समुदायमा ६ प्रतिशत मात्र संक्रमण रहेकाे स्वास्थ्यमन्त्रीकाे भनाइ, रेडक्रसद्वारा सामग्री हस्तान्तरण



काठमाडौँ, १६ असार । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले नेपालमा काेराेना भाइरस ६ प्रतिशत मात्र समुदायमा संक्रमण रहेकाे बताउनुभएकाे छ । उहाँले अहिलेसम्म संक्रमण देखिएकामध्ये ९४ प्रतिशत विदेशबाट आएका व्यक्तिहरु नै रहेको र समुदायमा खासै फैलिन नपाएकाे बताउनुभएकाे हाे ।
नेपाल रेडक्रस सोसाइटी र कोकाकोला फाउण्डेसनले सहयोगस्वरुप प्रदान गरेका स्वास्थ्य सामग्रीहरु हस्तान्तरण कार्यक्रममा बाेल्दै मन्त्री ढकालले अहिलेसम्म नेपालमा पुष्टि भएका संक्रमितमध्ये ९४ प्रतिशत विदेशबाट आएका र ६ प्रतिशत मात्र समुदाय स्तरमा संक्रमण फेला परेको बताउनुभएकाे हाे । उहाले दैनिक १० हजार जनाकाे पीसीआर परीक्षण गर्ने गरी ल्याबहरूको विस्तार गर्न लागेको समेत जानकारी दिनुभयाे ।
रेडक्रसद्वारा सुरक्षा सामग्री र उपकरण हस्तान्तरण
कोभिड–१९ को महामारीमा अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी र स्वयंसेवकहरूको सुरक्षा अभिवृद्धिको लागि विभिन्न अस्पतालहरूलाई सुरक्षा सामग्री र उपकरण हस्तान्तरण अभियान नेपाल रेडक्रस सोसाइटीले आजदेखि सुरू गरेको छ । हस्तान्तरण गरिने सामग्रीहरूको कूल मूल्य १ करोड ५७ लाख सात ७ सय ७० रहेको छ ।
रेडक्रसका अध्यक्ष सञ्जीव थापाले पहिलो चरणको सामग्रीहरू माननीय स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई हस्तान्तरण गर्नुभयो । साेही क्रममा प्राप्त मास्क, रबर बुट, स्यानिटाइजर, साबुनलगायतका व्यक्तिगत सुरक्षा सामग्री मन्त्री ढकालले शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पताल टेकुका निर्देशक डा. सागरकुमार राजभण्डारीलाई सोही कार्यक्रममा हस्तान्तरण गर्नुभयो ।
नेपाल रेडक्रस र कोकाकोलाको साझेदारीमा सञ्चालन गरिएको सामग्री बितरण अभियान आज विहान स्वास्थ्य तथा जनसंख्या मन्त्रालय परिसरमा सुरूआत गरिएको हो । काठमाडौँको शुक्रराज ट्रपिकल अस्पताललगायत देशका सातवटै प्रदेशका प्रमुख अस्पतालहरूमा उपकरणहरू र कार्यरत स्वास्थ्यकर्मीहरूको लागि व्यक्तिगत सुरक्षा सामग्रीहरू वितरण गरिनेछ ।
दुई चरणमा हस्तान्तरण हुने सामग्रीहरूमा १५ हजार थान सर्जिकल मास्क, केएन–९५ माक्स १ हजार १ सय ५० थान, ५५० थान सुरक्षा पोशाक, सुरक्षा चस्मा ३०० वटा, बीस हजार जोडी पञ्जा, ४४० थान रबर बुट, स्यानिटाइजर २५०० बोटल, निर्मलीकरण केमिकल सोडियम हाइपोक्लोराइड दुई हजार दुई सय लिटर र १५ हजार एक सय अठार थान साबुन रहेको नेपाल रेडक्रस स्वास्थ्य विभागका निर्देशक बिपुल न्यौपानेले जानकारी दिनुभयो ।
यस्तै विभिन्न प्रदेशमा ७ थान भेन्टिलेटर मेसिन पनि उपलव्ध गराइने जनाइएकाे छ । सामग्री वितरण समारोहमा माननीय मन्त्री ढकालले कोभिडको महामारीको चालु लडाँईमा सहयोग गर्न सामग्रीसहित उपस्थित भएकोमा नेपाल रेडक्रस र त्यसको साझेदार कोकाकोलालाई धन्यबाद दिँदै भन्नुभयो, ‘यो अफ्ठेरो परिस्थितिमा सबैको सहयोग चाहिन्छ र प्राप्त सबै सामग्रीहरूको एक एक हिसाब राखिने छ र उचित वितरण गरिने छ । सुरक्षा सामग्री नपुगेको स्थानमा नेपाल सरकारले तत्काल सामान पठाउने छ ।’
सामग्री लिँदै शुक्रराज अस्पताल टेकुका निर्देशक डा. सागरकुमार राजभण्डारीले योे सामग्रीले डाक्टर, नर्सलगायत अग्रपंक्तिका स्वास्थ्यकर्मीको हौसला बढाएको बताउनुभयो । उहाँले भन्नुभयो- ‘अस्पतालले संक्रमितहरूलाई स्वास्थ्य किट उपलव्ध गराउँदै आएको र उनीहरूको लागि पनि यी सामग्री उपयोगी हुनेछन् ।’
यसका अलावा साझेदारीअन्तर्गत नेपाल रेडक्रसका रक्त सञ्चार सेवाका ४०० प्राविधिकहरू र स्वास्थ्य कर्मचारीहरू, २४७ एम्बुलेन्स चालकहरू पनि यो साझेदारीबाट लाभान्वित हुनेछन् ।
‘नेपाल रेडक्रस र दी कोकाकोला फाउण्डेशनको यो साझेदारी कोरोना भाइरसलाई नियन्त्रण गर्ने र अग्रपंक्तिमा कार्यरत स्वास्थ्यकर्मी र स्वयंसेवकहरूको संरक्षण गर्ने एउटा प्रयास हो,’ नेपाल रेडक्रसका अध्यक्ष थापाले  भन्नुभयो, ‘रक्त सञ्चार, एम्बुलेन्स, अस्पताल आदिजस्ता अत्यावश्यक सेवाहरूको निरन्तरता सुनिश्चित गर्न अति आवश्यक सुरक्षा सामग्रीहरूको ठूलो महत्व छ ।’ उपकरणहरूसँगै प्रयोग विधिहरू सम्बन्धित प्रशिक्षणहरू साथसाथै उपलव्ध गराइनेछ ।

यस क्रममा बन्दाबन्दीको नियमको पालना र भौतिक दूरी कायम गरिने नेरेसोका सञ्चार निर्देशक दिव्यराज पौडेलले जानकारी दिनुभयो । आजै अपरान्ह नेपाल रेडक्रसले नेपाल मेडिकल एशोसियसनलाई एशोसियसनको कार्यालय बागबजारमा चिकित्सकहरूको लागि सुरक्षा सामग्री वितरण गरिने पनि उहाँले जानकारी दिनुभयो ।
यस्तै सिंगापुर रेडक्रसको तर्फबाट प्राप्त छुट्टै ३५०० थान एन नाइन्टीफाइभ माक्स पनि आजै नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ । सो अवसरमा नेपाल रेडक्रसका अध्यक्ष थापा, महामन्त्री हरिप्रसाद न्यौपाने, प्रारम्भ नेपाल र आनि छोइङ डोल्मा फाउण्डेशनका प्रतिनिधिहरु लगायतको उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता