आजदेखि देशैभर लकडाउन : के गर्न पाइन्छ, के गर्न पाइँदैन ?

काठमाडौं, ११ चैत । कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिम बढेपछि सरकारले एक साताका लागि ‘लकडाउन’ गरेको छ । सरकारले आज (मंगलबार) बिहान ६ बजेदेखि चैत १८ गते बिहान ६ बजेसम्मका लागि मुलुकभर लकडाउन गरेको हो ।


लकडाउन भनेको ‘कर्फ्यु’ लगाएजस्तै असामान्य अवस्था हो । तर ‘कर्फ्यु’मा भन्दा केही लचकता हुन्छ । आजदेखि अत्यावश्यक- औषधि उपचार, खाद्यवस्तु खरिदजस्ता काममा बाहेक कुनै पनि व्यक्ति घरबाट बाहिर निस्कन पाउने छैनन् ।

फ्रान्सबाट आएकी १९ वर्षीया एक नेपाली युवतीमा कोरोना संक्रमण भएको पुष्टि भएपछि सरकारले देशलाई पूर्ण रुपमा लकडाउन गर्ने निर्णय गरेको हो । लकडाउन अवधिभर सर्वसाधारण घरबाहिर निस्कन पाउने छैनन् ।

सुरक्षा निकायबाट प्रयोग हुने वायुयान र तोकिएका अन्य उडानबाहेक सबै आन्तरिक उडान पनि एक साताकाे लागि बन्दा हुने छन् । अत्यावश्यक सेवाबाहेकका सबै सवारी पनि बन्द हुनेछन् । स्वास्थ्यकर्मी, सुरक्षा निकायले प्रयोग गर्नेबाहेक सबै प्रकारका सार्वजनिक, निजी र यात्रुवाहक सवारी साधन सञ्चालनमा पूर्ण रोक लगााइएकाे छ ।

अनुमति प्राप्त सवारी साधन, सुरक्षा निकाय, प्रेसका गाडी, स्वास्थ्य, सुरक्षा, खाद्यवस्तु, खानेपानी, दूध, विद्युत्, दूरसञ्चार, सूचना तथा सञ्चार, भन्सार क्वारेन्टाइन, फोहोरमैला व्यवस्थापन औषधि तथा स्वास्थ्य उपकरण ढुवानी, उत्पादनसँग सम्बन्धित सेवा र कार्यालय भने बन्द हुने छैनन् ।


उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल संयोजकत्वको ‘कोभिड–१९ संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समिति’ को सोमबार बसेको बैठकले संक्रामक रोग ऐन, २०२० को उपदफा २ ले दिएको अधिकार प्रयोग गर्दै देशैभर लकडाउन गर्ने निर्णय गरेको हो ।

आदेशको पालना नगरे के हुन्छ ?

उच्चस्तरीय समितिद्वारा जारी आदेशको पालना नगर्नेलाई कारबाही हुनेछ । आदेशलाई अपहेलना गर्नेलाई १ महिनासम्म कैद वा एक सय रुपैयाँसम्म हुनेछ । दुवै सजाय पनि हुन सक्ने छ । उच्चस्तरीय समितिद्वारा जारी आदेश कार्यान्वयन गर्ने जिम्मा प्रमुख जिल्ला अधिकारी (सीडीओ) लाई तोकिएको छ ।

संक्रामक रोग ऐन २०२० को दफा २ को उपदफा- २ मा भनिएकाे छ- ‘यस आदेशको कार्यान्वयन गर्नका लागि आवश्यक व्यवस्था मिलाउन नेपाल राज्यका सबै प्रमुख जिल्ला अधिकारीलाई मुकरर गर्ने र सोको लागि स्थानीय प्रशासन ऐन, २०२८ को समेत आवश्यकता अनुसार प्रयोग गर्ने ।’

यस्ता छन् निर्णयहरु :-

१. औषधी उपचार, खाद्यवस्तु खरिदजस्ता अत्यावश्यक काममा बाहेक कुनै पनि व्यक्ति घरबाट बाहिर ननिस्कने ।

२. अनुपतिप्राप्त सवारी साधन, स्वास्थ्यकर्मी, सुरक्षा निकायले प्रयोग गर्नेबाहेक सबै प्रकारका सार्वजनिक वा निजी यात्रुवाहक सवारी साधन सञ्चालनमा पूर्ण रोक लगाउने ।

३. सुरक्षा निकायबाट प्रयोग हुने वायुयान र तोकिएका अन्य उडानहरु बाहेक अन्य सबै आन्तरिक व्यवसायिक उडानहरु बन्द गर्ने ।

४. स्वास्थ्य, सुरक्षा, खाद्यवस्तु, खानेपानी, दूध, विद्युत, दूरसञ्चार, सूचना तथा सञ्चार, भन्सार, क्वारेन्टाइन, फोहोरमैला व्यवस्थापनजस्ता अति आवश्यक सेवाबाहेक अन्य कार्यालय सञ्चालनकोलागि आवश्यक पर्ने कर्मचारीहरु मात्र उपस्थित हुने गरी सम्बन्धित कार्यालय प्रमुखले विदा दिने ।

५. औषधि तथा स्वास्थ्य उपकरण, खाद्यवस्तु, खानेपानी, दूध, इन्धन उत्पादन गर्ने उद्योगहरु बाहेक निजी क्षेत्रबाट सञ्चालित अन्य उद्योग, कलकारखानाहरुमा काम गर्ने श्रमिक, कर्मचारीहरुलाई सम्बन्धित उद्योगले विदा दिने व्यवस्था मिलाउने ।

६. व्यवसायीहरुले औषधि र औषधिजन्य सामाग्रीहरुको नियमित आपूर्तिको व्यवस्था गर्ने । आभाव देखाई मुल्य बृद्धि गर्ने वा कालोबजारी,जम्माखोरी गर्ने वा लुकाउने वा आपूर्तिमा अवरोध गर्ने व्यक्तिलाई प्रचलित कानून बमोजिम नियन्त्रणमा लिने, सामाग्री जफत गरी रोगको रोकथाम र उपचारको कार्यमा उपयोग गर्ने ।

७ संक्रमण रोग ऐन, २०२० को दफा २ को उपदफा -२) बमोजिम जारी यस आदेशको कार्यान्वयन गर्नका लागि आवश्यक व्यवस्था मिलाउन नेपाल राज्यका सबै प्रमुख जिल्ला अधिकारीलाई मुकरर गर्ने र सोको लागि स्थानीय प्रशासन ऐन, २०२८ को समेत आवश्यकता अनुसार प्रयोग गर्ने ।

८. संक्रमण रोग ऐन २०२० अन्तर्गत जारी आदेशको अवहेलना गर्ने वा काममा वाधा पुर्‍याउने व्यक्तिलाई सोही ऐन बमोजिम सजाय हुने ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता