पैसा तिरेर तुइन तर्न बाध्य छन् हुम्लाका स्थानीय !

हुम्ला, ०१ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले वि.सं.२०७२ साल असोज २५ गते पहिलो पटक प्रधानमन्त्री बन्दा गरेको पहिलो निर्णय नै नेपालमा तुइन विस्थापित गर्ने थियो ।
उनले दुई वर्षपछि अर्थात् २०७४ असोज मसान्तसम्ममा सबै तुइनहरु विस्थापित गरेर झोलुङ्गे पुल निर्माण गर्ने प्रतिबद्धता जनाएका थिए । उनले पटक–पटक जनतासामु सो प्रतिबद्धता दोहो¥याएका पनि थिए ।
प्रधानमन्त्री ओलीले अहिले पनि आफ्नो पहिलो कार्यकालको सफलताबारे बोल्दा नेपालका सबै तुइनहरु विस्थापित भइसकेको दाबी गर्दै आएका छन् ।
प्रधानमन्त्री ओलीले आफ्नो भाषणमा तुइन विस्तापित भइसकेको भनेको कुरा सुन्नु भएकै होला । तर, यता हुम्लाको खार्पुनाथ गाउँपालिकामा भने आफ्नो ज्यानको बाजी लगाएर तुइन तर्न बाध्य छन् स्थानीय ।
यति मात्र होइन, यहाँका स्थानीयले घाँस दाउरा समेत सोही तुइनमा झुण्ड्यार नै वारपार गराउदै आएका छन् । स्थानीयहरुका लागि यो तुइन यति आवश्यक छ कि जोखिमपूर्ण तुइनबाट आवत÷गर्नका लागि पैसा तिर्नुपर्ने हुन्छ ।
एक पटक तुइन तरेको प्रतिव्यक्ति १०० रुपैयाँ तिर्नुपर्छ । त्यस्तै सामग्री तारेबपत ५० रुपैयाँ तिर्नुपर्छ । पूरानो र धराप परेको तुइन कतिबेला चुँडिने हो र नदीमा खस्ने हो भर छैन ।
खार्पुनाथका अधिकांश वडाका बासिन्दाले गाउँपालिकाको केन्द्र याङ्चु पुग्न तुइन तर्नुको विकल्प छैन । खार्पुनाथबाट सदरमुकाम सिमकोट निकै टाढा पर्छ ।
त्यसैले दैनिक उपभोग्य सामग्री तथा खाद्यान्न जुम्ला र बाजुराबाट ल्याउने गरिन्छ । सिमकोट जाने बाटो झनै अप्ठ्यारो भएकाले जोखिम मोलेरै भएपनि तुइनबाटै सामग्री वारपार गराउन स्थानीय बाध्य छन् ।
दैनिक २०० जना भन्दा बढीले वारपार गर्ने उक्त तुइनमा यात्रुका औंला काटिने र चोट लाग्ने घटना सामान्य जस्तै मानिन्छ ।
हुम्लाको मुस्याडी, बाक्चेगौडा र याङचु कुनामा ४ वर्ष अघिदेखि बर्षेनी झोलुङ्गे पुल बनाउने भन्दै लगातार सर्भे हुँदै आएको छ । तर, सर्भे बाहेक अन्य प्रगति भने हुन सकेको छैन ।
न्युज 24 बाट साभार गरिएकाे
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता