चर्चित बलिउड अभिनेता इरफान खानको मुम्बईमा निधन


एजेन्सी, १७ वैशाख । चर्चित बलिउड अभिनेता इरफान खानको निधन भएको छ । मंगलबार उनको स्वास्थ्य अवस्था झनै बिग्रिएका कारण उनलाई मुम्बईको कोकिलाबेन अस्पतालको आईसीयूमा भर्ना गरिएको थियो । उपचारकै क्रममा बुधबार ५४ वर्षकाे उमेरमा उनकाे निधन भएकाे भारतीय समाचार एजेन्सीहरूले जनाइएका छन् ।
‘आज तक’का अनुसार इरफान खानले मुम्बईको कोकिलाबेन अस्पतालमा ५४ वर्षको उमेरमा अन्तिम सास लिएका छन् । इरफान लामो समयदेखि बिरामी थिए र उनलाई मंगलबार थप समस्या देखिएपछि अस्पतालमा भर्ना गरिएको थियो ।
अस्पतालको बयानअनुसार खान पेटको समस्यासँग जुधिरहेका थिए । पछिल्लो समयमा उनमा ‘कोलोन इन्फेक्सन’ बढेको अस्पतालले जनाएको छ । फिल्म निर्देशक शुजित सरकारले सर्वप्रथम इरफान खानको मृत्युको बारेमा जानकारी दिएका थिए र त्यसपछि उनको बयान अस्पतालबाट जारी गरिएको हो ।
खानका एक प्रवक्ताले इरफान अब बाँकी नरहेको बताएको बिबिसी हिन्दीले लेखेको छ । ती प्रवक्ताले भनेका छन्, ‘म निश्चित छु कि मैले हार खाएँ- अभिनेता इरफान खानले सन् २०१८ मा आफ्नो नोटमा यो हृदय विदारक कुरा लेख्नुभएकाे थियाे, जब ​​उहाँ क्यान्सर रोगसँग लडिरहनुभएकाे थियाे । र आज यो दुखद समाचार हामी दिइरहेका छौं कि उहाँ अब हामीसँग हुनुहुन्न ।’
उनले इरफान एक बलियो ईच्छाशक्तिका व्यक्ति रहेको र क्यान्सरविरुद्ध अन्तसम्मै लडेको बताएका छन् । ‘उहाँले आफूनजीक आउनेहरूलाई जहिले पनि प्रेरित गर्नुभयो । त्यसबेलादेखि उहाँले यसबाट आउने चुनौतीहरूलाई परास्त गर्दै आफ्नो जीवनलाई निरन्तरता दिनुभएको थियो,’ ती प्रवक्ताले भनेका छन्, ‘अब उहाँ परिवारजनलाई छाडेर जानुभएको छ ।’
गत वर्ष सन् २०१९ मा इरफान खान लण्डनबाट उपचार गरेर स्वदेश फर्केका थिए । त्यसपछि उनी कोकिलाबेन अस्पतालका डाक्टरहरूको सुपरिवेक्षणमा उपचार र नियमित चेकअपमा थिए ।
पौराणिक कलाकार उपमा पाएका खानको निधनले बलिउडमा शोक छाएको छ । उनी बडिउडका एक सफल अभिनेता थिए, जसले आफ्नो अभिनयबाटै धेरैको हृदय रुवाए, प्रभाव पारे ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता