कोरोना संक्रमणको आशंकामा सुनसरीको इनरुवाबाट दुई युवा धरान रेफर

इनरुवा, ११ चैत । भारतको पञ्जाबबाट सुनसरी आइपुगेका दुई जना युवालाई इनरुवा अस्पतालले धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान रेफर गरेको छ ।
इनरुवा अस्पतालले धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान रेफर गरिएकामा एकजना इनरुवा र अर्का महेन्द्रनगर चक्रघट्टीका रहेका छन् ।
भारतमा रोजगारी गर्दै आएका ति युवाहरु कोरोना संक्रमणको जोखिम बढेपछि हिजो नेपाल फर्किएका थिए ।
इनरुवा घर भएका युवामा ज्वरो देखिएपछि उनलाई इनरुवा नगरपालिकाले बस चोकमा सञ्चालनमा ल्याएको क्वारेन्टाइन स्थलमा पु¥याइएको थियो ।
क्यारेन्टाइनमा खटिएको टोलीले अस्पतालको सिफारिस आवश्यक पर्ने भनि फर्काएपछि इनरुवा अस्पतालका मेसु डा.सन्तोष राईले चेकजाँच गर्नु भएको थियो ।
डा.राईका अनुसार इनरुवा घर भएका युवामा ज्वरो देखिएको छ । सामान्य रुपमा सुख्खा खोकी लागेको भएपनि स्वासप्रश्वासमा भने समस्या नदेखिएको राईले जानकारी दिनुभयो ।
उनीसँगै भारतबाट आएकोले अर्का युवालाई समेत अस्पतालमा चेकजाँच गरिएको डा. राईले जानकारी दिनुभयो । अस्पतालले चक्रघट्टीका युवाको स्वास्थ्य अवस्था भने पूर्ण रुपमा सामान्य रहेको जनाएको छ ।
यद्यपी इनरुवा अस्पतालले भारतमा कोरोनाको संक्रमण देखिएको र संवेदनशील क्षेत्रबाट आएको हुँदा संक्रमण हुन सक्ने आशंकामा दुवै युवालाई थप परीक्षणका लागि धरान रेफर गरिएको जनाएको छ ।
स्वास्थ्य कार्यालय सुनसरीका प्रमुख सागर प्रसाईले इनरुवा अस्पतालमा आएका शंकास्पद बिरामीको चेकजाँच पश्चात थप परीक्षण गर्न वीपी प्रतिष्ठान धरान रेफर गरिएको जानकारी दिनुभयो ।
सुनसरीका प्रमुख जिल्ला अधिकारी राजेश पौडेलले समेत इनरुवा अस्पताल पुगेका युवाहरुलाई थप परीक्षणको व्यवस्था मिलाउन भनिएको बताउनुभयो । प्रजिअ पौडेलले युवाहरुले तय गरेको यात्राको आधारमा थप परीक्षण गर्न आवश्यक ठानिएको बताउनुभयो ।
उहाँले सबैमा सचेत र सजग रहन आग्रह गर्दै इनरुवा अस्पतालमा आएको भनिएका शंकास्पद विरामीको विषयमा अफवाह नफैलाउन आग्रह समेत गर्नुभयो ।
यसैगरी इनरुवा अस्पताल प्रशासनले समेत दुवै युवा भारतबाट आएको हुँदा आवश्यक थप स्वास्थ्य परीक्षणका लागि धरान पठाइनुलाई संक्रमणसँग जोडेर नलिन भनेको छ ।
संक्रमण हुन सक्ने आंशकाका आधारमा थप परीक्षण गर्न उनीहरुलाई रेफर गरिएको उसले प्रष्ट्याएको छ ।
थप चेकजाँच पछिको रिपोर्ट मात्र आधिकारीक हुने इनरुवा अस्पतालले जनाएको छ ।
इनरुवा अस्पतालमा जाँच गरिएका दुवै युवा भारतबाट रक्सोल नाका हुँदै सुनसरी आइपुगेको बताइएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता