छिमेकी देशहरुमा सल्बलाएको सलह नेपाल पनि प्रवेश गर्ने खतरा, नेपाल आए अकल्पनीय क्षति पुग्ने

काठमाडौं, १६ जेठ । विश्व महामारीकारुपमा देखा परेको कोरोना भाइरस संक्रमणले कृषि क्षेत्रपनि संकटमा परेको छ । यही संकटकाबीच अफ्रिकी मुलुकबाट भारत हुँदै सलह नेपाल प्रवेश गर्ने चिन्ता पनि सुरु भएको छ ।
सलहले भारतमा मात्रै ५ लाख हेक्टर क्षेत्रफलमा लगाइएको बालीलाई सखाप पारिसकेको छ । यो किरा नेपालमा प्रवेश गरेमा यहाँको कृषि प्रणालि तहसनहस पार्न सक्ने भन्दै सरोकारवालाले चिन्ता व्यक्त गर्न थालेका छन् ।
सलह किरा एसियाका खाडी देशमा आजभन्दा ७० वर्षपहिले देखिएको भन्दा २० गुणा ठूलो मानिएको छ । भारतको पञ्जाब, हरियाणा, राजस्थान, गुजरात, उत्तर प्रदेशमा देखापरिसकेको सलहले ठूलो क्षेत्रफलमा लगाइएको गहुँ, तोरी, कपास, मकै, मसला बालीहरू पूर्णरुपमा क्षति पु-याइसकेको छ ।
अमेरिकी फौजी किराभन्दा कयौं गुणा क्षति गर्न सक्ने सलह किरा नेपालमा प्रवेश गरे चुनौती थपिने निश्चित छ ।
के हो सलह किरा ?
सलह साधारण फट्याङ्ग्रा प्रजातिको किरा हो । सलह लाखौं वा करोडौंको संख्यामा हुन्छन् । यसले एक ठाउँबाट अर्को ठाउँमा वा एक खेतबाट अर्को खेतमा सर्दै त्यहाँ रहेको हरिया बनस्पति सखाप पार्छ ।
यसले बिरुवाका पातहरू खाएर सकिसकेपछि बिरुवाको हाँगा एवं बोक्रालाई समेत सखाप पार्ने क्षमता राख्छ ।
सलह किराले पु-याउने क्षतिको अनुमान नै भयलाग्दो
यो फट्याङ्ग्रा अन्य किराभन्दा बढी क्षति गर्ने खालको हुन्छ । यो किरा एक दिनमा लगभग एक सय ३० किलोमिटरसम्म हुल बनाएर हिँड्छ । यही गतिमा हिँड्दा नेपालको पूर्वी भागबाट पसेको सलह तीनदेखि चार दिनमा पश्चिम भागसम्म पुग्छ ।
संयुक्त राष्ट्र संघको कृषि तथा खाद्य संगठनको तथ्यांकअनुसार साधारणतया यो किराले प्रतिदिन दुई ग्रामसम्म खान सक्छ ।
एक किलोमिटरको हुलमा हुने सलहको करिब ४ देखि ८ करोड संख्याले ३५ हजार जनालाई एक दिनमा पुग्ने खाना नष्ट गर्न सक्छ । यसबाट यो किराको कृषि बालीमा क्षति गर्न सक्ने क्षमताको आकलन गर्न सकिन्छ ।
विज्ञहरू यसरी सलह बढ्नुमा हाल भएको जलवायु परिवर्तनलाई महत्वपूर्ण कारण ठान्दछन् । नेपाललगायत संसारका सबैजसो भू–भागमा वातावरणीय परिवर्तनले केही न्यानो बढेको छ ।
जसले गर्दा सलहका लागि उपयुक्त वातावरण हुने र यसले आफ्नो जीवनचक्रमा परिवर्तन ल्याइ आफ्ना गतिविधि तथा प्रजनन् क्षमता वृद्धि गर्दै यसको फैलावट बढेमा नेपालमा पनि जोखिम बढने बताउँछन ।
तर, यता कृषि विज्ञ डाक्टर डिल्लीराम शर्मा भने नेपालमा मरुभूमि नभएको कारण यहाँको वातावरण सलह किराको प्रजननको लागि उपयुक्त नहुने धारणा राख्नु हुन्छ ।
सलह किरा तुरुन्त नियन्त्रण वा काबुमा पार्नका लागि सुरक्षित विषादीको प्रयोग नै उचित मानिएको छ । सलह किराको रोकथाम तथा नियन्त्रणका लागि अध्ययन गर्न कृषि तथा पशुपन्छी विकास मन्त्रालयले प्राविधिक समिति गठन गरिसकेको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता