तयारी चिया निकासीमा भारतको अवरोध, १ अर्ब मूल्य बराबरकाे चिया भन्सारमै थन्कियाे

  • विनय तिम्सिना
इलाम, १९ जेठ । कोरोना भाइरसको कारण लकडाउनको मार खेपिरहेका इलाममका चिया व्यावसायी, कृषक तथा चिया मज्दुर यति वेला तयारी चिया निकासी नभएर झन ठूलो समस्यामा परेका छन् । इलाममा उत्पादित अर्ग्यानिक अर्थोडक्स चिया भारतलगायत अन्य तेस्रो मुलुकमा निर्यात हुने गरेको थियो । इलाममा उत्पादित ब्लाक टी भारतमा निर्यात हुँदै आएको थियो ।
भारतले केही साताअघि मात्रै नेपालबाट पाम तेल आयल गर्ने भारतीय आयातकर्ताहरूको लाइसेन्स समेत खारेज गरेको थियो ।
इलाममा उत्पादित अन्य स्पेसल टी भारतमा मात्र नभएर भारतीय बाटाे हुँदै जर्मनी, अमेरिका, युरोप लगायतका देशमा निर्यात हुँदै आएको थियो । नेपालबाट निकासी हुने सामान भारतीय पक्षले विभिन्न बहानामा रोक्ने गरेको छ । भारतीय वस्तु भने अत्यावश्यक जाँचबिना नै निर्बाध रुपमा नेपाल भित्रिने गरेको छ।
भारतको पश्चिम बंगाल सरकारले लकडाउनसँगै काँकडभिट्टा नाकाबाट हुने निकासीमा कडाइ गर्दै आएपछि अहिले इलाममा उत्पादित १० लाख किलो अर्थोडक्स चिया काँकडभिट्टा भन्सारमा रोकिएको छ । त्यस्तै २० लाख किलो सिटीसी चिया पनि भन्सारमा रोकिएको छ । यसरी नेपालबाट निर्यात हुने ५० करोडको अर्थोडक्स चिया र ५० करोड मूल्य बराबरको सिटीसी चिया गरी झण्डै १ अर्ब बराबरकाे चिया भन्सारमा अलपत्र रहेको छ ।
इलाममा उत्पादित चिया निकासी गर्न नपाएपछि मजदूर तथा कृषकलाई समेत पैसा दिन नपाएको र अहिलेसम्म चियाको हरियोपत्तीको मुल्य समेत निर्धारण गर्न नसकेको इलाम नगरपालिका १ मा सञ्चालित ग्रिनभ्याली चिया कारखनाका कार्यकारी निर्देशक पाण्डप तिम्सिना बताउँछन् । उनले भने, ‘लकडाउनको वेला पनि कृषकलाई सहजीकरणका लागि कारकाना सञ्चालन गरियो तर अहिले सरकारले कुनै सहयोग पनि गरेन । चिया पनि बिक्री हुन सकेकाे छैन । दैनिक १६ सय किलो चिया उत्पादन हुन्छ, बिक्री गर्न पनि सकिएन । कृषकको हरियोपत्तीको पैसा समेत दिन सकेका छैनाैँ ।’
अहिले नेपालको काँकडभिट्टाबाट चिया पठाउन समस्या भएपछि जोगबनी नाकाबाट निकासीको तयारी छ । भारत सरकारले नीतिगत रूपमा नेपालबाट चिया आयात नगर्ने निर्णय नगरे पनि निकासीमा समस्या भइरहेको भने देखिएको छ ।
अहिले इलामका चिया कृषकहरु विनामुल्यमा चिया कारखानालाई चिया दिइरहेका छन् । तीन महिनादेखि कारखनालाई चिया दिएको तर अहिलेसम्म पनि मुल्य निर्धाण गर्न नसेकोले किसानहरू मारमा परेका छन् । प्रमुख आम्दानीको स्रोत नै चिया भएकोले घर-व्यवहार चलाउन समेत मुस्कील भएको इलामका चिया कृषक निर्मल कार्की बताउँछन् ।
यता चिया कारखानामा काम गर्ने मजदूरले समेत सेवा सुविधा पाउन मुस्किल परेको छ । कारखानले केही महिनाअघि सम्म त सेवा-सुविधा दिएको तर अहिले चिया बिक्री नभएपछि भने काम गर्न मुस्किल रहेको ग्रिनभ्याली चिया कारखानामा कार्यरत मजदर अनिता श्रेष्ठ बताउँछिन् ।
दोस्रो अधिक उत्पादन सुरु हुने समयसम्म पनि पहिलो चरणको उत्पादन नै बजारमा नपुग्दा उत्पादकहरु मूल्यमा गिरावट आउने त्रासमा छन् । नेपाली चिया र दार्जिलिङको चिया पनि त्यही बाटो भएर तेस्रो मुलुकसम्म जाने भएकाले भारतले नेपाली चियालाई विभिन्न बहानामा अवरोध गर्ने गरेको व्यवसायी बताउँछन् ।
दार्जिलिङकाे चियाको तुलनामा नेपाली चिया गुणस्तरीय भएकाले आफ्नो चियाको बजार खस्किने सम्भावना देखेपछि भारतले नेपाली चियामा अवरोध गरिरहेको चिया व्यावसायीहरु वताउँछन् ।
नेपालको चिया २८ भन्दाबढी मुलुकमा निर्यात हुने गरेको छ । नेपालबाट वार्षिक ३ अर्ब रुपैयाँभन्दा बढी रकम बराबरको चिया निकासी हुने गरेको भन्सार विभागले जनाएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता