वडा सिल गरेर दमकका कोरोना संक्रमितको ‘ट्राभल हिस्ट्री’ खोजिँदै


झापा, १३ बैशाख । झापाको दमकका कोरोना संक्रमित वृद्धको ‘ट्राभल हिस्ट्री’ खोज्ने कार्यलाई तीव्र पारिएको छ । ‘ट्राभल हिस्ट्री’ खोज्ने कार्यमा प्रहरीसँगै स्थानीय जनप्रतिनिधि समेत लागेका छन् ।
दमक–३ मा बसोबास गर्ने वृद्धको परिवार, आफन्त, छिमेकीसँग संक्रमितका बारेमा सोधपुछ गर्ने काम भइरहेको वडाध्यक्ष नबिन बरालले जानकारी दिए । ‘हामीले वडा नम्बर ३ पूर्णरुपमा सिल गरिसकेका छौँ’, बरालले भने, ‘अहिले संक्रमितको ट्राभल्स हिस्ट्री खोज्ने र सचेतनाका लागि जनचेतना फैलाउने काम बिहानैबाट भइरहेको छ ।’
वडाअध्यक्ष बरालका अनुसार शुक्रबार कोरोना संक्रमण पुष्टि भएका झापा दमकका ६२ वर्षीय वृद्धको घरमा बुधबारमात्र मरिमराउको काम सकिएको थियो । संक्रमण पुष्टि भएका वृद्धको सासुआमाको १२ दिनअघि तेह्रथुममा निधन भएको थियो । आमाको निधन भएपछि संक्रमित वृद्धकी श्रीमती र दिदीसासु दमकस्थित उनको घरमा किरियामा बसेका थिए ।
‘काममा बस्ने क्रममा उनको घरमा सुनसरीबाट दिदीसासु सहित करीब ३५–४० जना भेला भएको पाइयो उनले भने ‘उहाँहरु सबैको खोजीमा लागेका छौँ ।’
बिहीबार कोरोना भाइरसको संक्रमण पुष्टि भएका ६२ बर्षिय ति वृद्धका छोरा गत चैत ४ गते दुवईबाट घर आएका थिए । यद्धपी उनको पिसिआर रिर्पोट भने नेगेटिभ आएको छ । वृद्धका श्रीमती, छोराको आरडीटी पोजेटिभ देखिएपछि आरडीटी नेगेटिभ आएको बुहारीको समेत गरी ४ जनाको श्वाव परिक्षण गरिएको थियो । जसमध्ये ती वृद्धको मात्रै पिसिआर रिपोर्ट पोजेटिभ देखिएको हो ।
सामान्य कृषि पेशा गर्ने त्यो परिवारमा कसरी कोरोना संक्रमण देखियो भन्ने बारे अन्योल नै रहेको दमक नगरपालिकाकी उपप्रमुख तथा प्रवक्ता गीता अधिकारीले बताइन् । ‘संक्रमित व्यक्ति अनावश्यक बाहिर निष्किएको पनि देखिएको छैन’ उनले भनिन् ।
उनले संक्रमित देखिएको क्षेत्र आसपासमा करिब चारसय जनामा आरडिटी परिक्षणको तयारी गरिएको जानकारी समेत दिइन् । ‘परिक्षणका लागि आवश्यक किट अभाव छ’ उनले भनिन्, ‘त्यसका लागि प्रदेश सरकारसँग समन्वय गरिसकेका छौँ ।’
हाल संक्रमित वृद्धको कोरोना अस्पताल विराटनगरमा उपचार भइरहेको छ । उनका श्रीमती, छोरा र बुहारीलाई भने दमकस्थित दमक अस्पतालको आइसोलेसन वाडमा राखिएको छ । सबैको स्वास्थ्य अवस्था सामान्य रहेको नगरपालिकाले जनाएको छ ।
दमक वडा नं ३ सिल
झापाको दमककाे वडा नं ३ मा कोरोना संक्रमित भेटिएपछि उक्त वडासहित २ र ४ नम्बर वडाको केही भाग सिल गरिएको छ । कोरोना भाइरस नियन्त्रण तथा रोकथाम कार्यक्रम नगर समन्वय समितिले ति क्षेत्र सिल गर्ने निर्णय गरेको हो । शुक्रवार राती बसेको आपत्कालीन बैठकले यस्तो निर्णय गरेको हो ।
This image has an empty alt attribute; its file name is 111-594x768.png
कोरोना भाइरस सङ्क्रमणको परीक्षण गर्नुपर्ने भएकाले दमक नगरपालिकाको उत्तरमा मावा पुलदेखि बेलडाँगी १ सम्म, दक्षिणमा कृष्ण मन्दिर राजमार्ग उत्तर सिल गरिएको छ । यसै गरी पूर्वमा हिमालय माविदेखि बेलडाँगी १ सम्म र पश्चिममा मावा खोला सम्म सिल गरिएको विज्ञप्तिमा उल्लेख छ ।
यो चार किल्ला भित्र आवतजावत लगायत कुनै पनि गतिविधि पूर्ण रूपमा निषेध गरिएको छ, विज्ञप्तिमा भनिएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता