प्रदेश १ मा ४० हजार बढीको पीसीआर परीक्षण हुने


विराटनगर, ९ जेठ । प्रदेश नं १ मा ४० हजार बढी नागरिकको पीसीआर परीक्षण हुने भएको छ । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईको संयोजकत्वमा आज बसेको क्राइसिस म्यानेजमेन्ट सेन्टर प्रादेशिक समितिको बैठकले कोभिड—१९ को परीक्षण कार्ययोजना स्वीकृत समेत गरेको छ ।


भारतबाट स्वदेश फर्कने नेपाली नागरिकहरु र प्रदेश भित्र कोभिड—१९ संक्रमित पहिचानको लागि परीक्षणको दायरा बढाउन लागिएको हो । दैनिक एक हजारका दरले पीसीआर परीक्षण गर्न लागिएको मुख्यमन्त्री शेरधन राईले जानकारी दिनुभयो ।
स्वीकृत भएको कार्ययोजनाले स्वाब परीक्षणका लागि जिल्लाहरुको वर्गीकरण समेत गरेको छ । उच्च जोखिम, जोखिम र सामान्य जोखिम गरी तीन क्षेत्रमा वर्गीकरण गरिएको छ । उच्च जोखिम क्षेत्रमा १ प्रतिशत, जोखिम क्षेत्रमा ०.७५ प्रतिशत र सामान्य जोखिम रहेको जिल्लामा कुल जनसंख्याको ०.५ प्रतिशत नागरिकको कोरोना परीक्षण गर्न लागिएको हो । हाल प्रदेश १ मा चार हजार एक सय बढीको पीसीआर परीक्षण भइसकेको छ ।
कोभिड—१९ को नियन्त्रण, उपचार व्यवस्थाको लागि अहिले सञ्चालनमा रहेका बेड क्षमताहरुको समेत बृद्धि गरिने भएको छ । यसका लागि कोशी कोभिड अस्पताल १ सय, झापामा २ सय, पूर्वाञ्चल विश्वविद्यालय गोठगाउँ २ सय, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान ३ सय, कृष्णदास आश्रम बराहश्रेत्र २ सय र नेपाली सेना इटहरीमा ५० गरी थप ८ सय ५० बेड थपिने भएको छ ।
यसैबीच प्रदेश मा भारतबाट स्वदेश फर्कने नेपाली नागरिकहरुको व्यवस्थापन गर्ने संयुक्त कार्ययोजना समेत स्वीकृत गरिएको छ ।

स्वीकृत कार्ययोजना अनुसार इलाम, झापा, मोरङ्ग र सुनसरी जिल्लामा होल्डिङ्ग एरिया पहिचान गरी निर्माण समेत थालिएको छ । होल्डिङ्ग एरियामा १५ हजार बेड संख्या बन्ने भएको छ ।इलाममा २ हजार, झापामा ४ हजार, मोरङ्गमा ५ हजार र सुनसरी जिल्लामा ४ हजार बेड तयार हुन थालेका छन् । यी जिल्लाका १० स्थानमा ११ सय ३ वटा बेड बनिसकेका छन् ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता