भारतमा भयावह बन्दै कोरोना : अहिलेसम्मकै सर्वाधिक दैनिक मृत्यु र संक्रमित थपिए

काठमाडाैँ : १७ जेठ । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणले भयावह रूप लिएकाे भारतमा पछिल्लाे समय दैनिक संक्रमित संख्या झन् बढ्दै गएकाे छ । भारतमा हरेक दिन मृत्यु हुनेको संख्या र संक्रिमत हुनेको संख्या बढ्दै गएपछि स्थिति नियन्त्रणबाहिर जाने चिन्ता थपिएकाे छ ।
विभिन्न तथ्याङ्क निकाल्ने संस्था वर्ल्डोमिटर्स डट इन्फोका अनुसार भारतमा शुक्रबार एकै दिन हालसम्मकै सर्वाधिक संख्या काेराेना संक्रमित पुष्टि भएका छन् । शुक्रबार मात्र त्यहाँ ८ हजार १०५ नयाँ संक्रमित फेला परेका छन् । त्यहाँ शुक्रबार काेराेनाबाट मृत्यु हुनेकाे संख्या पनि हालसम्मकै अधिक रहेकाे छ । शुक्रबार मात्र भारतमा काेराेनाबाट २६९ जनाकाे ज्यान गएकाे बताइएकाे छ ।
शनिबार बिहानसम्म भारतमा काेराेनाका कारण मृत्यु हुनेकाे संख्या ४ हजार ९ सय ८० पुगेकाे छ भने कुल संक्रमित संख्या १ लाख ७३ हजार ४९१ पुगेकाे छ ।
संक्रमितमध्ये हाल ८२ हजार ६२७ मानिस उपचारपछि निको भएर घर फर्किएका छन् । भारतमा अहिले ८५ हजार ८८४ जनामा कोरोना भाइरस सक्रिय छ । उनीहरू उपचाररत छन् ।
भारत अहिले कोरोना संक्रमित देशकाे लहरमा विश्वकै नवाैँ स्थानमा रहेकाे छ । भारतको गृह मन्त्रालयले संक्रमण राेक्न भन्दै गत २४ मार्चदेखि लागू गरिएको लकडाउनकाे अवधि ३१ (भाेलि) सकिँदै छ । लकडाउनले पनि संक्रमण फैलिनबाट राेक्न नसकेपछि भारतले अब के गर्छ, अहिले चासाेकाे विषय बनेकाे छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता