काठमाडौँमा थप एक जनामा देखियो कोरोना भाइरस, संक्रमितकाे संख्या ३ पुग्याे

काठमाडौं, १२ चैत । काठमाडाैँमा कोरोना भाइरस (कोभिड-१९) थप एक व्यक्तिमा पोजेटिभ देखिएको छ । यससँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या तीन पुगेको छ ।
टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरूवा राेग अस्पतालले गरेको नमुना परीक्षणमा थप एकजनामा पोजेटिभ देखिएको जनाइएको छ । स्वास्थ्य मन्त्रालयले पनि आफ्नो वेबसाइटमा कोरोना संक्रमित व्यक्तिको संख्या तीन पुगेको उल्लेख गरेको छ ।
टेकुस्थित जनस्वास्थ्य प्रयोगशालाका सूचना अधिकारी राजेशकुमार गुप्ताले एक व्यक्तिको रिपोर्टमा पोजेटिभ आएको बताएका छन् । यद्यपि नयाँ संक्रमितकाे बारे थप खुलाइएकाे छैन । यससँगै नेपालमा संक्रमितको संख्या ३ पुगेको हो ।
सुरुमा चीनबाट आएका एक विद्यार्थीमा कोरोना संक्रमण देखिएको थियो । उनी उपचारपछि निको भइसकेका छन् ।
४ चैतमा फ्रान्सबाट कतारको दोहा हुँदै नेपाल आएकी १९ वर्षीया युवतीमा पनि संक्रमण देखिएको थियो । आइतबार स्वास्थ्य मन्त्रालयले त्यसको जानकारी दिएको थियो । त्यसलगतै सरकारले लकडाउनको घोषणा गरेको थियो ।
नेपालमा अहिलेसम्म ६८७ जनाको नमुना परीक्षण गरिएको छ, जसमध्ये ६८४ को रिपोर्ट नेगेटिभ आएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता