सुनसरीमा सात वर्षीया बालिकासहित १६ जना कोरोना संक्रमित थपिए

इनरुवा, २३ जेठ । सुनसरीमा सात वर्षीया बालिकासहित १६ जना कोरोना संक्रमित थपिएका छन् । नयाँ भेटिएका संक्रमित मध्ये १५ जना क्वारेन्टाइनमा रहेका व्यक्ति हुन ।
एक जना भने केहि दिन अघि बिरामी भई वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भर्ना भएका व्यक्ति हुन् । उनी ७ वर्षीया बालिका हुन् ।
कोरोना पोजिटिभ पाइएकाहरूमा हरिनगर गाउपालिकाको भुटाहा जेनरल हस्पिटलको भवनमा सञ्चालनमा ल्याइएको क्वारेन्टाइनमा रहेका १२ जना छन् ।
त्यसैगरी बर्जु गाउँपालिकाको सितारा फ्याक्ट्रीमा राखिएका ३ जना र बराहक्षेत्र नगरपालिका घर भई धरानमा उपचाररत रहेकी एक बालिका छिन् ।
हरिनगरका १९ जनाको पीसीआर परीक्षण गरिएको थियो । जसमध्ये १२ को पोजिटिभ पाइएको हो । थप २५ जनाको स्वाब संकलन गर्ने क्रममा रहेको स्वास्थ्य कार्यालय सुनसरीले जनाएको छ ।
बर्जुमा ३५ जनाको परीक्षण गरिएको कार्यालयले जनाएको छ । स्वास्थ कार्यालय सुनसरीको पछिल्लो रिपोर्ट अनुसार जिल्लामा कोरोना संक्रमितको संख्या ३४ पुगेको छ ।
कार्यालयले घर ठेगाना अन्यत्र भएपनि सुनसरीमा रहँदा स्वाब संकलन गरी ट्रेसिङ गरिएकाहरूलाई जिल्लाकै विवरणमा समावेश गरेको छ ।
सुनसरीमा अहिले सम्म १५ सय १३ को पीसीआर परीक्षण गरिएको छ । जसमध्ये ३४ पोजिटिभ रहेको छ । ५६ जनाको रिपोर्ट आउन बाँकी छ ।
हाल सम्म सुनसरीको गढीमा ३ जना कोरोना संक्रमित भेटिदा हरिनगरमा १२, बर्जु ३, बराहक्षेत्र ५, भोक्राहा ९, इटहरी र धरानमा १/१ जना रहेका छन् ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता