३ मा १ सय १० जना सदस्यमध्ये ८० जना सत्तारुढ दलका रहेका छन् भने ७४ मत भए दुईतिहाई पुग्ने अवस्था छ ।
नेकपाका अनुसार भोलि प्रदेश सभामा समेत एउटै नाम र हेटौंडा राजधानीका रुपमा प्रस्ताव दर्ता गर्ने तयारीमा रहेको बुझिएको छ । सत्तारुढ दल नेकपाको केन्द्रीय सचिवालयले केही दिनअघि नाम बागमती र राजधानी हेटौंडा राख्न प्रदेश राख्न सुझाव दिएको थियो ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता